‘प्रतियोगिताबाट प्रतिभावान खेलाडीहरू उत्पादन हुनेछन्’



बाँकेको क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र (ख)मा हुन गइरहेको अन्तरमावि १६ वर्षमुनिको प्रथम प्रदेशसभा कप फुटबल प्रतियोगिताका विषयमा आयोजक लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषिराज शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।

                                               ऋषिराज शर्मा प्रमुख, सामाजिक विकास डिभिजन कार्यालय बाँके

प्रदेशसभा कप फुटबल प्रतियोगिता कस्तो प्रतियोगिता हो ?

यो माध्यमिक तहमा अध्ययनरत १६ वर्षमुनिका छात्रहरूका लागि आयोजित प्रतियोगिता हो । विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फुटबल खेल समावेश नहुने र विद्यालयस्तरमा फुटबल खेलको विकासका लागि गतिविधिहरू पनि कम रहेकोले यो प्रतियोगिता आयोजना गरिएको हो । यसलाई प्रदेशसभा कप भन्नुको कारण बाँकेको क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (ख)का विद्यालयहरू मात्रै सहभागी हुन पाउने भएकोले एउटा प्रदेशसभा क्षेत्रगत हिसाबले यस प्रतियोगिताको नाम राखिएको हो ।

त्यसो भए यो प्रतियोगिता उक्त प्रदेशसभा क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको पहलमा सञ्चालन हुन लागेको हो ?

हो, उहाँले त्यस क्षेत्रका लागि पाएको सिलिङमा रहेर उक्त कार्यक्रम पनि प्रस्ताव गर्नुभएको थियो । जसलाई सरकारले कार्यक्रममा समावेश गरेर कार्यान्वयन हुन लागेको हो । त्यस क्षेत्रका खेलाडिलाई प्रोत्साहन गर्ने र उनीहरूलाई बहुआयामिक विकासका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

यसको नाम कसरी जुराइएको हो ?

माथिबाट आउँदा माध्यमिक तहमा अध्ययनरत छात्राहरूको फुटबल प्रतियोगिता, कोहलपुर नगरपालिकाका सबै वडा र राप्तीसोनाारीका ८ र ९ का लागि भनेर तोकिएर आएको थियो । त्यसलाई हामीले प्रदेशसभा कप भनेर नामाकरण गरेका हौँ ।

यस प्रतियोगिताबाट कस्तो उपलब्धि हुने अपेक्षा गरिएको छ ?

फुटबल खेल सबैभन्दा लोकप्रिय खेल । तर राष्ट्रियस्तरमा समेत यो खेलको अवस्था कमजोर देखिएको अवस्थामा फुटबललाई माध्यमिक तहबाटै खेलाडी उत्पादन गर्नेतिर लैजानुपर्छ भन्ने सोचेर यो प्रतियोगिता आयोजना गर्दैछौँ । खेलाडी उत्पादन हुने जुन उर्वर उमेर छ, त्यो उमेर समूहमै खेल खेलाएनौँ भने खेलाडी उत्पादन हुने सम्भावना कम हुन्छ । अहिले मार्शल आर्ट र एथ्लेटिक्सका खेलहरू विद्यालय तहमा भइरहेका तर फुटबल खेलका प्रतियोगिताहरू नभइरहेकाले फुटबलको व्यवस्थित प्रतियोगिता गर्नुपर्छ भन्ने उदेश्यले हामीले यसको आयोजना गर्दैछौँ ।
यस प्रतियोगिताबाट राम्रा र प्रतिभावान खेलाडीहरू उत्पादन भएर अन्ततोगत्वा राष्ट्रियस्तरमै खेलाडीहरूको अभाव पूर्ति हुने खालका खेलाडीहरू उत्पादन हुन्छन् भन्ने अपेक्षा हामीले गरेका छौँ ।

यस प्रतियोगिताका लागि खेलाडीहरू कसरी छनौट भए ?

हामीले बजेट शीर्षकले तोकेबमोजिमका स्थानीय तहहरू कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका माध्यमिक विद्यालयमा अध्ययन गर्ने र १६ वर्षमुनिका विद्यार्थीहरू सहभागी हुने गरी पत्राचार गरिदिन पालिकामा पत्राचार गर्याैँ । सोहीबमोजिम पालिकाको शिक्षा शाखाले विद्यालयलाई पत्राचार गरेको र विद्यालयहरूले आफ्नो टिम निर्माण गरेको अवस्था हो । यस प्रतियोगितामा सामुदायिक र निजी दुवै किसिमका माध्यमिक तहसम्मका विद्यालयहरू सहभागी गराइएको छ ।

शैक्षिक सत्र भर्खरै सुरु भएको अवस्था छ । यस्तो बेला खेलाडी छनौटमा केही अप्ठ्याराहरू आए ?

खेलाडी छनौटको लागि सजिलो किन भयो भने हामीसँग विद्यार्थीहरू डिजिटल डाटा प्रणाली इमिस सिस्टम छ । इमिस सिस्टममा भर्ना भएको बच्चाको सबै विवरण त्यहाँ हुने भएकोले विद्यार्थी छनौटका लागि वैद्यानिक रूपले पनि कुनै समस्या परेन् । हामीले इमिसको विवरणकै आधारमा प्रमाणित भएर आएका विद्यार्थीलाई मात्रै मान्यता दिएका छौँ । विद्यार्थीको विवरण सही हो कि होइन भनेर हामीले सिस्टममा जाँच गरेर यकिन गर्न सक्छौँ । प्रतियोगितामा यसपटक ३६ वटा टिमले सहभागिता जनाउने भएका छन् । खेल नकआउट सिस्टममा सञ्चालन हुनेछ।

मौसमका हिसाबले पनि चुनौतीपूर्ण समयमा खेल हुँदैछ । त्यसलाई कसरी ख्याल गरिएको छ ?

सबैभन्दा बढी चुनौती नै यही हो । गर्मी मौसम भएकोले यो वास्तवमा फुटबल खेलका लागि सहज समय होइन । गर्मीलाई ख्याल राखेरै हामीले सम्पूर्ण खेलहरू बिहान र बेलुकाको समयमा मात्रै राखेका छौँ । स्वास्थ्यमा आउनसक्ने समस्यालाई ध्यानमा राखेर प्राथिमक उपचारको पनि उपयुक्त प्रबन्ध गरिएको छ ।

कोहलपुरमा भर्खरै गोल्डकप फुटबल प्रतियोपगिता सम्पन्न भएको छ । दर्शकहरूको उल्ल्ेखनीय सहभागिता समेत रह्यो । अब यही क्षेत्रमा अर्काे ठूलो पुरस्कार राशीको प्रतियोगिता हुन लाग्दा यसको गुणस्तर र निष्पक्षता पनि धेरैको निगरानीमा हुनेछ । यसतर्फ के प्रबन्ध गरिएको छ ?

एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो । सबैभन्दा पहिला हामीले जुन क्षेत्रमा खेल सञ्चालन हुँदैछ त्यही क्षेत्रका विद्यार्थीहरू लाभान्वित होउन् भन्ने कुरालाई ध्यानमा राखेका छौँ । त्यस अवसरमा प्रतिभावान खेलाडीहरू वञ्चित नहोउन् र अनधिकृत खेलाडीहरू सहभागी नहोउन् भन्ने कुरालाई ख्याल गरिएको छ । त्यसका लागि हामीसँग एउटा जुडिसियल बडी छ । उक्त बडीले खेलाडीहरू विद्यालयमा अध्ययन गरिरहेका, सोही उमेर समूहका र तिनैको प्रतिभा प्रष्फुटन गराइयो कि गराइएन भन्ने जाँचबुझ गरेको छ । त्यस्तो जाँचबुझमा गलत खेलाडी हसभागी गराइएको पाइएमा विद्यालय र विद्यार्थीलाई पनि कारबाही हुने व्यवस्था कार्यविधि बनाएका छौँ । अर्काेतिर खेलकुदको गुणस्तर प्राविधिकमा पनि भर पर्छ । प्राविधिक कति अनभुवी र दक्ष छन् भन्ने कुराले पनि अर्थ राख्ने भएकोले हामीले फुटबलमा रेफ्रीको लामो अनुभव हासिल गरेका प्राविधिकहरूलाई बोलाएर उहाँबाटै खेल सञ्चालन गर्ने व्यवस्था मिलाएका छौँ । त्यसले स्वतः निष्पक्षता कायम गर्न सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । अरु कल्पनाभन्दा बाहिरको परिस्थिति आएमा हामीले त्यसलाई पनि समाधान गर्ने गरी आवश्यक तयारी गरेका छौँ ।

विद्यालयहरूमा फुटबल खेलका गतिविधि न्यून भइरहँदा त्यसले यस्ता प्रतियोगिताका खेलाडीको उपलब्धतामा केही समस्या आएको पाउनुभयो ?

खेलका लागि सहभागी हुने खेलाडीको कन्फिडेन्स विद्यालयको आत्मविश्वासका लागि पनि नियमित अभ्यास जरुरी हुन्छ । त्यो खालको वातारण भएन भन्ने त स्वभाविक रूपले उठिरहेकै कुरा हो । यसका लागि देशका तीन तहकै सरकारले आआफ्नो क्षमता अनुसारको लगानी गर्नुपर्छ । त्यसका लागि प्राथमिकता निर्धारित कार्यक्रमहरू तय गर्नुपर्छ । खेलकुदका लागि तल्लो तहबाटै माहौल सिर्जना गर्नुपर्छ । त्यसैलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । हामीले हरेक वर्ष सञ्चालन गरेकाजस्तै एउटा नाइट क्रिकेट कप र दुई वटा डे क्रिकेट कप सञ्चालन गरिरहेका छौँ । यसैगरी नवप्रतिभा खेलाडीहरूलाई प्रोत्साहन होस् भन्ने उदेश्यले हामीले सबै खेलाडीहरूलाई जर्सी उपलब्ध गराउँदै छौँ । पुरस्कार पनि प्रथम हुनेलाई पाँच लाख, दोस्रोलाई तीन लाख र तेस्रो हुनेलाई दुई लाख गरी विद्यालयस्तरको हालसम्मकै उच्च राशीको पुरस्कार पनि राखेका छौँ । प्रत्येक इभेन्टमा खेलाडीलाई प्रोत्साहन गर्न धनराशी र नैतिक सपोर्ट दिने गरी प्रतियोगिता आयोजना गर्दैछौँ । आगामी दिनमा यस प्रतियोगिताले अझै ठूलो लहर आउँछ भन्ने हाम्रो अपेक्षा छ ।

खेलकुदलाई सामाजिक विकासको एक साधनका रूपमा हेर्ने दृष्टि राज्यले बनाउन थालेको हो ?

पक्कै पनि त्यो कुरालाई मनन गरिएको हो । किनभने खेलकुदले बहुआयामिक प्रभाव पार्छ । यसले विद्यार्थीलाई व्यावसायिक रूपले शीपयुक्त खेलाडी बनाउने मात्रै नभई यसले उसको व्यक्तित्व विकासमै सकारात्मक प्रभाव पार्दछ । व्यक्तिहरू असल हुनुले नै अन्तमा समाज असल हुने हो । त्यसकारण यो सामाजिक विकासको एक प्रभावकारी साधन पनि हो । अहिले बालबालिकाहरू विभिन्न कुलतमा फँस्दै गइरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला यस्ता खेलले उनीहरूलाई सकारात्मकतातिर डो¥याउँदछ । यति मात्रै होइन खेलबाटै विद्यार्थीहरूले प्रतिस्पर्धा, सहकार्य, टिमवर्क र सकारात्मक सोचको विकास गराउँदछ । यो शिक्षाकै एक महत्वपूर्ण पाटो भएकोले खेलकुदलाई अनुत्पदक र व्यक्तित्व विकासको बाधक मान्ने पुरानो धारणा समाजमा तोडिँदै गएको छ । त्यसलाई अझै निमिट्यान्न पार्न प्रदेश सरकारका खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयको समन्वयमा विभिन्न प्रतियोगिता आयोजना भइरहेका छन् । सुरुमा यो प्रतियोगिता खेलकुद मन्त्रालयमार्फत नै तय भएपनि उक्त मन्त्रालयको जिल्लामा कार्यान्वयन संयन्त्र नबनिसकेकोले सामाजिक विकास मन्त्रालयले अपनत्व लिएर अहिले कार्यान्वयन हुँदैछ ।

तपाईँ प्रमुख रहेको सामाजिक विकास डिभिजन कार्यालयले अरु परिणाममुखी के काम गरिरहेको छ ?

यो कार्यालयको मुख्य केन्द्रमा प्रदेश सरकारमार्फत हुने शिक्षासम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने हो । साथै यसले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षमता विकास तथा सामाजिक विकासको पाटोलाई पनि हेरिरहेको छ । विशेषगरी हामीले विद्यालयहरूमा सूचना प्रविधिमैत्री साधन स्रोत उपलब्ध गराउने र विद्यालयको भौतिक पूर्वाधार विकासको कामलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरू सञ्चालन गरिरहेका छौँ । यस कार्यालयको कार्यक्षेत्र बाँके र बर्दियामा अहिले धेरैजसो विद्यालयको स्तरोन्नतिका लागि भवन निर्माणदेखि पै्रविधिमैत्री कक्षाकोठाहरू बनाउने काम धमाधम भइरहेको छ । हाम्रो केन्द्रमा नै शिक्षाको विकास र त्यसमार्फत सामाजिक विकास नै रहेको छ ।

अन्तमा, प्रदेशसभा कप फुटबल प्रतियोगिताका सन्दर्भमा सरोकारवाला सबैलाई यहाँको भन्नु के छ ?

यो प्रतियोगिता विद्यालयस्तरका खेलाडी सहभागी हुने प्रतियोगितामध्ये सबैभन्दा उच्च पुरस्कार राशीको प्रतियोगिता हो । त्यसकारण यो विद्यार्थी र विद्यालयहरूका लागि ठूलो अवसर पनि हो । यसलाई असाध्यै महत्वका साथ लिएर विद्यालय, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूले लाभ उठाउनुहुन अनुरोध गर्छु । साथै खेलप्रेमी तथा अभिभावकहरूलाई उत्सापूर्वक प्रतियोगितामा सहभागी भएर बालबालिकाहरूको हौसला बढाइदिनहुन अनुरोध गर्दछु ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार