शेरबहादुर ऐर । कैलाली ।
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेड अहिले देशकै चर्चित सहकारी संस्थामध्ये एक मानिन्छ । २०५० साल मंसिर ३० गते १४ जनाको सामुदायिक बचत अभियानबाट सुरु भएको यो संस्था आज सात अर्ब रूपैयाँँ हाराहारीको सम्पत्ति व्यवस्थापन गर्ने अवस्थामा पुगेको छ ।
नेपाल राष्ट्र बैंकबाट बैंकिङ इजाजतपत्र पाउने पहिलो सहकारीको पहिचान बनाएको नवजीवन अहिले कैलाली, कञ्चनपुर र बर्दियामा फैलिएको आफ्नो सञ्जालमार्फत ४० हजारभन्दा बढी सेयर सदस्यलाई सेवा दिइरहेको छ । देशभर सहकारी संकटले हजारौँ बचतकर्ता सडकमा उत्रिएका बेला नवजीवनको स्थायित्व र विस्तारले यसलाई फरक बनाएको छ ।
तर, यही सफलताको अर्को पाटो पनि छ– नेतृत्व कब्जाको तीव्र प्रतिस्पर्धा । हरेक चुनावी साधारणसभा नजिकिँदा एउटा प्रश्न दोहोरिन्छ– ‘नवजीवन सहकारीको नेतृत्वमा पुग्न किन यति धेरै दौडधुप हुन्छ ?’ नवजीवन सहकारीको अध्यक्ष वा कार्यसमिति सदस्य बन्नु केवल एउटा प्रशासनिक जिम्मेवारी मात्र होइन, स्थानीय समाजमा प्रभाव विस्तार गर्ने माध्यम पनि बनेको विश्लेषण गरिन्छ ।
सहकारीका पूर्वअध्यक्ष रतन कठायतका अनुसार यस संस्थामा प्रत्यक्ष आर्थिक लाभ सीमित भए पनि सामाजिक प्रतिष्ठा अत्यन्त ठूलो छ । उनका अनुसार तीन जिल्लामा फैलिएका ४० हजारभन्दा बढी सेयर सदस्यबीच सम्बन्ध विस्तार गर्ने अवसरले धेरैलाई नेतृत्वतर्फ आकर्षित गर्छ। ‘सहकारीको अध्यक्ष बन्नु भनेको हजारौँ मानिसको विश्वास र पहुँच प्राप्त गर्नु हो,’ उनी भन्छन् ।
स्थानीय राजनीतिक वृत्तमा पनि नवजीवनको नेतृत्वलाई प्रभावशाली मानिन्छ । सामाजिक कार्यक्रममा उपस्थितिदेखि स्थानीय निर्णय प्रक्रियासम्म सहकारी नेतृत्वको प्रभाव देखिने गरेको छ । यही कारण सहकारीको निर्वाचनलाई कतिपयले स्थानीय राजनीतिक अभ्यासको ‘मिनी चुनाव’ समेत भन्न थालेका छन् । नवजीवन सहकारीको लोकप्रियताको मुख्य कारण यसको सेवा प्रणालीलाई मानिन्छ ।
अध्यक्ष देवबहादुर बमका अनुसार सहकारीले सदस्यलाई ‘जन्मदेखि मृत्युसम्म’ सहारा दिने नीति अपनाएको छ । महिला सेयर सदस्य गर्भवती भए पाँच हजार रूपैयाँँ सहयोग दिने व्यवस्था छ । बिरामी पर्दा उपचारको प्रकृतिअनुसार १० हजारदेखि ३४ हजार रूपैयाँँसम्म आर्थिक सहायता प्रदान गरिन्छ । अंग प्रत्यारोपणजस्तो जटिल अवस्थामा एक लाख रूपैयाँँसम्म फिर्ता नलिइने सहयोग उपलब्ध गराइन्छ ।
सदस्यको मृत्यु भए अन्तिम संस्कार खर्च समेत सहकारीले बेहोर्ने व्यवस्था छ । यस्ता सेवाले सदस्यमा संस्थाप्रति बलियो भरोसा निर्माण गरेको छ । सहकारी क्षेत्रमा अविश्वास बढिरहेका बेला नवजीवनले सदस्यकेन्द्रित कार्यक्रममार्फत आफ्नो छवि मजबुत बनाएको देखिन्छ । संस्थाका पदाधिकारीहरूले आर्थिक लाभ न्यून रहेको दाबी गर्छन् । भित्री संरचनामा पहुँच र प्रभावको राजनीति रहेको आरोप पनि उठ्ने गरेको छ ।
सहकारीका एक पूर्वपदाधिकारीका अनुसार कर्मचारी नियुक्तिमा निष्पक्षता सधैँ कायम नहुने गुनासो सुनिन्छ । ‘लिखित परीक्षा पारदर्शी भए पनि अन्तिम छनोटमा पहुँच र सम्बन्धले भूमिका खेल्छ,’ उनले भने । उनका अनुसार हाल कार्यरत करिब ४० प्रतिशत कर्मचारी पहुँचकै आधारमा भर्ना भएको आरोप सहकारीभित्रै उठ्ने गरेको छ ।
सामाजिक उत्तरदायित्व कोष अर्को आकर्षणको केन्द्र मानिन्छ । यस कोषबाट प्रत्येक वर्ष लाखौँ रूपैयाँँ विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रममा वितरण गरिन्छ । यसले नेतृत्वलाई स्थानीय तहमा थप प्रभावशाली बनाउने विश्लेषण छ । त्यसबाहेक, देश तथा विदेश भ्रमण, बैठक भत्ता र नेटवर्क विस्तारको अवसरले पनि नेतृत्वप्रति आकर्षण बढाउने गरेको बताइन्छ ।
अध्यक्ष बमका अनुसार कार्यसमितिका पदाधिकारीले मासिक छ हजार रूपैयाँँ बैठक भत्ता पाउँछन् । सहकारीकै कामका लागि देशभित्र जाँदा दैनिक पाँच हजार रूपैयाँँ भ्रमण भत्ता र विदेश भ्रमणमा थप सुविधा उपलब्ध हुन्छ । नवजीवन सहकारी अहिले केवल बचत तथा ऋण कारोबार गर्ने संस्था मात्र रहेन् । धेरै सदस्यका लागि यो बैंकको विकल्पजस्तै बनेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज पहुँच, छिटो सेवा र सामाजिक सम्बन्धमा आधारित व्यवहारले सहकारीलाई लोकप्रिय बनाएको हो ।
विशेषगरी बैंकिङ पहुँच कमजोर रहेका समुदायमा नवजीवनले आर्थिक गतिविधि विस्तार गर्न भूमिका खेलेको स्थानीयहरू बताउँछन् । यही कारण संस्थाले ‘देशकै नम्बर वान सहकारी’ बन्ने लक्ष्य अघि सारेको छ । तर, सहकारी विज्ञहरू भने यस्तो तीव्र विस्तारसँगै पारदर्शिता र सुशासनमा चुनौती थपिन सक्ने चेतावनी दिन्छन् । पछिल्ला वर्षमा देशभर देखिएका सहकारी संकटले संस्थागत निगरानीको आवश्यकता अझै बढाएको उनीहरूको भनाइ छ ।
३२औँ साधारणसभाः कसले सम्हाल्छ नेतृत्व ?
नवजीवन सहकारीले आगामी जेठ २ गते ३२औँ साधारणसभा बोलाएको छ । उक्त सभाले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष र सात सदस्यसहित लेखा सुपरिवेक्षक समितिका पदाधिकारी चयनका लागि चुनावी प्रक्रिया सुरु भइसकेको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका सदस्य केशवराज मिश्र, घनबहादुर शाह र गोपाल पाठक चुनावी मैदानमा छन् ।
उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ भने सात सदस्यका लागि २८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।निर्वाचन समितिका संयोजक राजेन्द्रवीर चन्दका अनुसार लेखा सुपरिवेक्षक समितिमा पनि प्रतिस्पर्धा तीव्र छ । संयोजक पदका लागि दुई र सदस्य पदका लागि चार जनाको उम्मेदवारी परेको छ । तर, निर्वाचन तत्काल हुने सम्भावना भने कम देखिएको छ ।
साधारणसभामा ५१ प्रतिशत सेयर सदस्य उपस्थित नभए दोस्रो चरणको निर्वाचन जेठ ९ गते गरिने तयारी गरिएको छ । दोस्रो चरणमा कम्तीमा ३० प्रतिशत सदस्य उपस्थित भए निर्वाचन प्रक्रिया अघि बढ्नेछ । नवजीवन सहकारी अहिले यस्तो मोडमा उभिएको छ जहाँ यसको सफलता केवल आर्थिक सूचकांकले मात्र मापन हुने छैन । देशभर सहकारी क्षेत्रप्रति बढ्दो अविश्वासका बीच संस्थाले पारदर्शिता, सदस्य सहभागिता र सुशासनलाई कसरी सन्तुलन गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।
एकातिर सदस्यलाई प्रत्यक्ष लाभ दिने सामाजिक सुरक्षा कार्यक्रम छन् भने अर्कोतर्फ नेतृत्वमा प्रभाव र पहुँचको प्रतिस्पर्धा पनि तीव्र छ । यही द्वन्द्वबीच नवजीवनको आगामी नेतृत्व चयनलाई धेरैले चासोका साथ हेरिरहेका छन् । धनगढीबाट सुरु भएको सानो सामुदायिक बचत अभियान आज ठूलो आर्थिक संरचनामा रूपान्तरण भएको छ । अब यसको अर्को परीक्षा भनेको– विश्वास जोगाउँदै विस्तारलाई कसरी निरन्तरता दिने भन्नेमा केन्द्रित देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्