काठमाडौँ
चौधरी ग्रुप र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडको संयुक्त लगानीमा स्थापित सीजी रिलायन्स बेभरेज प्रालीले नेपाली बजारमा नयाँ ऊर्जा पेय ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको छ । यस नयाँ उत्पादनको सार्वजनिकसँगै कम्पनीले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको हो ।
यसअघि नै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज जस्ता पेय पदार्थहरू बजारमा ल्याइसकेको क्याम्पा पोर्टफोलियोमा अब यो नयाँ ऊर्जा पेय पनि थपिएको छ । सीजी रिलायन्सले कार्बोनेटेड सफ्ट ड्रिंकको दायराभन्दा बाहिर गएर ऊर्जा पेय श्रेणीमा आफ्नो स्थान मजबुत बनाउने उद्देश्यका साथ यो कदम चालेको हो । क्याम्पा इनर्जी गोल्ड बुस्टलाई अन्तर्राष्ट्रियस्तरको ऊर्जा पेयको रूपमा तयार पारिएको छ ।
जसमा विश्वस्तरीय गुणस्तर र उच्च प्रदर्शनलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । गुणस्तरीय पेय पदार्थ भए तापनि कम्पनीले यसलाई नेपाली उपभोक्ताका लागि निकै सुलभ मूल्यमा उपलब्ध गराएको छ, जसअन्तर्गत २५० एमएलको क्यानको बजार मूल्य मात्र ८० रूपैयाँँ तोकिएको छ । यो उत्पादन हाल देशभरका खुद्रा आउटलेटहरूमा सहजै उपलब्ध भइसकेको छ ।
यो ऊर्जा पेय मकवानपुरको मनहरीस्थित सीजीको आफ्नै अत्याधुनिक बोटलिङ प्लान्टमा उत्पादन गरिएको हो । जसले गर्दा बजारमा यसको गुणस्तर र निरन्तर आपूर्तिमा कुनै कमी नहुने सुनिश्चितता प्रदान गर्दछ । बजारमा उपलब्ध भएसँगै उपभोक्ताहरूबाट यसको स्वाद, क्याफिनको सन्तुलित प्रभाव र यसले दिने ऊर्जाप्रति अत्यन्तै उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीको दाबी छ ।
यस उत्पादनको पछाडि दुई ठूला व्यवसायिक शक्तिहरूको सहकार्य रहेको छ । सीजी रिलायन्स बेभरेजमा नेपालको प्रतिष्ठित चौधरी ग्रुप र भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गतको एफएमसिजी व्यवसाय आरसिपिएलको साझेदारी छ ।
रिलायन्सले सन् २०२२ मा क्याम्पा ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतमा पुनः सार्वजनिक गरेको थियो भने हाल यो ब्रान्ड नेपालसहित यूएई, ओमान र बहराइन जस्ता अन्तर्राष्ट्रिय बजारमा द्रुत गतिमा विस्तार भइरहेको छ । नेपालमा भने चौधरी ग्रुपको बलियो बजार पहुँच, स्थापित आपूर्ति प्रणाली र स्थानीय उत्पादन क्षमताका कारण क्याम्पा ब्रान्डले छोटो समयमै आफ्नो बलियो पहिचान बनाउन सफल भएको छ ।









प्रतिक्रिया दिनुहोस्