कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा चौथो संस्करणको कोहलपुर गोल्डकप–२०८३ हुँदैछ । पश्चिम नेपालकै सबैभन्दा ठूलो प्रतियोगितासँग स्थानीय सरकार समेत निरन्तर जोडिँदै आएको छ । यसै सन्दर्भमा कोहलपुर गोल्डकपमार्फत कसरी कोहलपुरको खेलकुद क्षेत्रको विकास भइरहेको छ ? स्थानीय सरकारले गोल्डकपको निरन्तरता र खेलकुद पूर्वाधार निर्माणमा कस्तो भूमिका खेलेको छ ? भन्ने विषयमा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश ः
पूर्णप्रसाद आचार्य, नगरप्रमुख, कोहलपुर नगर पालिका
कोहलपुरमा सञ्चालन हुँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता कोहलपुर गोल्डकप स्थानीय सरकारले कुन रूपमा लिएको छ ?
वैशाख १९ देखि २६ गतेसम्म कोहलपुर गोल्डकपको चौथो संस्करण सुरु हुँदैछ । कोहलपुर नगरपालिकाले कोहलपुर २ मा रहेको कोहलपुर रेसिङ साहारा क्लबसँग समन्वय र आर्थिक सहयोग गर्दै प्रतियोगिता सञ्चालन हुँदै आएको छ । हामी निर्वाचित भएर आएपछि खेलकुदका माध्यमबाट कोहलपुरलाई स्थापित गर्ने उद्देश्यसहित हामीले खेलकुदमा लगानी गरिरहेका छौँ । हालसम्म आइपुग्दा कोहलपुर गोल्डकप मात्रै होइन खेलकुदका अन्य विधाहरूलाई समेत समेटेर लिइरहेका छौँ । पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा कोहलपुर गोल्डकप परिस्कृत र सन्तोषजनक रूपमा सम्पन्न भइसकेको छ । चौथो संस्करण पनि विगतभन्दा व्यवस्थित रूपमा सञ्चालन हुन्छ भन्ने महशुस गरेका छौँ । किनभने कोहलपुर गोल्डकपमा विगतमा फुटबल खेलेका, खेलकुद बुझेका र सामाजिक व्यक्तित्वहरू जोडिँदै आउनु भएको छ । यसले कोहलपुर गोल्डकपलाई हिजोभन्दा आज झन् प्रभावकारी बन्दै गएको देखाउँछ । खेलकुदका माध्यमबाट कोहलपुर चलायमान त भएको छ नै, पश्चिम नेपाल मात्रै नभएर देश तथा विदेशमा पनि कोहलपुरको खेलको सम्भावनालाई उजागर गरेको छ ।
कोहलपुर नगरपालिका कोहलपुर गोल्डकपको प्रमुख संरक्षकको रूपमा रहँदै आएको छ । गोल्डकप सञ्चालनका लागि हालसम्म कति आर्थिक सहयोग प्रदान गर्नु भएको छ ?
कोहलपुर गोल्डकपको चौथो संस्करण हुँदैछ । पहिलो संस्करणमा कोहलपुर नगरपालिकाले आयोजकलाई नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि दश लाख रूपैयाँँ प्रदान गरेको थियो । खासमा प्रतियोगिताका विषयमा खेलकुद बुझेका आँटिला साथीहरूले राम्रोसँग आफ्नो लक्ष्य र उद्देश्य बुझाएपछि स्थानीय सरकार आर्थिक सहयोग गर्न सहमत भएको थियो । अहिले यो प्रतियोगिताले जुन उचाइ हासिल गरेको छ । सुरुमा हामीलाई पनि विश्वास थिएन । कतै स्थानीय सरकारको लगानी खेर जाने हो कि भन्ने चिन्ता थियो । वास्तवमा कोहलपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी कोहलपुरमा ल्याएर खेलाउनु चुनौतीपूर्ण कार्य थियो । तर, गोल्डकप सुरु भयो । अहिलेसम्म आइपुग्दा यसले राम्रो उचाइ लिएको छ । जहाँसम्म आर्थिक सहयोगको कुरा छ, कोहलपुर गोल्डकपका आयोजक साथीहरूले व्यक्तिगत रूपमा समेत लगानी गरेर गोल्डकप आयोजना गरेको पाएको छु । त्यो उहाँहरूको व्यक्तिगत फाइदाको लागि होइन । यो त कोहलपुर क्षेत्रको फुटबल विकासका लागि हो । उहाँहरू फुटबलका माध्यमबाट कोहलपुरलाई चिनाउन लागिपर्नु भएको छ । त्यसमा स्थानीय सरकारले समेत इँटा थप्ने काम गरेको छ । पछिल्ला संस्करणमा कोहलपुर नगरपालिकाले आर्थिक सहयोगको रकम बढाउँदै लिएको छ । २२ लाख रूपैयाँँसम्म पनि स्थानीय सरकारले गोल्डकप सञ्चालनका लागि सहयोग गरेको छ ।पछिल्लो समय कोहलपुर गोल्डकपलाई सहयोग गर्ने दाताहरूसमेत बढ्दै जानुभएको छ । आर्थिक रूपमा विगतभन्दा अहिले प्रतियोगिता सञ्चालन गर्न केही सहज भएको मैले पाएको छु । स्थानीय सरकारले समेत क्रमशः सहयोग रकममा केही वृद्धि गरेको अवस्था छ ।
कोहलपुरमा पहिलोपटक गोल्डकप सञ्चालन हुँदा तेह्र बिघा मैदान अव्यवस्थित चौरका रूपमा रहेको थियो । अहिलेसम्म आइपुग्दा कोहलपुर फुटबल रंगशाला निर्माणको अवस्थासम्म आइपुगेको छ । अब कोहलपुरले खेलकुद पूर्वाधार निर्माणमा ध्यान दिन थालेको हो ?
कोहलपुर गोल्डकपको सञ्चालनको सन्दर्भमा भन्नुपर्दा पहिलो संस्करण हामीले कल्पना गरेको भन्दा पनि भव्य रूपमा सम्पन्न भयो । मैदानमा दर्शकको उपस्थिति तथा चापले हामीलाई खेलकुद पूर्वाधार निर्माणमा लगानी गर्न प्रेरित ग¥यो । त्यसपछि हामीलाई लाग्यो, कोहलपुर खेलकुदको उर्वरभूमि हो । जुन कुरा कोहलपुरमा सञ्चालन हुने प्रतियोगिता र उपस्थित हुने दर्शकहरूको उपस्थितिले देखाउँदै पनि आएको छ। अब खेलकुद प्रतियोगिता मात्रै होइन खेलकुद संरचना समेत निर्माण गर्नुपर्छ भन्ने कुरा पहिलो संस्करणबाटै बोध भयो । त्यसपछि तत्कालै कोहलपुर नगरपालिकाले तेह्र बिघा मैदानलाई फुटबल मैदानका रूपमा विस्तार गरी संरचना निर्माण गर्ने नीति लियो । त्यसपछि गुरुयोजना तयार गरियो । त्यो गुरुयोजनामा रंगशाला निर्माणका लागि २२ करोड रूपैयाँँ लागत लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा कोहलपुर नगरपालिकाले संघीय सरकारसँग पनि अनुरोध गरेको थियो । हाल निर्माणाधीन अवस्थामा रहेको कोहलपुर फुटबल रंगशालाका लागि संघीय सरकारले ३ करोड रूपैयाँँ आर्थिक सहयोग गरेको छ ।त्यसमा साढे ४ करोड रूपैयाँँ स्थानीय सरकारले पनि हाल्यो । कूल सात करोड रूपैयाँँ लागतमा अहिले कोहलपुर फुटबल रंगशाला निर्माण भइरहेको छ । अहिले पहिलो चरणको काम भइरहेको छ । अब क्रमशः रंगशालालाई पूर्णता दिइनेछ । त्यसका लागि यसपटक पनि रंगशाला निर्माणका लागि संघीय सरकारलाई अनुरोध गरिएको छ । यसपटक संघीय सरकारबाट सहयोग प्राप्त भयो भने पालिकाले समेत रकम विनियोजन गरेर बाँकी काम हामी सकाउँछौँ ।
स्थानीय सरकारले कोहलपुरलाई खेलकुद सिटीका रूपमा विकासको नीति लिएको देखिन्छ । अहिलेसम्म खेलकुदमा गरेको लगानीको प्रतिफल कत्तिको प्राप्त भएको छ । आगामी योजना के छ ?
हामी खेलकुद भन्नेबित्तिकै युवा समूहलाई सम्झन्छौँ । त्यति मात्र नभएर कोहलपुर नगरपालिकाले खेलकुदको विकासका लागि आधारभूत तहबाटै लगानी गरिरहेको छ । बालबालिकाहरूलाई खेलकुदमा जोड्नुपर्छ भनेर राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको छ। खेलकुदका विभिन्न विधाहरूमा नगरपालिकाले गतिविधि सञ्चालन गरिरहेको छ । युवाहरूलाई खेलकुदका माध्यमबाट शैक्षिण सिकाइ क्रियालापका रूपमा समेत जोड्ने हाम्रो प्रयास जारी छ । खेलकुदका माध्यमबाट सामाजिक भावना समेत जाग्रित गराउन सकिन्छ भन्ने मूल ध्येय हाम्रो रहेको छ । अब व्यावसायिक खेलाडी समेत उत्पादन गर्नुपर्छ भनेर लगानी गरिरहेको हो । हामी निर्वाचित हुनुभन्दा पहिला पनि कोहलपुरलाई खेलकुदमार्फत चिनाएका थुप्रै खेलाडीहरू रहेका छन् । अहिले नगरपालिकाले खेलकुद गतिविधि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । यसले हामीलाई परिणाम समेत सुखद दिएको छ । पछिल्लो चार वर्षदेखि बाँके जिल्लामा हुने जिल्लास्तरीय प्रतियोगिताहरूमा कोहलपुरले लगातार उपाधि जित्दै आएको छ । कोहलपुरका खेलाडीका कारणले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा बाँके जिल्ला च्याम्पियन हुँदै आएको छ । यतिमात्रै होइन कोहलपुरकै खेलाडी केन्द्रमा गएर लुम्बिनी प्रदेशलाई जिताउन भूमिका खेलिरहेका छन् । यी उदाहरण हेर्दा हामीले गरेको लगानी त्यहाँ देखिएको हो कि जस्तो पनि लाग्छ । नगरपालिकाले हाल विश्वमा धेरै चर्चित खेलहरू क्रिकेट र फुटबल मात्र नभएर अन्य खेललाई समेत प्राथमिकता दिँदै आएको छ । कोहलपुरमा खेलाडीहरूको सङ्ख्या ठूलो छ । उनीहरूको रुचि र चाहनाअनुसार पनि हामीले खेलकुदमा लगानी गरिरहेका छौँ ।
अन्त्यमा, चौथो संस्करणको कोहलपुर गोल्डकपलाई सफल बनाउन अनिवार्य सहभागिताका लागि खेलप्रेमी तथा पाठकहरूलाई के आह्वान गर्नुहुन्छ ?
सुरुको संस्करण सुरु हुँदा व्यक्तिगत रूपमा मलाई पनि डर थियो । स्थानीय सरकारले दश लाख रूपैयाँँ सहयोग गर्दैछ । प्रतियोगिता कस्तो हुने हो ? लगानी खेर पो जाने हो कि भन्ने लागेको थियो । तर प्रतियोगिताप्रति जसरी दर्शकहरूको साथ र माया रह्यो । यसले आयोजक र हामीलाई हौस्याएको छ । कोहलपुरवासीको मन जितेको छ । पश्चिम नेपालमा कोहलपुरलाई चिनाउन भूमिका खेलेको छ । कर्णाली र सुदूरपश्चिमबाट दर्शकहरू खेल हेर्न आउने गरेका छन् । अब कोहलपुर गोल्डकप भनेको कुनै क्लब वा कोहलपुर नगरपालिकाको मात्रै प्रतियोगिता होइन यो समग्र कोहलपुरवासीको पहिचानको विषय बनेको छ । चौथो संस्करण सुरु हुँदैछ । सम्पूर्णलाई वैशाख १९ गतेदेखि सञ्चालन हुने प्रतियोगिता सफलताका लागि स्थानीय सरकारको प्रमुख र मेरो व्यक्तिगत तबरबाट भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । प्रतियोगितामा सहभागिताका लागि अनुरोध गर्न चाहन्छु ।









प्रतिक्रिया दिनुहोस्