
काठमाडौँ, १८ वैशाख
२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्वयम्भूनाथ चैत्यमा पूजा आराधना तथा दर्शन गर्न आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
काठमाडौं ।
२५७०औँ बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू र बौद्धसहित काठमाडौं उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
स्वयम्भूस्थित आनन्द कुटी विहारमा बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाम लागेको छ । साथै, बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी, बौद्धनाथ क्षेत्रमा भक्तजनले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना तथा धार्मिक प्रवचन गरी मनाइन्छ । अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ ।
आजभन्दा २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्मिएका थिए । उनले बोधगयामा ज्ञान प्राप्त गरी सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेको इतिहासमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्