वीरेन्द्रनगर ।
नेशनल बाथरोग सेन्टरले सुर्खेतमा आफ्नो १०औँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शाखाको उद्घाटन गरेका हुुन् । कर्णाली र सुदूरपश्चिमका महिलामा बाथरोगको समस्या बढी देखिने भएकाले समयमै रोग पहिचान गरी उपचार गर्न सहज हुने प्रदेश प्रमुख जोशीले बताए । तर विशेषज्ञ स्वास्थ्य सेवा प्रदेश राजधानीमा मात्र सीमित नराखी स्थानीय स्तरसम्म विस्तार गर्नुपर्नेमा उनको जोड छ ।
बाथरोग सेन्टरका निर्देशक रमेश कुमार श्रेष्ठले बाथरोग दीर्घकालीन प्रकृतिको भएकाले नियमित उपचार, फलोअप र उचित व्यवस्थापन आवश्यक पर्ने बताए । सुर्खेतमै विशेषज्ञ सेवा सुरु भएपछि कर्णालीका बिरामीलाई उपचारका लागि काठमाडौँ लगायत ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने उनको भनाइ छ । वीरेन्द्रनगर–२ का वडाध्यक्ष गजबहादुर बुढाले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुनु वीरेन्द्रनगर १ र २ वडा तथा सम्पूूर्ण पालिकावासीका लागि सकारात्मक पक्ष भएको बताए ।
चिकित्सक तथा निर्देशक डा. बिनित वैद्यले बाथरोग समयमै पहिचान र विशेषज्ञ उपचार पाए प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने बताए । वीरेन्द्रनगर एकका वडाध्यक्ष दिनेश खत्रीले शाखा विस्तारले कर्णालीका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गरे । त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुवन बीसीले बाथरोग सम्बन्धी जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यम र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको बताए ।
शाखा म्यानेजर कृष्ण बिसीका अनुसार सुर्खेत शाखाबाट बाथरोग विशेषज्ञ, ओपीडी सेवा, विशेष प्रयोगशाला परीक्षण, एक्स–रे, डे–केयर उपचार, फार्मेसी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र नर्भ कन्डक्सन टेस्टलगायत सेवा उपलब्ध हुनेछन् । सुर्खेत शाखामार्फत कर्णालीका बिरामीलाई समयमै निदान, उपचार, नियमित फ्लोअप र दीर्घकालीन रोग व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको उनले बताए ।
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिका अनुसार २०६९ जेठ २२ गते स्थापना भएको सेन्टरले काठमाडौँको रातोपुललाई मुख्य केन्द्र बनाएर ललितपुर, भक्तपुर, पोखरा, झापा, बुटवल, दाङ, चितवन र धनगढीलगायत स्थानमा सेवा विस्तार गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्