सल्यान ।
जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष २०८३–०८४ को पहिलो महिनादेखि नै अपराध अनुसन्धानदेखि अवैध हतियार नियन्त्रण र सडक सुरक्षा कारवाहीसम्मका निगरानी तीव्र पारेको छ । प्रहरीले साउन महिनामा मात्रै १९ वटा मुद्दा दर्ता गरेको छ, भने विभिन्न घटनामा संलग्न २४ जनालाई पक्राउ गरेको छ । यस्तै ११ नाल अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको साउन महिनाको प्रगति विवरणअनुसार अपराध नियन्त्रणसँगै फरार प्रतिवादी पक्राउ, अवैध हतियार नियन्त्रण, सवारी अनुशासन, नागरिकको खोजी तथा उद्धार र जनचेतनामूलक कार्यक्रमलाई प्रहरीले प्राथमिकतामा राखेको हो । साउनमा दर्ता भएका १९ मुद्दामध्ये तीन वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराध, दुई वटा बहुविवाह, चार वटा बैंकिङ कसुर र १० वटा अन्य प्रकृतिका रहेका छन् ।
ती मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले २४ जनालाई पक्राउ गरेको हो । यस्तै पुराना मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको छ । साउनमा मात्रै १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूमाथि अदालतबाट कूल १८ वर्ष सात महिना २० दिन कैद सजाय तोकिएको थियो । पक्राउ परेका प्रतिवादीबाट ६ लाख ७८ हजार ३२ रूपैयाँँ जरिवानासमेत असुल भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार साउनमा दर्ता भएका तथा अघिल्ला मुद्दासहित छ वटा मुद्दा फछ्र्योट भएका छन् । भने प्रहरीमा परेका ८७ वटा ठाडो उजुरीसमेत सबै फछ्र्योट गरिएको छ । प्रहरी कारवाहीमा सबैभन्दा उल्लेख्य देखिएको विषय अवैध हतियार नियन्त्रण गरिएको उनले बताए । एक महिनामै जिल्लाका विभिन्न स्थानबाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको उनको भनाइ छ । प्रहरीका अनुसार नौ नाल बन्दुक विभिन्न सामुदायिक वनबाट बेवारिसे वा लुकाएर राखिएको अवस्थामा फेला परेका हुन् । दुई नाल भने घटनामा संलग्न व्यक्तिबाट बरामद भएका छन् ।
छत्रेश्वरी गाउँपालिका–१ को जुठेखोला सामुदायिक वनबाट दुई नाल, बनगाड कुपिण्डे नगरपालिका–१२ को भदाले ओडारबाट चार नाल, सिद्धगुफा सामुदायिक वनबाट दुई नाल र त्रिवेणी गाउँपालिका–३ को सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । अवैध भरुवा बन्दुकको जोखिम कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा भएको घटनाले पनि देखाएको छ ।
असार २२ गते सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ५२ वर्षीय टोपबहादुर पुनको मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । वन क्षेत्रमा अवैध रूपमा सिकार खेल्ने र भरुवा बन्दुक प्रयोग गर्ने क्रमले मानवीय क्षतिको जोखिम बढाएको प्रहरीको कारवाहीले देखाएको छ । साउनमा सल्यानमा १० वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा १९ जना घाइते भएको प्रहरीले जनाएको छ । ट्राफिक चेकिङका क्रममा २१४ वटा सवारीसाधन कारवाहीमा परेका छन् । कारवाहीबाट एक लाख ८८ हजार रूपैयाँँ राजस्व संकलन भएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । साउनमा हराएका १६ जना नागरिकलाई सकुशल फेला पारेर परिवारको जिम्मा लगाएको जनाएको छ । फेला पर्नेमा आठ महिला, तीन पुरुष र पाँच बालिका छन् ।
प्रहरीले अपराध नियन्त्रणसँगै रोकथाम र नागरिक सचेतनामा पनि जोड दिएको जनाएको छ । साउनमा समुदाय तथा विद्यालय केन्द्रित ६२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रममा तीन हजार ६१० जनाको सहभागिता रहेको प्रहरीको तथ्यांक छ । लागूऔषध, साइबर अपराध, हिंसा, सडक सुरक्षा तथा अन्य सामाजिक अपराधबारे नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्