शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
नेपाली काँग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको समापनमा पूर्वसभापति शेरबहादुर देउवाले भने, ‘म हिन्दु हुँ !’ । साउन २९–३१ सम्म चलेको इतर समूहको राष्ट्रिय भेलामा अन्तिम दिन सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा रहेकोसमेत बताए । नेपालमा के हुने के न हुने भन्ने कुरा नेपाली जनताको हातमा रहेको भन्दै देउवाको भनाइ थियो ।
सनातन हिन्दु राष्ट्रको विषयमा बोलिदिनुप¥यो भन्दै प्रश्न आएको बताउँदै उनले भने, ‘नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छु म । नेपाल के हुने के नहुने भन्ने कुरा त नेपाली जनताको हातमा छ । पशुपतिमा जान्छु म, पशुपतिमा पूजा गर्छु । त्यसकारण मैले के भनिसकेँ भने म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ !’ सोही राष्ट्रिय भेलामार्फत काँग्रेसको इतर समूहले धार्मिक नीति बदल्दै सनातन धर्मलाई राष्ट्रको पहिचान बनाउने नीति अख्तियार गरेको छ ।
पाँच बुँदे निर्णय गर्दै सम्पन्न भेलाका निर्णयको तेस्रो बुँदामा भनिएको छ, ‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ ।’
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको नेपाली काँग्रेसको नेतृत्वलाई अस्वीकार गर्दै आएको इतर समूहले विद्यमान नेपालको संविधान र पार्टीको नीति विपरित हिन्दु राष्ट्रको पक्षमा उभिनेगरी नीतिगत निर्णय गरेको हो । पार्टीभित्र तीव्र विवाद भइरहेको र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले संविधान संशोधनको अगाडि बढाइरहेको बेलामा रणनीतिक रूपमा धार्मिक मुद्दालाई सतहमा ल्याएको हो ।
सो समूहले राष्ट्रिय भेलामा गरेका पाँच बुँदे निर्णयमध्ये चार नम्बर बुँदामा आफूहरू संविधान संशोधनकै पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ । उक्त बुँदामा ‘वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधानमा भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिइने’ उल्लेख छ । पार्टी चरम आन्तरिक विवादमा फसेको समयमा साढे पाँच महिनापछि विदेशबाट स्वदेश फर्किएका देउवाले पार्टीलाई एकढिक्का बनाउने भन्दा गुटलाई नै प्राथमिकता दिए ।
झन् समूहले धार्मिक मुद्दा अघि सारेपछि निर्णय सुनाउने बेलामै नेताहरूबीच भनाभन नै भएको थियो । त्यो त इतर समूहले पार्टी एकताको मुद्दालाई आझेलमा पारेपछि नेपाली काँग्रेसका पूर्वउपभापति तथा नेता डा.शेखर कोइराला राष्ट्रिय भेलाको समापनमा उपस्थित नै भएनन् । तीन दिनको भेलामै इतर समूहका नेताहरूबीच मतभेद देखिएपछि राष्ट्रिय भेलाले पारित गरेका निर्णय र प्राप्त सुझावहरूलाई परिमार्जनसहित लिखित रुप दिनेगरी नेता एनपी साउदको नेतृत्वको समिति नै गठन गरिएको छ ।
नेता साउदले राष्ट्रिय भेलामा सम्मेलनमा प्रस्तुत राजनीतिक, आर्थिक र सांगठनिक प्रस्तावहरूमाथि प्रतिनिधिहरूले दिएका सुझावहरूलाई समेटेर अन्तिम दस्ताबेज तयार गर्दा धार्मिक स्वतन्त्रताको विषय थप प्रस्ट रूपमा आउने बताएका छन् । उनका अनुसार सनातन हिन्दु, बौद्ध, किरातसहित सबै प्राकृतिक धर्म नेपालमा सनातनदेखि चलिआएका धर्म हुन् । अन्य धर्मलाई पनि धार्मिक स्वतन्त्रता प्रदान गर्दै नेपालले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउनुपर्छ भन्ने आफूहरू रहेको उनको भनाइ थियो ।
नेता साउद नेपाली काँग्रेसको इतर समूह धर्म निरपेक्षताप्रतिको प्रतिबद्धता तोडेर धार्मिक स्वतन्त्रताको पक्षमा उभिएको नेता साउतले बताए । तर, इतर समूहमै रहेका नेता बिमलेन्द्र निधि आफूहरू संविधानमा रहेको धर्म निरपेक्षताको पक्षमै रहेको बताएका छन् । उनका अनुसार विद्यामान संविधानको व्यवस्थाको खिलापमा जानु अहिलेका लागि उपयुक्त छैन् । त्यसो त शेर बहादुर देउवा नेपाली काँग्रेसको सभापति भएको बेला उद्घाटन गरिएको (२०८० फागुन ७–१०)को महासमिति बैठकमा काँग्रेसले धर्म निरपेक्षताको पक्षमा आफूलाई उभ्याएको थियो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली काँग्रेस पुगेपछि देउवा र उनको समूह हिन्दु राष्ट्रको पक्षमा उभिन पुगेको छ ।पार्टीको आन्तरिक राजनीतिक लडाइँमा कमजोर अवस्थामा पुगेसँगै देउवाले धर्मको राजनीतिको बाटो लिएका छन् । नेपाली काँग्रेसभित्रको इतर समूहले पार्टी र देशको राजनीतिक तहमा दुरगामी असर गर्नेगरी महत्वपूर्ण र रणनीतिक निर्णय लिएपछि पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली काँग्रेसका सभापति गगन थापाले भेलामा प्रस्तुत विचार र पारित प्रस्ताव पार्टीको नीति वा अंग नहुने भन्दै इतर समूहको निर्णयहरू खारेज गरिदिएका छन् ।
काँग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया सुरु
नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ । आगामी असोज १६ देखि १८ गतेसम्म तोकिएको महाधिवेशन सम्पन्न गर्नको लागि प्रक्रिया सुरु गरेको हो । जस अन्तर्गत १५औँ महाधिवेशनअन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्दै काँग्रेस महाधिवेशनमा होमिएको हो । यस्तै महाधिवेशनका विभिन्न समितिसमेत गठन गरिएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो । पार्टी सभापति गनगकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको पार्टीका प्रवक्ता देवराज चालिसेले बताएका छन् । बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्ने पनि निर्णय गरेको उनले बताए ।
त्यसअघि नेपाली काँग्रेस १५औँ केन्द्रीय महाधिवेशनका निर्वाचन अधिकृतलाई प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति गगन थापाले १५औँ महाधिवेशन प्रक्रिया आधिकारिक रूपमा सुरु भएको बताए । यसपटक पार्टीको क्रियाशील सदस्यता डिजिटल भएकाले महाधिवेशन गर्न पहिलाको भन्दा सहज हुने उनको भनाइ थियो । सभापति थापाले भने, ‘हामीसँग अब समयको सुविधा छैन् । हामी संविधान, पार्टी विधानमा बाँधिएका छौँ ।,’ अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको उनले जिकिर गरेका छन् ।
प्रशिक्षण र पार्टीको केन्द्रीय समितिको बैठकपछि सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले नेपाली काँग्रेसको विधान अनुसार मंसिरभित्र पार्टीको महाधिवेशन बाध्यकारी रहेको बताए । उनले नेपाली काँग्रेस एउटै रहेको जिकिर गर्दै अदालतमा विचाराधीन मुद्दाप्रति आफूहरूको सम्मान रहेको बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्