काठमाडौँ।
नेपाल राष्ट्र बैंकले सहरी क्षेत्रभित्र बैंक तथा वित्तीय संस्थाका शाखा समायोजनलाई सहज बनाउने नीति ल्याएपछि वाणिज्य बैंकहरू भौतिक सञ्जाल घटाउँदै डिजिटल सेवातर्फ केन्द्रित हुन थालेका छन् । पछिल्लो एक महिनायता १० वाणिज्य बैंकहरूले देशका विभिन्न सहरी क्षेत्रमा रहेका १३८ शाखा तथा एक्सटेन्सन काउन्टर बन्द वा एकीकरण गर्ने प्रक्रिया अघि बढाएका छन् ।
केन्द्रीय बैंकको नीतिगत पुनरावलोकनपछि बैंकहरूले विगतमा आक्रामक रूपमा विस्तार गरिएका शाखा सञ्जाल पुनःव्यवस्थित गर्न थालेका हुन् ।विशेषगरी मर्जरपश्चात् दोहोरिएका शाखा हटाउने, सञ्चालन लागत घटाउने र प्रविधिमा आधारित सेवा विस्तार गर्ने उद्देश्यले यस्तो कदम चालिएको बैंकहरूले जानकारी गराएका छन् ।
केही वर्षयता राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई मर्ज गर्ने नीति लिएपछि मर्जरमा गएका ती संस्थाहरूले शाखा घटाएका हुन् ।अहिले शाखा कटौतीमा परेकामध्ये अधिकांश एकै ठाउँमा दुई वा सोभन्दा बढी शाखा रहेकाहरू नै छन् । यस्तो निर्णयले सर्वसाधारणमा भने खासै असर नपर्ने बैंकरहरूको भनाइ छ ।
यद्यपि शाखा कटौतीका कारण बैंक तथा वित्तीय संस्थामा पुग्ने सेवाग्राहीको भीड बढ्ने र त्यसले अन्ततः विगतमा पाउँदै आएको सेवा लिन अतिरिक्त सयम भने खर्चनु पर्ने हुन्छ । तर यसबाट बैंक तथा वित्तीय संस्थाको आम्दानी बढ्ने बैंकरहरूको अपेक्षा छ ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा विद्युतीय भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको सन्दर्भमा शाखा विस्तार नीतिमा पुनरावलोकन गरिने उल्लेख गरेको थियो ।
सोहीअनुसार महानगरपालिकाभित्र रहेका शाखाहरू बैंकहरूले आफैँ समायोजन गर्न सक्ने व्यवस्था गरिएपछि बैंकहरूले शाखा बन्द गरेर लाभ लिन खोजेका हुन् । यो वर्ष सबैभन्दा धेरै शाखा समायोजन गर्ने बैंकमा एनआइसी एशिया रहेको छ । उसले एकैपटक ४४ शाखा बन्द वा गाभ्ने निर्णय गरेको छ । त्यसपछि कुमारी बैंकले २५ शाखा तथा एक्सटेन्सन काउन्टर समायोजन गरेको छ भने अन्य बैंकहरूले पनि क्रमशः शाखा घटाउने प्रक्रिया अघि बढाएका छन् ।
ग्लोबल आइएमई बैंकले काठमाडौँ र ललितपुरका ८ शाखा गाभ्दै सेवा एकीकृत गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १८ शाखा समायोजन गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र एनएमबि बैंकले पनि नजिकै रहेका शाखाहरूलाई एकीकृत गर्दै सेवा प्रवाहलाई थप केन्द्रित बनाउने रणनीति अपनाएको जानकारी दिएका छन् ।
बैंकहरूले दिएको जानकारीअनुसार एउटै क्षेत्रमा २०० मिटरदेखि ३ किलोमिटरसम्मको दूरीमा रहेका शाखाहरू गाभिँदा सेवा दोहोरिने समस्या कम हुने, सञ्चालन खर्च घट्ने र सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । समायोजनपछि ग्राहकहरूले एकीकृत शाखाबाट सबै सेवा पाउनेछन् । राष्ट्र बैंकले शाखा समायोजनका लागि केही सर्तहरू पनि तोकेको छ ।
जसअनुसार शाखा बन्द गर्नुअघि कम्तीमा ९० दिनअघि सार्वजनिक सूचना दिनुपर्ने, ग्राहकलाई असुविधा नहुने गरी सेवा निरन्तरता सुनिश्चित गर्नुपर्ने र आवश्यक परे सेवा बन्द गर्दा शुल्क नलिने व्यवस्था गर्नुपर्नेछ । साथै, समायोजनपछि तीन दिनभित्र केन्द्रीय बैंकलाई विवरण बुझाउनुपर्ने प्रावधान पनि राखिएको छ ।
विज्ञहरूका अनुसार डिजिटल बैंकिङको बढ्दो प्रयोग, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन भुक्तानीजस्ता प्रणालीको विस्तारसँगै भौतिक शाखाको आवश्यकता क्रमशः घट्दै गएको छ । विशेषगरी सहरी क्षेत्रमा ग्राहकहरू अनलाइन सेवातर्फ आकर्षित भइरहेका कारण बैंकहरूले आफ्नो संरचना परिवर्तन गर्न बाध्य भएका हुन् ।
तर ग्रामीण तथा दुर्गम क्षेत्रमा भने अझै भौतिक शाखाको आवश्यकता कायम रहेको बताइन्छ । त्यसैले शाखा समायोजन गर्दा सेवा पहुँचमा असमानता नआओस् भन्ने विषयमा पनि ध्यान दिनुपर्ने सरोकारवालाहरूको सुझाव छ । बैंकिङ क्षेत्रमा भइरहेको यो पुनर्संरचना दीर्घकालीन रूपमा लागत घटाउने, दक्षता बढाउने र प्रविधिमैत्री सेवा विस्तार गर्ने दिशातर्फ उन्मुख रहेको विश्लेषकहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपाल विदेशमा जस्तै नेपालमा पनि आम सर्वसाधारणलाई डिजिटल बैंकिङको विकास गराउन आवश्यक भइसकेको सुझाव दिन्छन् । ‘विश्वका अन्य देशको तुलनामा नेपालको बैंकिङ प्रणाली अझै पनि कागजमा बढी केन्द्रित छ,’ उनले भने, ‘डिजिटल प्रणालीलाई जोड दिन सक्ने हो भने एकातिर सर्वसाधारणलाई सहज हुन्छ भने अर्कोतर्फ सेवा थप गुणस्तरीय हुन्छ ।’









प्रतिक्रिया दिनुहोस्