वीरेन्द्रनगरमा चार दिनमा एक घण्टा मात्रै खानेपानी आउने



वीरेन्द्रनगरमा खानेपानीको संकट थप गम्भीर बन्दै गएपछि अब उपभोक्ताहरूले चार दिनमा एक पटक मात्र पानी पाउने छन् । त्यो पनि एक घण्टाका लागि मात्रै पानी वितरण गरिने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

वर्षापछि वीरेन्द्रनगरको दृश्य
सुर्खेत, २४ असार ः लगातार दुई दिनको वर्षापछि सोमबार देखिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । मनसुनी वर्षासँगै कर्णाली प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ । तस्बिर ः सुरेश आचार्य÷रासस

नन्दराम जैशी । सुर्खेत ।

लामो समयदेखिको खडेरीका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पानीको समस्या झनै भयावह बन्दै गएको छ । खानेपानीका वैकल्पिक स्रोतका रूपमा प्रयोग हुँदै आएका इनार र कुवा समेत सुक्न थालेपछि स्थानीयवासी दैनिक जीवनयापनमै कठिनाइ भोग्न बाध्य भएका छन् ।

स्थानीयका अनुसार केही महिनाअघिसम्म सहायक स्रोतका रूपमा रहेका इनार र कुवाबाट पानी जुटाइँदै आएको थियो । तर वर्षा नहुँदा ती स्रोतहरूमा पानीको सतह घट्दै जाँदा अहिले धेरै स्थानमा इनारमा पनि पानी सुकेको छ । वीरेन्द्रनगरमा खानेपानीको संकट थप गम्भीर बन्दै गएपछि अब उपभोक्ताहरूले चार दिनमा एक पटक मात्र पानी पाउने छन् । त्यो पनि एक घण्टाका लागि मात्रै पानी वितरण गरिने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

संस्थाका अनुसार पानीका प्रमुख मुहानहरू सुक्दै गएपछि ९६ घण्टाको अन्तरालमा मात्रै धारामा पानी उपलब्ध गराउनुपर्ने अवस्था सिर्जना भएको हो । संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले खडेरीका कारण पानीको स्रोतहरूमा पानीको मात्रा अत्यन्तै घटेको जानकारी दिए। उपत्यकामा दैनिक करिब ३४७ लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्ने भए पनि हाल उपलब्ध स्रोतको कूल क्षमता घटेर ८३ लिटर प्रतिसेकेन्डमा सीमित भएको छ ।

‘यसअघि झुप्रा खोला, खरिबोरी खोला, इत्राम खोला, खोरखे खोला र दुन्दुरे खोलाबाट गरी कूल १६३ लिटर प्रतिसेकेन्ड पानी उत्पादन हुँदै आएको थियो,’ उनले भने, ‘तर हाल ती मुहानहरू सुक्दै जाँदा आपूर्ति कटौती गर्न बाध्य हुनुपरेको छ । मुहानहरूमा पानीको मात्रा निरन्तर घट्दै जाँदा आपूर्ति सीमित गर्नुपरेको हो ।’

उनका अनुसार वैकल्पिक स्रोतको व्यवस्था नभएसम्म समस्या दीर्घकालीन रूपमा रहने देखिन्छ । वीरेन्द्रनगरमा पछिल्ला वर्षहरूमा तीव्र सहरीकरणले पनि खानेपानी अभावलाई थप जटिल बनाएको उनको भनाइ छ । स्थानीयवासीका अनुसार प्रत्येक वर्ष चैत महिनादेखि सुरु हुने पानी संकट यस वर्ष झनै गम्भीर बनेको हो ।

खानेपानी संस्थाले सीमित स्रोतबीच पानी वितरण तालिका लागू गर्न बाध्य भएको जनाउँदै उपभोक्तामा परेको असुविधाप्रति क्षमायाचना पनि गरेको छ । खानेपानीको नियमित आपूर्ति नहुँदा सर्वसाधारण बिहान सबेरैदेखि पानी खोज्दै सार्वजनिक कुवा वा मुलमा धाउनुपर्ने अवस्था आएको छ । कतिपय स्थानमा सीमित पानीका लागि लाइन लाग्ने र विवादसमेत हुने गरेको स्थानीयले बताएका छन् ।

वीरेन्द्रनगर ३ तातापानीस्थित रहेको ठूलो बस्तीलाई झन समस्या भएको छ । त्यो क्षेत्रका स्थानीयवासी पतेनी धारमा मूलमा निर्भर छन् । तर त्यो मूल पनि पछिल्लो समय सुक्दै गए पनि बस्तीमा पानी अभाव झन् चुलिएको स्थानीय रत्ना जैसीले बताइन् । ‘पहिले धारामा पानी नआए पनि इनार र कुवाबाट काम चल्थ्यो, अहिले ती पनि सुक्न थालेपछि निकै समस्या भएको छ,’ उनले भनिन्, ‘सम्बन्धित निकायले समस्या समाधानका लागि वैकल्पिक स्रोतको खोजी र व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता छ ।’

वीरेन्द्रनगरमा बढ्दो जनसङ्ख्या र तीव्र सहरीकरणका कारण पानीको माग उच्च रहेको छ । तर खडेरीका कारण हरेक वर्ष सुक्खायाममा प्राकृतिक स्रोतहरू कमजोर बन्दै जाँदा आपूर्ति झनै चुनौतीपूर्ण बनेको हो ।

भेरी पम्पिङको काम तीव्र

वीरेन्द्रनगरको विद्यमान समस्या र आगामी २५ वर्षपछि वृद्धि हुने जनसङ्ख्यालाई प्रक्षेपण गरी कार्यान्वयनमा ल्याइएको भेरी पम्पिङ खानेपानी आयोजना निर्माणले गति लिएको छ । जग्गा भोगाधिकार, रूख कटानलगायत निर्माण पूर्वका तयारीका कार्यहरू सम्पन्न भएसँगै आयोजनाले पहिलो र दोस्रो प्याकेजका क्रियाकलापहरू एकैसाथ अघि बढाएको छ ।

संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा सञ्चालित यो आयोजना गत वर्ष भदौदेखि वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा कार्यान्वयनमा ल्याइएको छ । संघीय सरकारको ८०, प्रदेश सरकारको १३ र नगरपालिकाको ७ प्रतिशत लागत साझेदारीमा निर्माण हुने आयोजनाको कूल लागत ६ अर्ब रहेको छ । पहिलो प्योकजका लागि विनियोजित तीन अर्ब ५० करोड आठ लाखमध्ये हालसम्म ५८ करोड खर्च भएको छ भने करिब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो विश्व बैंकको ऋण सहयोगमा सञ्चालित परियोजना हो ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका प्रमुख कन्सल्टेन्ट इन्जिनियर रमेश अधिकारीका अनुसार पानी प्रशोधन प्लान्ट र अमृतडाँडामा ९० लाख लिटर क्षमताका तीन वटा रिजर्भ ट्यांकी निर्माणको काम सुरु भइसकेको छ । मुहान क्षेत्रको माटो परीक्षणपश्चात् भेरी नदी किनारमा अवस्थित इन्टेकमा १० मिटर अग्लो सेफ्टी पर्खाल लगाइनेछ ।

नदी सतहदेखि करिब ७ मिटर गहिरा दुई वटा इन्टेक निर्माण हुँदैछन् । इन्टेकदेखि करिब ४०० मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पहिलो प्याकेजअन्तर्गत इन्टेक निर्माण, प्रशोधन प्लान्ट, सात किमि लामो ६०० एमएम गोलाइका पाइपको प्रशारण लाइन पर्दछन् । त्यस्तै, ३०÷३० लाख लिटर क्षमताका तीन वटा रिजर्भ ट्यांकी, उपत्यका क्षेत्रमा पाइपलाइन विस्तार, जुम्ला रोडलाई आधार बनाएर पाँच ठाउँमा पम्पिङ सिस्टम जडान गर्न लागिएको छ ।

दोस्रो प्याकेजअन्तर्गत प्रत्येक घरधुरीमा पाइपलाइन विस्तार, धारा जडान तथा वितरण प्रणाली व्यवस्थापनका कार्यहरू पर्दछन् । आयोजनाले दोस्रो चरणका यी काम गर्नलाई ग्लोबल टेण्डर आह्वान पनि गरिसकेको छ । पहिलो प्याकेजअन्तर्गत पहुँच सडक निर्माण, बजार क्षेत्रमा ३५ मध्ये १६ किमि पाइप बिछ्याउने काम सम्पन्न भएको छ ।

दोस्रो प्याकेजअन्तर्गत झण्डै ८ सय किमि लम्बाइ पानी वितरण गरिने, झुप्रा खानेपानी आयोजनाको शुद्धीकरण, इत्राममा ट्यांकी निर्माण लगायतका कामहरू हुनेछन् । पहिलो प्याकेज अन्तर्गतका कार्यहरू चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गरिरहेको छ ।

आयोजनाले २०२७ भित्र भेरीको पानी सुर्खेत उपत्यका ९वीरेन्द्रनगर०मा ल्याउने गरी दुई चरणका कामहरू एकैसाथ अघि बढाएको हो भने भेरीको पानी लिफ्टिङका लागि कम्तीमा दुईदेखि तीन मेगावाटसम्म विद्युत् आवश्यक पर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार