जाजरकोट ।
जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यार्थी सङ्ख्या वृद्धि गर्ने उद्देश्यले घरदैलो अभियान सुरु गरेका छन् । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरूले भर्ना दर बढाउने लक्ष्यसहित अभियान अघि बढाएका हुन् । भेरी नगरपालिका–१३ कुदुस्थित भगवती माध्यमिक विद्यालयले मंगलबारदेखि औपचारिक रूपमा अभियान सुरु गरिएको विद्यालयकी शिक्षिका ज्योति कार्कीले जानकारी दिइन् ।
उनका अनुसार विद्यार्थी सङ्ख्या घट्दै गएको तथा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । उनले नजिकै निजी (बोर्डिङ) विद्यालय तथा अन्य प्राथमिक विद्यालयहरूको प्रतिस्पर्धाका कारण विद्यार्थी सङ्ख्या कम भएको बताइन् । घरघरमै पुगेर अभिभावकसँग छलफल गर्दै विद्यार्थी भर्ना गरिरहेको उनको भनाइ छ ।
‘विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरू मिलेर पहिलो चरणमा एक वडामा अभियान सञ्चालन गरेका छौँ,’ उनले भनिन्, ‘अभियानको पहिलो दिनमै गत वर्ष भर्ना नभएका करिब सात जना विद्यार्थी पुनः विद्यालयमा भर्ना भएका छन् ।’ विद्यालयले आगामी दिनमा अन्य वडाहरूमा पनि अभियान विस्तार गर्ने योजना बनाएको छ ।
घरदैलो कार्यक्रममार्फत अभिभावकहरूलाई विद्यालयमा उपलब्ध गुणस्तरीय शिक्षा, सरकारी सुविधा तथा छात्रवृत्तिबारे जानकारी दिइएको छ। शिक्षिका कार्कीका अनुसार धेरै अभिभावक नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा र विभिन्न छात्रवृत्तिबारे अनभिज्ञ छन् । सोही कुराको अवगत गराउन पनि अभियानमार्फत सचेतना फैलाइएको उनले बताइन् ।
सामुदायिक विद्यालयप्रतिको अभिभावकको घट्दो विश्वास पुनःस्थापित गर्न पनि यस्तो पहल आवश्यक छ । गत वर्ष उक्त विद्यालयमा ३१९ जना विद्यार्थी अध्ययनरत थिए भने चालू शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या बढ्ने अपेक्षा विद्यालयले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्