नया“ विद्यार्थी र हाम्रो भूमिका



उनीहरूप्रति पुराना विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गरी पुराना विद्यार्थीहरूका निम्ति नयाँ विद्यार्थी भनेका आजका पाहुना र भोलिदेखिका असल मित्र हुन भन्ने कुराको बोध गराउँदै एकअर्कामा असल व्यवहार प्रस्तुत गर्न प्रेरित गर्न सक्नुपर्दछ । कलेजहरूमा नयाँ विद्यार्थीहरूको स्वागत र पुराना विद्यार्थीहरूको बिदाइ कार्यक्रम सञ्चालन गरेजस्तै विद्यालय तहमा पनि साना कक्षादेखि नै विद्यार्थीहरूको आपसमा मित्रता, परिचय र प्रतिभा पहिचानको पाटोलाई सशक्त बनाउनका लागि यस प्रकारका कार्यक्रमको सञ्चालनमा विद्यालयले पहल गर्नु पनि त्यत्तिकै आवश्यक छ ।

जीतबहादुर शाह

प्राविधिक विषय अध्ययन गर्ने लालसाले विक्रम कक्षा आठ उत्तीर्णपछि कक्षा ९ अध्ययन गर्नका लागि प्राविधिक विषय पढाइ हुने विद्यालयमा भर्ना हुन्छन् । नयाँ विद्यालयमा जाने क्रममा उनका पनि आफ्नै चाहनाहरू थिए । त्यहाँ पनि पुरानो विद्यालयमाजस्तै शिक्षक र साथीहरूले मन पराउने छन् । परिचय गर्दै मित्रता बढाउने छन् । शिक्षकहरूले पनि पुरानो विद्यालयमाजस्तै आफूलाई विक्रम भनेर पूर्वपरिचित झैँ गरी माया गर्दै बोलाउने छन् आदि आदि । तथापि विक्रमले चाहना गरेका कुनै कुरा पनि उनले नयाँ विद्यालयमा पाएनन् । शिक्षकहरूले गर्ने व्यवहार उनले अपेक्षा गरेअनुसारको पाएनन् । कतिले त उनलाई काले भनेर बोलाउन समेत पछि परेनन् । कक्षाका पुराना विद्यार्थीहरूले समेत उनलाई हेपेको महसुस हुन थाल्यो । त्यसकारण उनले त्यो विद्यालय छोड्ने निर्णय गरे र दोस्रोे दिनभन्दा तेस्रोे दिन उनी त्यो विद्यालयमा गएनन् । भर्ना गर्दा आमाले सकिनसकी विद्यालयमा सहयोग गरेको पुगनपुग तीन हजार रकम उनीहरूका निम्ति काम लागेन र त्यत्तिकै खेर गयो । अंशुलाई पनि नयाँ विद्यालयमा त्यति सहज छैन । उनलाई आफू अध्ययन गरिरहेको विद्यालय विविध कारणले मन नपरेपछि अर्को नयाँ विद्यालयमा कक्षा ८ मा भर्ना भएकी छिन् । अँशु छोरी मान्छे भए पनि हाम्रो पुरातन चिन्तनअनुसार रुन्ची नभएर हक्की छन् । विद्यालयमा गएको पहिलो दिन नै उनको कक्षाकै एकजना साथीसँग मुक्कामुक्की परिहाल्यो । तथापि कक्षामा उनलाई सपोर्ट गर्नेहरू भन्दा तमासा हेर्नेहरू बढी भेटिए । कक्षा एकैछिन पनि खाली भयो भने केटाहरूले उनीलगायत केटीहरूलाई लक्षित गरेर मन नपर्ने शब्दहरू उच्चारण गरेको महसुस हुन्छ । उनीसँगै टाँस्सिएर हिँड्न खोजेको आभास हुन्छ । तथापि उनलाई कसैले हेप्न भने सकेको छैनन् । उनले कक्षामा उनीप्रति हुने प्रतिकूल व्यवहारहरूको सामना गर्दै आफ्नो अध्ययनलाई जारी राखेकी छिन् । उनलाई त्यो विद्यालय छोड्ने एकरत्ति पनि मन छैन । त्यही विद्यालयबाटै आफ्नो जीवन उज्यालो बनाउने उनको रहर छ । तै पनि आफूले विद्यालयमा व्यहोर्नु परेका सबै कुराहरू कहिलेकाहीँ आमालाई भन्छिन् र आमालाई समेत भावुक हुन बाध्य बनाउँछिन् ।

मेरो आफ्नै छोरीको विद्यालयका सुरुवातीका दिनहरू पनि कम चुनौतीपूर्ण थिएनन् । तीन वर्षकी छँदा हामीले उनलाई नर्सरी तहमा भर्ना गरिदियौँ । उनी सुरुको दिन पुतलीजस्तै भएर विद्यालय जान पाउँदा खुसी देखिए पनि त्यसपछि भने हामीले अपेक्षा गरेजस्तै खुसी हुन सकिनन् बरु विद्यालय जाने समय भयो भने विभिन्न बहाना गरेर विद्यालय नजानका लागि हामीसँग अनुनय विनय गर्थिन् भने हामी उनलाई फकाइफुल्याई विद्यालय पठाउँथ्यौँ । विद्यालयबाट फर्केपछि मलाई घरमा किताबमा घोप्टो परेर अध्ययन गर्न लागेको देखिन् भने उनी मेरो पछाडितिर आएर सानो कुनै लट्ठीजस्तै बस्तुले मेरो पिठ्यूमा हिर्काउँदै तोतेबोलीमा भन्थिन्– ‘राम्रोसँग पढ् । नत्र कुटाइ खान्छस् । थाहा छ कि छैन ?’ उनले विद्यालयबाट फर्केर मसँग यस्तो व्यवहार गर्न थालेपछि उनलाई विद्यालयले गर्ने व्यवहारको बारेमा अनुमान गर्न मलाई कुनै गाह्रो भएन । उनी किन विद्यालय नजानका लागि हामीसँग अनुरोध गर्छिन् त्यो कुराको पहिचान गर्न पनि कुनै असजिलो भएन । त्यसपछि भने हामीले हाम्रो छोरीलाई त्यो विद्यालयबाट निकालेर अर्को विद्यालयमा राख्यौँ । विद्यालयप्रतिको उनको सोचलाई सकारात्मक बनाउन हामीलाई पछिसम्म पनि हम्मे हम्मे भयो । उल्लिखित दृष्टान्तहरूको अध्ययन गर्दा यस्तो लाग्छ कि कुनै बस्तु र घटनाले कुनै व्यक्ति विशेषलाई पारेको पहिलो प्रभाव नै अन्तिम प्रभाव पनि हो भनेझैँ बालबालिकाका निम्ति विद्यालयका आरम्भका दिनहरू पनि हरेक हिसाबले प्रभावशाली हुन्छन् । कतिपयले त विद्यालयका आरम्भका दिनहरू अनपेक्षित भएकै कारणले फेरि कहिल्यै पनि विद्यालयमा पाइला नटेक्ने गरी विद्यालयलाई बाइबाइ गर्छन् र आफ्नो जीवनलाई बरबाद बनाउँछन् । कति कोसिस गर्दा पनि उनीहरूको मन विद्यालयतिर फर्किँदैन । यसको विपरीत कतिपय विद्यालय जान त्यति रहर नगर्ने स्वभावका बालबालिकाहरूले विद्यालयका आरम्भका दिनहरूमा उनीहरूले आफूले चाहेको जस्तो व्यवहार विद्यालयबाट पाए भने उनीहरू विद्यालय जानका लागि स्वाभाविक तरिकाले उत्सुक र उत्प्रेरित हुन्छन् । यसले गर्दा उनीहरूको सिकाइ र विद्यालय शिक्षाबाट हुने उपलब्धि पनि अनपेक्षित किसिमबाटै बढोत्तरी हुने गर्दछ ।

सुरुमा विद्यालय जाँदा वा अर्को कुनै नयाँ विद्यालयमा भर्ना हुँदाको विद्यार्थीको अवस्था भनेको नवजात शिशुकोजस्तै अवस्था हो । नवजात शिशु आमाको गर्भबाट यो धर्तीमा जन्मदा समायोजनमा चुनौतीहरू देखिन्छन् । जन्मेपछिको दुई हप्ताजतिको अवधि भनेको उनीहरूको निम्ति निकै संवेदनशील, जटिल र नाजुक अवधि हो । कतिपय नवजात शिशुहरू त समायोजनको समस्याका कारण जीवनको अर्को स्टेजमा पुग्न नपाई जीवन समाप्त गर्छन् । धेरैले यो अवधिमा समायोजनको क्रममा आफूले गर्भबाट ल्याएको वजन समेत घटाउँछन् । यस्तो अवस्थामा त्यस्ता नवजात शिशुलाई विशेष किसिमले हेरविचार गर्नु पर्ने हुन्छ । आमाको गर्भमा हुँदाको उसले पाएको वातावरणसँग सकेसम्म प्रतिकूल नहुने गरी बाह्य वातावरणको सिर्जना गरेर उसलाई क्रमशः बाह्य वातावरणसँग समायोजन गर्दै लिनु आवश्यक हुन्छ । यसप्रकारको गम्भीरता र संवेदनशीलता नयाँ भर्ना भएका विद्यार्थीहरूप्रति पनि विद्यालयले अपनाउनु आवश्यक छ । नयाँ विद्यालयमा आउँदा एक त विद्यार्थी कसैसँग परिचित नभएको कारण त्यसै पनि आफूलाई विभिन्न प्रकारले कमजोर महसुस गरेर आएको हुन्छ । त्यति हुँदाहुँदै पनि उसले आफू भर्ना हुने विद्यालयको बारेमा आफ्ना केही मान्यता र धारणाहरू बनाएर आएकोे हुन्छ र केही आशा र अपेक्षाहरू पनि बोकेर आएको हुन्छ । यही अवधिमा उसले आफ्नो परिवार र विद्यालयको वातावरण, आफ्नो पुरानो विद्यालय र नयाँ विद्यालयको वातावरण, आफ्ना पुराना दाँैतरीहरू र नयाँ दौँतरीहरूको बीचमा तुलना गर्न थाल्छ । यसका साथै उसले बोकेर आएका धारणा र अपेक्षाहरूको बारेमा पनि घोत्लिन थाल्छ । उसले चाहेजस्तो हुँदै गयो भने ऊ त्यो विद्यालयप्रति सकारात्मक हुन्छ र सिकाइ त्यहीअनुरुप सुधार हुँदै जान्छ । अन्यथा विद्यालय छोड्ने वा निरन्तरता दिने भन्ने बारेमा ऊ दोधारमा पर्छ । यही अवधिमा उसले विद्यालय छोड्ने निर्णय गरेर विद्यालयबाट भाग्नु भनेको हाम्रो शैक्षिक प्रणालीको असफलता हो । विद्यार्थीहरूले अध्ययनलाई निरन्तरता नदिनु र विद्यालय छाड्नुमा विविध कारणहरू जिम्मेवार भए पनि विद्यालयको वातावरण उनीहरूले सोचेअनुकूल हुन नसक्नु पनि एउटा प्रमुख कारण हो ।

विद्यालयको वातावरणलाई नयाँ विद्यार्थीको निम्ति हरेक हिसाबले अनुकूल बनाउने हो भने कक्षामा जाने हरेक शिक्षकले नयाँ विद्यार्थीहरूलाई उनीहरूको पृष्ठभूमिका बारेमा जानकारी हुनु आवश्यक छ । नयाँ विद्यार्थीहरूलाई विद्यालयको शौचालय, खानेपानी, पुस्तकालय, आचारसंहिता लगायतका विद्यालयले प्रदान गर्ने विविध सेवा र सुविधाहरूको अवस्थिति र प्रयोगको बारेमा अभिमुखीकरण गरिनुपर्दछ । उनीहरूका सवलताहरूको खोजी गरेर सम्मान र सम्प्रेषण गर्नु पनि त्यत्तिकै आवश्यक छ । विद्यालयमा हामीलाई माया गर्ने र सम्मान गर्ने मानिसहरू पनि छन् भन्ने कुराको नयाँ विद्यार्थीहरूलाई बोध गराउँदै सोको विश्वास जित्नु जरुरी छ । उनीहरूप्रति पुराना विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गरी पुराना विद्यार्थीहरूका निम्ति नयाँ विद्यार्थी भनेका आजका पाहुना र भोलिदेखिका असल मित्र हुन भन्ने कुराको बोध गराउँदै एकअर्कामा असल व्यवहार प्रस्तुत गर्न प्रेरित गर्न सक्नुपर्दछ । कलेजहरूमा नयाँ विद्यार्थीहरूको स्वागत र पुराना विद्यार्थीहरूको बिदाइ कार्यक्रम सञ्चालन गरेजस्तै विद्यालय तहमा पनि साना कक्षादेखि नै विद्यार्थीहरूको आपसमा मित्रता, परिचय र प्रतिभा पहिचानको पाटोलाई सशक्त बनाउनका लागि यस प्रकारका कार्यक्रमको सञ्चालनमा विद्यालयले पहल गर्नु पनि त्यत्तिकै आवश्यक छ । नवजात शिशुको अवस्थाजस्तै विद्यालयले सुुरुका दुई हप्ता मात्रै पनि नयाँ विद्यार्थीहरूका निम्ति विशेष ख्याल गरेर उनीहरूको उचित समायोजन र सम्मान हुने गरी कक्षाभित्र वा बाहिर क्रियाकलाप सञ्चालन गर्न सक्यो भने उनीहरूको नयाँ विद्यालयप्रतिको पहिलो प्रभाव सकारात्मक हुन्छ र यो प्रभावले उक्त विद्यालयमा रहँदासम्म मात्र होइन कि जुनसुकै शिक्षालयबाट शिक्षा आर्जन गर्दासम्म पनि सकारात्मक तरिकाले काम गर्दछ ।

यो कुरालाई विक्रम भर्ना भएको नयाँ विद्यालयले गम्भीर रूपमा स्वीकार गरेर कार्यान्वयन गरेको भए विक्रम त्यो विद्यालयको एउटा गतिलो विद्यार्थी भएर त्यही विद्यालयको गहना हुन सक्थ्यो पनि होला । चुनौतीहरूको डटेर सामना गर्दै अघि बढ्ने प्रवृत्ति अंशुले आफूभित्र विकास गर्न नसकेको भए उनले आफ्नो आमालाई त भावुक बनाइन नै उनको त्यही विद्यालयबाट आफ्नो जीवन उज्यालो बनाउने धोको समेत अधकल्चो हुन्थ्यो होला । विद्यालय शिक्षामा यस्ता पात्रहरू धेरै छन् । कसैले विद्यालय छोड्छन् त कसैले आफैँभित्रबाट साहस बटुल्दै सामना गरेर अघि बढ्छन् । यो सवालमा विद्यालयले अलिकति मात्रै पनि विवेक प्रयोग गरिदियो भने उज्यालो जीवनको खोजीमा हिँडेका प्रकृतिका सुन्दर उपहारहरूको जीवन अँध्यारो हुनबाट जोगिन्छ भन्ने लाग्छ । शिक्षकहरूले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई समय मिलाएर केयर र सेयर गर्ने काममा कत्ति पनि कञ्जुस्याइँ गर्नु हुँदैन । बेथानी हिलले भनेका पनि छन् ः ‘तिम्रो कक्षामा आउने हरेक विद्यार्थीहरूले केही न केही कथा बोकेर आएका हुन्छन् । ती कथाहरूलाई तिमीले बुझ्नु आवश्यक छ । बुझ्यौ भने ती कथाहरूको केही अर्थ लाग्नेछ जुन अर्थ तिम्रो शिक्षणमा सुधार र पेसागत विकासका लागि कोसेढुङ्गाको रूपमा सावित हुनेछ ।’ यसरी कथा बोकेर आएका विद्यार्थीहरूको कथा नै नबुझेर उनीहरूका निम्ति कक्षा लिन थाल्यौँ भने हाम्रो शिक्षण सिकाइ क्रियाकलाप इन्टरभलपछि मात्र फिल्म हेर्न गएजस्तो अस्पष्ट र गञ्जागोल हुनेछ । भन्नुको मतलब विद्यार्थी अर्कै कथा बोकेर आएको हुन्छ भने शिक्षकले अर्कै कथाको बारेमा कुरा गरिरहेको हुन्छ । कथाको छेउटुप्पो मिलेन भने यहीँनेरबाट विद्यार्थीको निम्ति विद्यालय र शिक्षक मन नपर्ने पदार्थको रूपमा परिणत हुन्छन् । त्यसैले शिक्षकले आफूसँग नयाँ र परिचित हुन बाँकी विद्यार्थीहरूसँग अरुसँग भन्दा एक्लै र अलग्गै समय मिलाएर सुरुसुरुमा उनका भावना र घरायसी परिवेशको बारेमा जानकारी लिनु अति आवश्यक हुन्छ । उनीहरूको रुचि र स्वभावहरूको बारेमा पनि जानकारी लिनु त्यत्तिकै जरुरी हुन्छ । शिक्षक र विद्यालयले यो कुरामा गम्भीर भएर क्रियाकलाप गर्न सक्यो भने विद्यार्थीका निम्ति नयाँ विद्यालय पुरानो भन्दा झन् रमाइलो विद्यालयको रूपमा परिणत हुन सक्नेछ र नयाँ विद्यालय जानु भनेको कहिल्यै नहरेको चलचित्र हेर्नका लागि इन्टरभलपछि हलमा प्रवेश गरेजस्तो पनि जरुर हुनेछैन । नहोस् पनि । यसका लागि शिक्षक, बालबालिका, अभिभावक, विद्यालयका व्यवस्थापकलगायत शिक्षाका सम्पूर्ण सरोकारवालाहरूमा यथाशक्य ध्यान पु¥याउनु हुनेछ । ध्यान पुगोस् पनि । यसका लागि हार्दिक शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार