भेरी अस्पतालको सेवा सुचारु



नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको मृत्युको सम्बन्धमा भएको विवादपछि प्रभावित भएको अस्पतालको सेवा पुनः सुचारु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको मृत्युपछि आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै विरोध सुरु गरेका थिए ।

विवाद बढ्दै जाँदा बिरामीका आफन्तहरूले मेसु डा. निराजन सुवेदीमाथि हातपातको प्रयास तथा अभद्र व्यवहार गरेका थिए भने सामाजिक सञ्जालबाट मृतकका आफन्त बताउने एक व्यक्तिले ‘खुट्टा काट्ने’ र ‘ज्यान लिने’ धम्की दिएका थिए । उक्त घटनापछि चिकित्सकहरूले इमरजेन्सीबाहेकका सेवाहरू बहिष्कार गरेका थिए ।

अस्पतालले समेत प्रेस नोट जारी गर्दै अस्पतालका सेवाहरू प्रभावित भएका बताएको थियो । अस्पताल तथा चिकित्सकहरूले हातपात तथा अभद्र व्यवहार गर्ने र धम्की दिनेहरूलाई कारबाही नभएसम्म र सुरक्षाको वातावरण नबनेसम्म सेवामा नफर्किने अडान लिएका थिए ।अस्पतालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम कारबाहीका लागि प्रशासनमा जाहेरी समेत दिएको थियो ।

त्यसक्रममा धम्की दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएसँगै बुधबार मध्यान्हपछि अस्पतालमा ओपिडी सेवा पनि सुचारु भएको थियो ।
अस्पतालले दिउँसो एक सूचना जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएका जानकारी दिँदै केही मागहरू पनि अघि सारेको थियो । अस्पतालले दोषीमाथि कडा कारबाही गर्न, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई २४ घण्टाभित्र पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन, सामाजिक सञ्जालमा राखिएका गाली–गलौजका भिडिओहरू हटाउन माग गरेको थियो ।

साथै उक्त सूचनामा अस्पताल परिसरभित्र फोटो भिडिओ खिच्न अस्पताल प्रशासनको स्वीकृति अनिवार्य लिनुपर्ने पनि भनिएको थियो । फोटो भिडिओ खिच्ने सम्बन्धमा अस्पतालको भनाइमाथि प्रश्न उठेपछि अस्पतालले पत्रकारलाई परिचयपत्रका आधारमा र अरुलाई अस्पताल प्रशासनको स्वीकृतिमा फोटो भिडिओ खिच्न पाइने भन्दै अर्काे सूचना पनि जारी गरेको थियो ।

अस्पतालले सूचनामा उल्लेखित मागहरू पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ । मंगलबारदेखि ओपीडी लगायतका सेवा ठप्प हुँदा पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा चिनिने भेरी अस्पतालमा उपचारका लागि टाढाबाट आएका बिरामीहरू मर्कामा परेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार