पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘दशौँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ । यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारेर मसान्तमा आयोजना गर्न लागिएको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।
मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर (एमबी आस्था)का अनुसार पोखरा इभेन्ट सेन्टरमा हुने उक्त कार्यक्रममा ९ विधामा अवार्ड प्रदान गरिनेछ। हिमश्री फुड्स प्रालिको उत्पादन ‘रारा तयारी चाउचाउ’ मुख्य प्रायोजक रहेको कार्यक्रममा वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ÷क्लब, स्पेसल अवार्ड र उत्कृष्ट खेल पत्रकार गरी कूल ९ विधामा सम्मान गरिनेछ ।
यस वर्षदेखि ‘पिपुल्स च्वाइस’ र ‘स्पेसल अवार्ड’ थप गरिएको छ । पिपुल्स च्वाइस अवार्डका लागि ‘गुरुङ गहना घर’ र स्पेसल अवार्डका लागि ‘नेलम्बो नेपाल’ले प्रायोजन गरेका छन् । खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीहरूको मनोबल उच्च राख्ने उद्देश्यसहित विसं २०७२ सालदेखि मञ्चले यो अवार्ड कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।
कार्यक्रमलाई भव्य बनाउन अध्यक्ष घर्तीमगरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले रहेका छन् । यस्तै, विभिन्न उपसमितिहरू समेत गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको मञ्चले जनाएको छ । यस वर्षको अवार्डमा मुख्य प्रायोजकका रूपमा हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको छ भने सहप्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल छन् ।
भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुप रहेका छन् ।कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिकालगायत विभिन्न स्थानीय तह तथा विदेशस्थित संघसंस्थाहरूले सहयोग गरेका छन् । कास्कीबाट सुरु भएको यो मञ्च हाल गण्डकी प्रदेशकै एक सशक्त र स्वायत्त संस्थाका रूपमा स्थापित भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्