वर्षा बाधक बन्दा डिएलएस मेथडमा ओमानसँग नेपालको हार



काठमाडौँ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपालमाथि डिएलएस मेथडमा १०२ रनको विशाल जित निकालेको छ । ओमानले दिएको २०६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा त्यसपछि खेल नहुँदा नेपाल पराजित भयो । खेल रोकिनुअघि गुल्सन झा १४ रन र सोमपाल कामी २ रन बनाएर खेलिरहेको थिए । त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६० रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने आसिफ शेखले १९ रन बनाउन सके ।

भीम सार्कीले ५६ बलमा २६ रन बनाए । रोहित पौडेल १० रन, बसिर अहमद १ रन र आरिफ शेख १४ रन बनाएर आउट भए ।बलिङमा ओमानका नदीम खानले ३ विकेट लिए भने सकिन अहमदको नाममा २ विकेट रह्यो। टस जितेर ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो । ओमानका लागि कप्तान तथा ओपनर जतिन्दर सिंहले शतक प्रहार गरे । उनले १३० रन बनाउने क्रममा ९६ बल खेलेर १५ चौका र ५ छक्का प्रहार गरे ।

उनले पहिलो विकेटका लागि आशिष ओडेडरासँग ८० रनको साझेदारी गरे । आशिषले २३ रन बनाए । जितेन रामानन्डीले ४३ रन, आर्यन विष्टले ३५ रन र हमदा मिर्जाले ३० रन बनाए । बलिङमा नेपालका सोमपाल कामीले चार विकेट लिए । उनले नौ ओभरमा ५९ रन खर्चिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिन सफल भए ।

यसपटकको लिग–२ मा नेपालको प्रदर्शन राम्रो छैन । सहभागी आठ टोलीमध्ये नेपाल २२ खेलबाट १४ अंक जोड्दै पुछारबाट दोस्रो अथवा सातौँ स्थानमा छ । ओमान भने राम्रो स्थितिमा छ । ओमान २६ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार