बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल हजारौँ नागरिकको जीवन बचाउने रिफरल अस्पताल हो । यो अस्पतालमा नेपालका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित भारतीय नागरिकहरू समेत उपचार गराउन आउने गर्दछन् । दैनिक हजारौँ नागरिकको स्वास्थ्य उपचार हुँदै आएको अस्पतालमा विभिन्न सेवा सुविधाहरू रहेका छन् । अस्पतालले आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यो अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । पश्चिम नेपालको प्रेषण अस्पतालको रूपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकहरूको आशा र विश्वास समेत बढ्दै गएको छ । १३४ वर्ष पुरानो आफ्नो इतिहास बोकेको यस अस्पतालले आम नागरिकलाई विभिन्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै विशिष्टीकृत अस्पतालका रूपमा विकास गरिरहेको छ । गत वर्षदेखि अस्पतालमा लुम्बिनी प्रदेशमै पहिलोपटक मानव अंग (मृगौला) प्रत्यारोपण सेवा समेत सुरु गरेर मृगौलापीडित नागरिकहरूलाई सरल रूपमा सेवा प्रदान गरिरहेको छ । यसले गर्दा मृगौला रोगका बिरामीहरू उपचारका लागि भारतका विभिन्न अस्पताल तथा काठमाडौँसम्म लाखौँ रूपैयाँँ खर्च गरेर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । तर अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा सुविधाका साथै सरकारद्वारा प्रदान गरिएका विभिन्न सहुलियत सेवा प्रवाह हुँदाहुँदै पनि अस्पताल व्यवस्थापन केही कमजोरी देखिएका घटनाहरू केहि दिनयता देखिएका छन् ।
यसले अस्पतालको सुरक्षा व्यवस्था तथा आन्तरिक व्यवस्थापन कति कमजोर छ भन्ने कुरा प्रष्ट हुन्छ । अस्पतालमा पछिल्ला समयमा बिरामी र बिरामीका कुरुवाहरूका नगद तथा मोबाइल चोरी हुने, अस्पताल परिसरबाट सेवाग्राहीका मोटरसाइकहरू चोरी हुने लगायतका घटनाहरू हुँदै आएका देखिन्छन् । केही दिनअघि बाहिर आएको घटनाले त झनै गम्भीर बन्नुपर्ने अवस्था देखाउँछ । अस्पतालमा कार्यरत एक कर्मचारीले उपचार गराउन आएका बिरामीको सुनका गहना नै चोरी गरेर बिक्री गरिसकेको अवस्था पाइएपछि अस्पतालको सुरक्षा व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा गरेको छ । अस्पतालले आन्तरिक सुरक्षा व्यवस्थामा कडाइ गर्नुका साथै कर्मचारीहरूलाई नैतिक पाठ सिकाउन जरुरी छ । अस्पतालका अनुसार विभिन्न समयमा हुने गरेका त्यसप्रकारका घटनामा संलग्न कर्मचारीहरूमाथि छानबिन गरि उनीहरूलाई नोकरीबाट निकालिएको छ । त्यतिमात्र गरेर अस्पतालको शाख जोगाउन पक्कै सकिँदैन् । अस्पतालमा कार्यरत तल्लो तहका कर्मचारी होस् या चिकित्सक नर्सहरू नै होउन् । उनीहरू सबैले जान अन्जानमा गरेका गल्ती कमजोरीहरूको नैतिक जिम्मेवारी अस्पताल नेतृत्वको नै हुने गर्दछ । यो सर्वमान्य नियम हो । हरेक कार्यालय वा संघसंस्थामा हुने सकारात्मक वा नकारात्मक दुवै पक्षको जिम्मेवारी नेतृत्वको काँधमा आउने गर्दछन् ।
अस्पतालमा उपचार गराउन जाने सर्वसाधारण नागरिकहरूमाथि अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सक, डाक्टर, नर्स लगायतबाट असभ्य भाषा प्रयोग हुने, भनेको नसुन्ने, बिरामीको तत्काल रेस्पोन्स नगर्ने लगायतका आरोपहरू समयसमयमा अस्पतालप्रति नागरिकहरूले लगाउँदै आएका छन् ।
यसप्रति पनि अस्पताल प्रशासन गम्भीर हुनु आवश्यक देखिन्छ । असल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहे पनि कतिपय व्यवहारिक पक्षका कारण अस्पताल कहीँ न कहीँ चुकेको देखिन्छ । यसप्रति पनि अस्पताल प्रशासन सजग हुन र सचेत हुन जरुरी छ । अस्पतालमा उपचार गराउन आउने बिरामीदेखि उनीहरूका कुरुवाहरूसँग अस्पताल कर्मचारी, चिकित्सक, डाक्टर, नर्सहरूले शिष्ट भाषाको प्रयोग, तत्काल रेस्पोन्स लगायतका व्यवहारिक क्रियाकलापहरू सकारात्मक होस् भन्ने आम नागरिकहरूले अपेक्षा गरेका हुन्छन् । अस्पताल प्रशासनले यी व्यवहारहरूलाई पनि सुधार गर्न जरुरी देखिन्छ । अस्पतालभित्र नै बिरामीको गरगहना चोरी भएको घटनाले अस्पतालको आन्तरिक सुरक्षा व्यवस्था फितलो रहेको विषय सतहमा आएको देखिन्छ । यस किसिमका घटनालाई न्यूनीकरण गर्नका लागि सर्वसाधारण पनि चनाखो हुन जरुरी रहेको छ । अगामी दिनमा अस्पतालको सुरक्षा र कर्मचारीमाथि थप कडाइका साथ निगरानी गर्न आवश्यक देखिन्छ । सयौँ वर्ष पुरानो अस्पतालको शाख जोगाइराख्नका लागि अस्पताल नेतृत्व गम्भीर बन्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्