व्यापार घाटा साढे १२ खर्बमाथि



काठमाडौँ।

आर्थिक वर्ष २०८२–०८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रूपैयाँबराबरको भएको छ । यस्तो घाटा गत आवको सोही अवधिमा ११ खर्ब २१ अर्ब रूपैयाँ थियो । सोमबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकनुसार, चालू आवको चैतसम्ममा नेपालको कूल व्यापार घाटा १३.०४ प्रतिशतले बढेको छ ।

आयातभन्दा निर्यातको आकार धेरै कम छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यसपालि निर्यातको वृद्धिदर केही उत्साहजनक देखिए तापनि व्यापार घाटाको अंक बढ्दै गएको छ । यो अवधिमा नेपालको निर्यात व्यापार गत वर्षको तुलनामा १८.४६ प्रतिशतले बढेर दुई खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रूपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निर्यात एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख रूपैयाँ थियो ।

आयात व्यापारमा पनि १३.८२ प्रतिशतको वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रूपैयाँ पुगेको छ । गत वर्षको नौ महिनामा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रूपैयाँबराबरको वस्तु आयात भएको थियो । आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च देखिएकाले आयात–निर्यात अनुपातमा ३.९२ प्रतिशतले सुधार आई ६.६९ मा झरेको छ ।

यसले गत वर्ष ६.९६ रूपैयाँको आयात गर्दा एक रूपैयाँको निर्यात हुने गरेकामा यसपालि उक्त अनुपात केही घटेको छ । यो अवधिमा नेपालको कूल वैदेशिक व्यापार १४.४० प्रतिशतले बढेर १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रूपैयाँ पुगेको छ । कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा केही सुधार भई १३.०१ प्रतिशत पुगेको छ ।

आयातको हिस्सा सामान्य घटेर ८६.९९ प्रतिशत कायम भएको छ । भन्सार विभागको तथ्यांकले नेपालको वैदेशिक व्यापारको आकार विस्तार भइरहेको र निर्यातको हिस्सामा क्रमिक सुधार भएको देखाएको छ । तर, ठूलो अंकको व्यापार घाटा अझै अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार