नेपाल र भारत खुला सीमा क्षेत्र भएका देश हुन् । विश्वका अन्य देशका अन्तर्राष्ट्रिय सीमाहरूमा तारबार तथा पर्खाल रहे पनि नेपाल र भारतबीचको सीमा क्षेत्र भने खुला छन् । इतिहासदेखि वर्तमानसम्म नेपाल भारतबीच सांस्कृतिक, पारम्पारिक, वैवाहिक, व्यापारिक तथा अन्य विभिन्न सम्बन्धहरू रहँदै आएका छन् । दुई देशबीच विभिन्न समानताहरू रहेका छन् । नेपालदेखि भारत र भारतदेखि नेपाल आउनजानका लागि पासपोर्ट भिसा केहीको पनि आवश्यकता पर्दैन् । खुला सिमानाका कारण सकारात्मक फाइदा पनि छन् भने नकारात्मक घाटाहरू पनि रहिआएका पाइन्छन् । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू एक देशबाट सजिलै अर्को देशमा जाने र आफ्नो अपराध लुकाउन सक्ने देखिन्छ र यसप्रकारका घटनाहरू बारम्बार पनि हुँदै आएका पनि छन् । त्यसैगरी भारतबाट नेपालमा रोजगारीको सिलसिलामा आउने भारतीयको सङ्ख्या पनि उल्लेख्य नै रहेको देखिन्छ भने नेपालबाट पनि अध्ययन एवम् रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा जाने नेपालीको सङ्ख्या पनि लाखौँमा रहेको छ । नेपाल र भारतका तराईका जिल्लाहरूमा जोडिएका खुला सिमानाका कारण नेपाली उपभोक्ताहरू भारतका बजारहरूमा जाने किनमेल गर्ने लगायतका कार्यहरू वर्षौँदेखि गरिँदै आएको पाइन्छ । विभिन्न जिल्लाका सीमा नाकाका नजिक भारतीय बजारमा नेपालीहरूले दैनिक रूपमा करोडौँ रूपैयाँ बरारबरको मालवस्तु खरिद गर्दै आएका पाइन्छन् ।नेपालीहरूको दिमागमा भारतका बजारमा नेपाली बजारभन्दा कैयौँ गुणा सस्तोमा सामानहरू पाइन्छ भन्ने प्रचलन रहिआएको छ ।
पछिल्ला केही दिनयता बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकालगायत अन्य जिल्लाका सीमा नाकामा पनि सय रूपैयाँभन्दा बढीको मालसामान नेपाल ल्याएमा अनिवार्य भन्सार गर्नुपर्ने नियमलाई कडाइका साथ लागू गर्न खोजिएको देखिन्छ । नेपाली रूपैयाँ हरेक दिन करोडौँका दरले भारतीय बजारमा जाने तथा नेपालका बजारमा व्यापार नहुने गर्दा नेपालको अर्थतन्त्रमा पनि पक्कै निरासा छाएको छ । सीमावारिको बजार सुनसान हुने र सीमापारिको बजार चलायमान हुनुले नेपालको अर्थतन्त्रमा वर्षौँदेखि घाटा लागिरहेको छ । विभिन्न सीमा नाका भएर दैनिक करोडौँ रूपैयाँको मालवस्तु बिनाभन्सार नेपाल भित्रिँदा अर्थतन्त्रमा घाटा अवश्य लाग्ने निश्चित नै हो । हाल आएर भन्सारमा जुन कडाइ गर्न खोजिएको छ । यसले नेपाली अर्थतन्त्रमा केही राहत अवश्य हुने आशा गर्न सकिन्छ र नेपाली बजार चलायमान हुने अपेक्षा गर्न सकिन्छ । तर नेपाली व्यापारीहरूले पनि गम्भीर रूपमा सोच्न जरुरी देखिन्छ । नेपालमा पनि कम मू्ल्य लागतमा मालवस्तु नेपाली उपभोक्तालाई उपलब्ध गराउन सके पक्कै पनि सिमानाका भारतीय बजारमा भिडभाड हुनेछैन् ।
नेपाली उपभोक्ताहरूको सधैँ एउटै आरोप रहेको पाइन्छ । नेपाली व्यापारीहरूले अत्यन्तै महंगोमा सामान बिक्री गर्दछन् भन्ने । यसप्रति नेपाली व्यापारीहरू तथा निजी क्षेत्रका नेतृत्व गर्ने संघसंस्थाहरू गम्भीर बन्न भने जरुरी छ । नेपाली बजार चलायमान बनाउन केवल नेपाली उपभोक्तालाई सीमापार जान रोकेर मात्र सम्भव हुँदैन्, यसलाई दीर्घकालीन बनाउन र निरन्तरता प्रदान गर्नका लागि नेपाली बजारमा सरल तथा एउटै किसिमको मूल्य हुनु जरुरी छ । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिनाभन्सार सामान भित्रिने क्रम बढेपछि नेपालगन्जलगायत अन्य भन्सार कार्यालयले सय रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई हालका दिनमा जसरी कडाइका साथ कार्यान्वयनमा ल्याएको छ, यसलाई दीर्घकालीन र निरन्तरता दिन जरुरी छ । सरकारको निर्देशन र स्थानीय प्रशासनको सक्रियतामा विगतमा फितलो बनेको उक्त व्यवस्थालाई पुनः प्रभावकारी बनाइनु सकारात्मक पक्ष हो । कडाइका साथ निगरानी बढाउँदा र उक्त नियमको कार्यान्वयन गराउँदा केही दिनयता अवैध रूपमा सामान ल्याउने क्रम पहिलेको तुलनामा घट्दै गएको देखिन्छ । यसका लागि आम उपभोक्ताहरूसम्म सकारात्मक चेतनामा वृद्धि पनि गराइनु आवश्यक छ । सरोकारावाला सबै पक्षले नेपाली उपभोक्तालाई मार नपर्ने गरी दीर्घकालीन रूपमा यसको व्यवस्थापन गर्न जरुरी छ । साथै आवश्यक भन्सार कडाइलाई निरन्तरता दिनु जरुरी देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्