मौरी बिनाको सुनसान स्याउ बगैँचा



जसरी मानिसलाई एउटा बच्चा जन्माउन पुरुषको शुक्रकोष र महिलाको अण्डकोष बिच समागम हुनुपर्दछ त्यसरी नै स्याउको गुणस्तरीय फल लाग्न परागशेचनको महत्व रहन्छ । स्याउमा परागशेचनको लागि उपयुक्त माध्यम मौरी हो तर यतिखेर मुस्ताङमा सेताम्मे बगैचा सुनशान छन् मौरीको भुनभुनावट सुन्न पाइएको छैन ।

सेर बहादुर रावत

यति खेर मुस्ताङका स्याउ बगैँचाहरुमा मकैका फुला फुरे जस्तै स्याउका फूलहरु फुलिरहेका मनमोहक दृश्य देख्न सकिन्छ । हिजो पूर्ण रुपमा नफक्रिदासम्म गुलावी रङका बडहरु आज खेतमा नै बजारको प्याकेट भित्र रहेका पपकर्नको झल्को दिइरहेका छन्। हावापनीगत वर्गिकरणका दृष्टिकोणले स्याउ एक शितोष्ण प्रदेशिय फलफुल हो। यसलाई शितोष्ण प्रदेशिय फलफूलको राजा उपनामले समेत चिनिन्छ। पौष्टिक महत्वका हिसाबले पनि स्याउ एकदमै महत्वपुर्ण छ। भनिन्छ नि “दिनको एकदाना खाउ, डाक्टरलाई टाढा धपाउ”, यसका साथै धार्मिक हिसाबले पनि स्याउ उत्तिकै महत्वपूर्ण छ कुनै बिहे, व्रतबन्ध, पूर्णिमा तथा पर्व हरुमा फलफूलको रुपमा स्याउलाई प्रयोग गर्ने चलन छ।

वानस्पातिक हिशाबले भन्नु पर्दा स्याउ Rosaceae परिवारमा पर्ने एक एक पतझड (deciduous) प्रकृति को बिरुवा हो। यसको यसको वैज्ञानिक नाम Malus pumila हो। भदौ असोजतिर स्याउको फल हार्भेस्ट गरी सकेपछि बिस्तारै पातहरु झर्दै जान्छन् र हिउँदमा पात बिनाको नाङ्गा हांगा मात्र रहन्छन् अर्थात स्याउको बोट सुषुप्त [Dormancy] अवस्थामा जान्छ। यस्तो अवस्थामा स्याउलाई तालिम तथा काँटछाँट गर्नुपर्दछ।स्याउ फूल फुल्न र फल लाग्नको लागि Chilling Hour (चिसो घण्टा) को आवश्यकता पर्दछ। बढि चिसो चाहिने जातहरुको लागि १००० घण्टा भन्दा बढी ७ डिग्रि सेल्सियस भन्दा कमको तापक्रम चाहिन्छ। यसरी स्याउको बिरुवा मंशिर देखि फागुन महिनासम्म सुषुप्त अवस्थामा रहन्छ फागुनको अन्ततिर बाहिरि वातावरणको तापक्रम बढ्दै जाँदा स्याउको बिरुवाका बडहरु फुल र पातको रुपमा विकास हुन सुरु गर्दछन्।स्याउ मुख्य गरेर चैत र वैशाख महिनामा फुल्ने गर्दछ।एउटा स्याउको स्पर बाट ४–६ वटा सम्म फुल फुल्दछन वरिपरि स्याउको फुल संगै बिचमा एउटा मुख्य फुल फुल्दछ जसलाई किङ ब्लुम भनिन्छ। यसरी स्याउको फुल नफक्रिदा सम्म गुलावी रङको स्पर देखिन्छ जसलाई एष्लप द्यगम क्तबनभ भनिन्छ पछि फक्रिएपछि सेतो रङमा बदलिन्छ। फूल पूर्ण रुपमा फक्रिएपछि स्याउका लागि परागशेचनको आवश्यकता पर्दछ।स्याउका कतिपय जातहरु स्वयमशेचन [Self-pollination] हुने खालका हुन्छन भने केहि जातहरुलाई परशेचनका [Cross pollination]  लागि अर्को भाले जातको स्याउको परागकण आवश्यकता पर्दछ।परशेचन हुने जातहरुका लागि केहि हदसम्म प्राकृतिक रुपमा हावा, पानी, जनावरले भाले बोटको परागकण पोथी फुलको स्टिग्मा सम्म त पुर्याउलान तर सबै ठाँउमा त्यातिले पर्याप्त नहुन सक्छ। त्यसका लागि मौरी उपयुक्त माध्यम हो।

अनुसन्धानबाट पत्ता लागेको तथ्यङकअनुसार प्रति हेक्टर स्याउ बगैचामा ६–८ मौरी घार राख्नु पर्दछ तर, यतिखेर मुस्ताङमा सेताम्मे स्याउका बगैचा सुनशान छन् मौरीको भुनभुनावट सुन्न पाइएको छैन। भौगोलिक कठिनता, मरुभुमिकरण तथा हावाको वेगका साथै हिउँदमा अत्याधिक चिसोको कारण मौरी बचाई राख्न नसकिने अवस्था छ । तथापी यस्तै चिसो, हावाको वेग हुने जिल्लाहरु हुम्ला, जुम्ला, मुगु, डोल्पामा हिउँदमा पनि मौरी बचाएको देख्न, सुन्न र पढ्न समेत पाइन्छ। जसकारण अब आगामि दिनहरुमा विभिन्न पद्दति तरिका अपनाएर भए पनि मुस्ताङमा मौरी पालन बढाउनुपर्ने देखिन्छ।त्यसका लागि आधुनिक घार मात्र उपयुक्त नहुनसक्छ तातो व्यवस्थापनका लागि परम्परागत मुढेघार, खोपे घार जसले हिउदमा तापक्रम व्यवस्थापन गर्दछ आहाराको लागि कृत्रिम आहारा चिनी चास्नीका साथै दीर्घकालिन रुपमा कर्णाली क्षेत्रमा हुने ढटेलो रोपेर हिउँदमा फुल फुलाउन सकिने सम्भावना देखिन्छ।

              लेखक रावत कृषि तथा पशु विकास कार्यालय मुस्ताङमा प्राविधिक सहायकका रुपमा कार्यरत छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार