नेपालमा पछिल्ला वर्षहरूमा गर्मीको तीव्रता उल्लेखनीय रूपमा बढ्दै गएको छ । विशेषगरी तराई तथा भित्री मधेस क्षेत्रमा गर्मीयाममा चल्ने तातो र सुक्खा हावा, जसलाई ‘लु’ भनिन्छ, जनस्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको छ । जलवायु परिवर्तनको प्रभावसँगै ‘लु’को अवधि, तीव्रता र असर बढ्दो क्रममा देखिएको छ, जसले समयमै सचेतना र व्यवस्थापनको आवश्यकता औँल्याउँछ । ‘लु’को मुख्य समस्या यसको प्रत्यक्ष स्वास्थ्य असर हो । अत्यधिक तापक्रम र तातो हावाका कारण मानिसहरूमा डिहाइड्रेसन, टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुने जस्ता लक्षण देखा पर्छन् । गम्भीर अवस्थामा ‘हीट स्ट्रोक’ समेत हुन सक्छ, जसले ज्यानै जान सक्ने जोखिम हुन्छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बाहिर काम गर्ने मजदुरहरू सबैभन्दा बढी जोखिममा पर्ने समूह हुन् । साथै, ‘लु’का कारण कृषि उत्पादनमा कमी, जनजीवनमा अवरोध र आर्थिक क्रियाकलापमा समेत नकारात्मक प्रभाव पर्ने गर्दछ । यस समस्याको समाधानका लागि बहुआयामिक प्रयास आवश्यक छ । पहिलो, सरकारले गर्मीयाम सुरु हुनुअघि नै ‘लु’सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालय, सञ्चारमाध्यम र स्थानीय तहमार्फत नागरिकलाई पर्याप्त पानी पिउने, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कने, हल्का र फिक्का कपडा लगाउने जस्ता सावधानीबारे जानकारी दिनु जरुरी छ ।
दोस्रो, स्वास्थ्य संस्थाहरूलाई ‘लु’सम्बन्धी उपचारका लागि तयारी अवस्थामा राख्नुपर्छ । तेस्रो, सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन र खुला स्थानको संरक्षणले तापक्रम घटाउन सहयोग पु¥याउन सक्छ । यसका अतिरिक्त, दीर्घकालीन रूपमा जलवायु परिवर्तन न्यूनीकरणका प्रयासहरूलाई प्राथमिकता दिनुपर्छ । स्थानीय तहहरूले ‘हीट एक्शन प्लान’ तयार गरी कार्यान्वयन गर्न सके ‘लु’को असर न्यून गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । ‘लु’ केवल मौसमी समस्या नभई जनस्वास्थ्य र विकाससँग जोडिएको गम्भीर चुनौती हो । यसलाई बेवास्ता गर्नु भविष्यका लागि झन् ठूलो जोखिम निम्त्याउनु हो । त्यसैले, सरकार, समुदाय र नागरिक सबैले सहकार्य गर्दै सचेत, सजग र जिम्मेवार बन्नु आजको आवश्यकता हो । लु को प्रभाव न्यूनीकरणका लागि सरोकारवालाले आवश्यक कार्यविधि बनाएर प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ । समयमै चिसो वातावरण कायम गर्ने, सफा तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरूको विशेष हेरचाह गर्ने उपायहरू अपनाउनु पर्छ । यसैगरी अस्पताल, विद्यालय तथा सार्वजनिक स्थानहरूमा आवश्यक पूर्वसावधानीको व्यवस्था मिलाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
जनस्वास्थ्यविद्का अनुसार ‘लु’ लाग्दा हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने, टाउको अत्यधिक दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने तथा अचेत हुनेजस्ता समस्या देखिन सक्छ । लु ले दीर्घकालीन असरसमेत पु¥याउन सक्छ, मस्तिष्क तथा रक्तप्रणालीमा समस्या गर्न सक्छ । विशेषगरी बालबालिका र वृद्ध उमेरका समूहलाई सबैभन्दा बढी असर गर्न सक्छ । पर्याप्त पानी पिउने, शीतल छहारीमा बस्ने, मदिरा तथा धुम्रपान गर्नुहुँदैन । ‘लु’ चल्दा वा अत्यधिक गर्मीको समयमा बालबालिकाको स्वास्थ्यमा असर पुग्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक छ । विश्व स्वास्थ्य संगठनले गरेको ‘नेपालमा तातो हावाको लहरको प्रवृत्ति र यसबाट उत्पन्न स्वास्थ्य जोखिमबारे जनधारणाको अध्ययन’ले जलवायु परिवर्तनका कारण गर्मीजन्य समस्या बढेको निष्कर्ष निकालेको छ । अध्ययनअनुसार जलवायु परिवर्तन, तीव्र सहरीकरण र वायु प्रदूषणका कारण तापक्रम बढ्ने प्रवृत्ति निरन्तर बढेको हो । यसले मानव स्वास्थ्यसँगै अन्य क्षेत्रमा पनि नकारात्मक असर पारिरहेको छ । बढ्दो तापक्रमसँग जुध्न जनचेतना अभिवृद्धि, स्वास्थ्य सुरक्षा उपायको विस्तार र स्थानीय तहमा अनुकूलन रणनीति सुदृढ गर्नुपर्ने आवश्यकता छ । तातो हावाको समस्याको समाधानका लागि स्वच्छ ऊर्जा प्रयोग, वन संरक्षण र दिगो विकासका नीति अपनाउनु अहिलेको आवश्यकता हो ।









प्रतिक्रिया दिनुहोस्