भेरी अस्पतालकै कर्मचारीले चोरे बिरामीका गहना



बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहा घर भएकी ५७ वर्षीया रति ओली पित्तथैलीमा भएको ३२ एमएमको पत्थरीको अपरेशनका लागि वैशाख ५ गते शनिबार नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएकी थिइन् । ६ गते उनको पित्तथैलीको अपरेशन पनि भयो । भारतको हिमाञ्चल बस्दै आएकी उनी उपचारकै लागि घर फर्किएकी उनको कानमा चार÷चार आना सुनका दुई वटा रिङ थिए । अपरेशन गर्दा सुनका गहनाहरू निकाल्ने गरिन्छ । तर उनको गहना अस्पतालका कर्मचारी र नर्सहरूले निकाल्न नसकेपछि टेपले बेरेर अपरेशन गरियो । अपरेशनपपश्चात् टेप निकाल्दा अस्पतालका कर्मचारीले सुन नरहेको भन्दै आफन्तलाई खबर गरे । त्यसपश्चात् विषयले चर्काे रुप लियो । बिरामीका आफन्तले अस्पताल प्रशासनलाई सुनबारे छानबिन गर्न माग गरेपछि प्रहरी बोलाएर अनुसन्धान गरियो । अन्ततः उक्त सुन अस्पतालकै ती कर्मचारीले लगेर पसलमा बेचिसकेको अवस्थामा प्रहरीले फिर्ता ल्यायो । अहिले अस्पतालका सहयागीको रूपमा कार्यरत ती कर्मचारी प्रहरी हिरासतमा छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारीले नै बिरामीको सुनको गहना चोरी गरेको, बिरामीका आफन्तसँग अनुचित रकम मागेको र बिरामीको कुरुवा किशोरीलाई दुव्र्यवहारको प्रयास गरेको पाइएको छ । अस्पतालमा सहयोगीको रूपमा कार्यरत एक कर्मचारीले बिरामीको अपरेशन गर्ने क्रममा कानमा लगाएको चार आनाको गहना नै चोरी गरेर बजारमा बेचिसकेको पाइएको छ ।

ती कर्मचारीमाथि बिरामीका आफन्तहरूले प्रहरीमा चोरी र अनुचित रकम माग गरेको भन्दै जाहेरी दिएका छन् भने प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ती कर्मचारीले बिरामीकी छोरी १४ वर्षीया किशोरीलाई प्रलोभन दिँदै एकान्त कोठामा जाउँ भनेर दुव्र्यवहार गर्न खोजेको पाइएको छ ।

यद्धपि यस विषयमा आफन्तहरूले प्रहरीमा जाहेरी दिएका छैनन् । बिरामीका आफन्त रामबहादुर पुनले ती कर्मचारीले किशोरीमाथि गर्न खोजेको दुव्र्यवहारको विषय सबैभन्दा गम्भीर भए पनि प्रहरीमा जाहेरी दिँदा प्रमाण पु¥याउनुपर्ने लगायतको झन्झटका कारण उक्त विषय नखुलाएरै जाहेरी दिइएको बताए । त्यसरी अस्पतालमै गहना चोर्ने कर्मचारी करारमा कार्यरत सहयोगी विकास वाल्मिकी हुन् ।

बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहा घर भएकी ५७ वर्षीया रति ओली पित्तथैलीमा भएको ३२ एमएमको पत्थरीको अपरेशनका लागि वैशाख ५ गते शनिबार नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएकी थिइन् । ६ गते उनको पित्तथैलीको अपरेशन पनि भयो । भारतको हिमाञ्चल बस्दै आएकी उनी उपचारकै लागि घर फर्किएकी उनको कानमा चार÷चार आना सुनका दुई वटा रिङ थिए । अपरेशन गर्दा सुनका गहनाहरू निकाल्ने गरिन्छ ।

तर उनको गहना अस्पतालका कर्मचारी र नर्सहरूले निकाल्न नसकेपछि टेपले बेरेर अपरेशन गरियो । अपरेशनपपश्चात् टेप निकाल्दा अस्पतालका कर्मचारीले सुन नरहेको भन्दै आफन्तलाई खबर गरे । त्यसपश्चात् विषयले चर्काे रुप लियो । बिरामीका आफन्तले अस्पताल प्रशासनलाई सुनबारे छानबिन गर्न माग गरेपछि प्रहरी बोलाएर अनुसन्धान गरियो । अन्ततः उक्त सुन अस्पतालकै ती कर्मचारीले लगेर पसलमा बेचिसकेको अवस्थामा प्रहरीले फिर्ता ल्यायो । अहिले अस्पतालका सहयागीको रूपमा कार्यरत ती कर्मचारी प्रहरी हिरासतमा छन् ।

यस घटनाले भेरी अस्पतालको सुरक्षा व्यवस्था र गलत नियत भएका कर्मचारीहरूलाई कारबाहीका लागि अस्पताल प्रशासन उदासिन रहेको विषय सतहमा आएको छ । आर्थिक रूपले कमजोर बिरामी ओलीको मानसिक स्वास्थ्य पनि ठिक नरहेको फाइदा ती कर्मचारी वाल्मिकीले उठाएको पाइएको छ । ती कर्मचारीले सुन मात्रै चोरेनन्, अपरेशनपछि आफन्तहरूसँग अपरेशन गर्दा औषधि नपुगेर आफूले किनेर दिएको बाहना बनाउँदै सुरुमा एक हजार सात सय रूपैयाँ मागेका बिरामीका आफन्त पुनले बताए ।

‘हामी सबै त्यहीँ हुँदा उसले अपरेशन गर्दा नपुगेको औषधि आफूले दिएको बताउँदै सत्र सय रूपैयाँ माग्यो । त्यहाँ अरु कर्मचारीहरू पनि त्यो कुरा सुनिरहेका थिए । बिरामीका श्रीमान्ले पैसा दिन खोज्दा पछि दिनुहोला म यतै हुन्छु भनेर लिन मानेन । मलाई त्यतिखेर नै त्यो मान्छेप्रति शंका लागिसकेको थियो,’ पुनले भने ।

त्यसपछि बिरामीकी भारतमै हुर्किएकी १४ वषीया छोरीलाई कुरुवा छाडेर अरु आफन्तहरू घर गए । अर्काे दिन बिहानै ती किशोरीले आमाको कानमा लगाएको टेप निकालिसकेको तर सुन नभेटिएको खबर गरिन् । त्यसपछि सबै आफन्तहरू फेरि अस्पताल पुगे । अस्पताल पुगिसकेपछि ती किशोरीले, जुन कर्मचारीले हिजो सत्र सय रूपैयाँ मागेका थिए तिनैले चार हजार आठ सय मागेको र एक्लै भएको बेला ‘तिमी राम्री छौ । उता कोठामा जाउँ न भनेर एकान्त कोठामा जान प्रलोभन दियो ।’ भनेर दुईवटा अरु खुलासा गरिन् ।

त्यसपछि आफन्तहरू आक्रोशित भए । अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीको कार्यकक्षमा गएर घटनाबारे जानकारी गराए । उनीहरूले आक्रोशमा अस्पतालजस्तो ठाउँमा बिरामीका गहना चोरी हुनु र कुरुवामाथि दुव्र्यवहारको प्रयास हुनु गम्भीर विषय रहेकोले प्रशासनसँग जवाफदेहिता मागे । अस्पतालमा बिरामीको सुरक्षामाथि गम्भीर खेलबाड भइरहेको भन्दै उनीहरूले मेसु र उपचारमा संलग्न चिकित्सक, नर्स तथा कर्मचारीहरूको झाको झारे । बल्ल मेसुले प्रहरीलाई बोलाएर उक्त घटनाको अनुसन्धान गर्न लगाए ।

प्रहरीले सिसिटिभी फुटेजलगायत सोधपुछ गरेपछि अनुचित रकम माग गर्ने तिनै कर्मचारीले नै आफूले गहना चोरेर पसलमा बेचेको स्वीकार गरे । उनले गहना बेचेको पसलमा प्रहरीलाई लगेर गहना फिर्ता लिएर आए । तर आफन्तहरूले गहना सुनकै भएको र तौल यकिन गरेर मात्रै बुझ्ने बताए र प्रहरीमा ती कर्मचारीमाथि कारबाही गर्नका लागि जाहेरी दिए ।

साथै अनुचित रकम माग गरेको र किशोरीमाथि दुव्र्यवहार गर्न खोजेको पनि स्वीकार गरेको बिरामीमा आफन्त पुन बताउँछन् । बाँके प्रहरीले वाल्मिकीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । उनीमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

May be an image of text

अस्पतालमा दोहोरिरहन्छन् गल्ती, हुँदैन कारबाही

भेरी अस्पतालमा स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीहरूले गरेका लापरबाही तथा गल्तीहरूले पटक पटक अस्वताल बदनाम हुने गरेको छ । बिरामीको अत्यधिक चाप रहने उक्त अस्पतालमा पटक पटक दोहोरिने गल्तीपछि संलग्नहरूलाई कारबाही पनि हुँदैन भने भएका कारबाहीबारे पनि अस्पतालले जानकारी दिँदैन ।

अस्पतालमा यसअघि एउटाको शिशु अर्कैको भनेर दिएको, जिउँदै शिशुलाई मृत भनेर पठाइदिएको, हेलचेक्र्याइँले आमा तथा शिशुको ज्यान जोखिममा परेको, फार्मेसीमा शंकास्पद आगलागी भएको जस्ता घटनाहरू बाहिरिए । ती घटना हुँदा अस्पतालले अबदेखि गल्ती नहुने प्रतिबद्धता जनाए पनि फेरि गम्भीर लापरबाहीका घटनाहरू दोहोरिइरहने गरेका छन् ।

अस्पतालका कर्मचारीहरूले अपरेशन गरेका तथा भर्ना भएका बिरामीहरूका आफन्तसँग अनेक बाहनामा अनुचित रकम माग गर्ने गरेको गुनासो पनि पटक पटक आइरहन्छ । साथै अस्पतालबाट बिरामी तथा बिरामीका आफन्तहरूका मालसामान र पैसा चोरी भएका घटनाहरू त प्रायः भइरहन्छन् । तर, त्यस्तो बेथितिमाथि निगरानी र कारबाही गर्न अस्पताल प्रशासन चुकेको आरोपमा पछिल्लो गहना चोरीको घटनाले बल पु¥याएको छ ।

अस्पतालले अस्पतालको भित्तामा अनुचित रकम नदिन र त्यसबारेमा प्रशासनमा सूचना दिन सन्देशरु टाँस गरेको छ । यसैगरी चोरीबाट बच्न सावधान लेखिएका पर्चाहरू पनि टाँसिएका छन् । तर, अस्पतालकै कर्मचारी गहना चोरीमा संलग्न भएको भेटिएपछि अस्पतालको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

मेसु भन्छन्, ‘कारबाही गरेका छौँ, अब गल्ती हुन दिन्नौँ’ 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी अनुचित रकम माग गर्ने कर्मचारीमाथि यसअघि कारबाही गरिएको बताउँछन् । उनले भने, ‘करिब एक वर्षअघि दुई जना कर्मचारीले बिरामीका आफन्तसँग पैसा मागेको गुनासो आएपछि हामीले दुई जना कर्मचारीलाई बर्खास्त गरेका थियौँ ।’ तर त्यसरी कारबाही गरिएको जानकारी अस्पतालले सार्वजनिक गरेको थिएन ।

पछिल्लोपटक गहना चोरीमा संलग्न कर्मचारी वाल्मिकीलाई पनि बर्खास्त गर्न प्रशासनलाई आफूले निर्देशन दिइसकेको मेसु सुवेदीले जानकारी दिए । तर यस विषयमा पनि सार्वजनिक रूपमा अस्पतालले जानकारी दिएको छैन । उनले बिरामीका आफन्तले वाल्मिकीले गरेको सबै किसिमका व्यवहारबारे जाहेरी दिन सुझाव दिएको पनि बताए । उनले भने, ‘सबैभन्दा गम्भीर त त्यो नानीमाथि गर्न खोजेको व्यवहारको विषय हो । त्यसबारे पनि जाहेरी दिनुस् भनेर सुझाव दिएको हुँ ।’

उनले अस्पतालमा चोरीका घटनाहरू भएको गुनासो पटक पटक आइरहने गरेको पनि बताउँदै त्यस्ता घटना रोक्न सर्वसाधारण पनि चनाखो हुन जरुरी रहेको बताए । अगामी दिनमा अस्पतालको सुरक्षा र कर्मचारीमाथि थप कडाइका साथ निगरानी गर्ने उनले प्रतिबद्धता जनाए ।

‘बील काटिएको बाहेक अरु कुनै पनि बाहनामा रकम माग गरेमा प्रशासनलाई जानकारी दिनुहोस् भनेर हामीले पर्चा टाँसेका छौँ । आगामी दिनमा त्यस्ता कर्मचारीमाथि सम्बन्धित विभाग वा वार्डको जिम्मेवार व्यक्तिले कडा निगरानी राख्ने गरी निर्देशन दिइएको छ । अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउँछौँ,’ सुवेदीले भने ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार