फस्टाउँदै ‘गोपाल सर’को किबी खेती



बागलुङ ।

कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उनले किबी खेती गर्ने निर्णय गरे ।

गाउँमा ‘गोपाल सर’का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उनी नमुना किसान भएका छन् ।

विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उनलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उनले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उनका उत्पादन बजारमा पाइन्छन् ।

विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उनले किबी खेती सुरु गरेका थिए । किबी खेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा एक सय ५० बोट किबी खेती गरेका उनले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताए ।

उनको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो तीन सयदेखि चार सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । किबी खेतीबाट उत्साहित ‘गोपाल सर’ले २० रोपनी पाखोबारीमा ओखर खेती पनि सुरु गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार