बाँकेमा कुपोषणको समस्या अझै गम्भीर



निशु जोशी । नेपालगन्ज ।

बाँके जिल्लाका ५ पालिकामा बालबालिकाको पोषण अवस्थाबारे गरिएको पछिल्लो तथ्यांकले अधिकांश बालबालिका स्वस्थ देखिए पनि गम्भीर कुपोषणको समस्या अझै गम्भीर रहेको देखाएको छ ।

यसै वर्ष मंसिरदेखि पुस महिनामा बाँकेमा २ महिनादेखि ५९ महिनामुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन घरघरमा पुगेर गरिएको अध्ययनमा अवस्था सन्तोषजनक छैन् । जिल्लाका अधिकांश पालिकामा कुपोषित बालबालिकाको सङ्ख्या उच्च देखिएको छ ।

खजुरामा गर्भवती आमामा समेत कुपोषण

बाँकेको खजुरा गाउँपालिका–३ सृजनाटोलकी कल्पना सुनारलाई बच्चा जन्मेको करिब २ महिनामै घरबाहिरको काममा दिनभरि जानुपर्ने बाध्यता भयो । घर चलाइरहेका श्रीमान्लाई प्रेसरले हानेर अपांग बनाएपछि बच्चा छोडेर काममा जानुको विकल्प थिएन ।

बच्चालाई राम्ररी दूध खुवाउन र स्याहार गर्न पाइनन् । परिणामस्वरूप बच्चालाई ज्वरो आउने समस्या देखिन थाल्यो । बच्चाको तौल पनि कम भयो । पछि बल्ल थाहा भयो बच्चालाई कुपोषण भएको । कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैरसरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन् ।

जिल्लामा बीग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजनाअन्तर्गत आमा समूहमार्फत समुदायका आमाहरूमा जागरूकता ल्याएको बीग्रुपका डम्बर विक बताउँछन् । बीग्रुपले सञ्चालन गरेको पोषण परियोजनाले अहिले उनको बच्चाको स्वास्थ्यमा सुधार आएको छ । उनले बच्चाको भविष्यका लागि खानपानमा सुधार गर्न थालेपछि सुधार आएको बताइन् ।

तर अझै पनि कतिपय बालबालिकामा कुपोषण देखिएको अवस्था छ । बाँकेको खजुरा गाउँपालिकामा ४ हजार ४ सय १६ बालबालिकामा भएको अध्ययनमा २ सय ५४ कुपोषण देखिएको छ । खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी पालिकाभित्र कुपोषणको अवस्था भयावह रहेको बताउँछिन् । उनका अनुसार यो भयावह स्थिति हो ।

बालबालिकासँगै गर्भवती आमाहरूमा समेत कुपोषण भेटिएको छ । गर्भवती आमाहरूको पोषण लेखाजोखामा ५ सय १९ जनामध्ये २३ जना आमा शीघ्र कुपोषित र ६२ जना मध्यम रहेको उनले बताइन् । विगतमा ३ प्रतिशत कुपोषण भएकोमा यस वर्ष स्वास्थ्यकर्मी घरदैलो गर्दा अहिले दोब्बरको स्थिति देखिएको उनको भनाइ छ ।

मध्यम कुपोषण भएकालाई फुड प्याकेज र उपचारमा लैजाने, कडा बिरामीलाई उपचारका साथै परिवारलाई माछामासुमा आत्मनिर्भर बनाउन १० परिवारलाई कुखुरा वितरण गर्ने योजना छ । पालिकाको पोषण सुधारका लागि बीग्रुपले पोषण परियोजना सञ्चालन गरिरहेको छ ।परियोजनाअन्तर्गत घरमा ताजा तरकारी उत्पादन, विषादीरहित खाना उत्पादन गर्न प्रोत्साहन गर्नुका साथै आमा समूहहरूमार्फत विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा छन् ।

खजुरा गाउँपालिकाकी अन्जु पुन मगरले पोषण परियोजनाले आमा समूहमार्फत पहिलोपटक आमा बनेकाहरूलाई बच्चाको स्याहार सुसार गर्न सहयोग गरेको बताइन् । हल्का ज्वरो आउने, रुघाखोकी लाग्दा समयमै उपचार नगराउने बानी भएकाले उपचार गराउनुपर्छ भन्ने उनले यस परियोजनामार्फत सिकेको उनको भनाइ छ ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बीग्रुपसँग साझेदारी गरेर ५ वर्षमुनिका बच्चाको अवस्था थाहा पाएको बताउँछिन् । अण्डा वितरण, पोषणयुक्त प्याकेजसँगै अर्गानिक तरकारी उत्पादन गर्न प्रोत्साहन गरेको र यसका लागि पालिकाले बजेट विनियोजन गरेको उनले बताइन् । आगामी दिनमा सहकार्य बढाएर काम गर्ने उनको भनाइ छ ।

डुडुवा गाउँपालिकामा कुपोषणको अवस्था ः ९ प्रतिशत

डुडुवा गाउँपालिकाभित्रको अवस्था पनि खजुराजस्तै छ । ३ हजार ५ सय १ बालबालिकामा भएको अध्ययनमा १ सय ८० मध्यम शीघ्र कुपोषण र ८० जनामा कडा शीघ्र कुपोषण देखिएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सिताराम चौधरीले कुपोषणको स्थिति गम्भीर रहेको बताए ।

‘मध्यम ७ प्रतिशत र कडा २ प्रतिशत भेटिँदा समग्रमा ९ प्रतिशत कुपोषण धेरै हो,’ उनले भने । देशकै अवस्था पनि यस्तै छ । उनका अनुसार कुपोषण हुनु भनेको देशको भविष्यको वृद्धि विकासमा असर हो । समयमै उपचार गराएर समग्र वृद्धि विकास गराउन सकिने उनको भनाइ छ । बालबालिकामा उमेरअनुसार तौल र हाइट नबढेको अवस्था छ ।

त्यसका लागि किशोरी अवस्थादेखि नै पोषणमा महत्व दिने, आइरन चक्की, गर्भजाँच, पोषण अवस्था जाँच्ने, बेलैमा थप आहारा खुवाउने, मिलाएर खाना खुवाउन जरुरी छ । डुडुवाको वनकट्टी स्वास्थ्य चौकी प्रमुख दीर्घायुजंग शाह भने आफ्नो क्षेत्रमा शीघ्र कुपोषित ३० जना र मध्यम ३४ जना भेटिएको बताउँछन् ।

उनका अनुसार यो विगतभन्दा कम हो तर सन्तोषजनक परिणाम होइन । पोषण लेखाजोखापछि बिरामीको उपचार गरिरहेको, सामान वितरण भइसकेको छ । उनका अनुसार सरकारले मध्यम बिरामीलाई सुविधा दिँदैन, कडालाई मात्र उपचार गर्छ । त्यसैले केही गैरसरकारी निकायहरूले पोषणको क्षेत्रमा काम गरिरहेका छन् ।

बीग्रुपको पोषण परियोजनाबाट डुडुवा गाउँपालिका–३ विष्णु आमा स्वास्थ्य समूहकी अगुवा कृषक किरण पासी भन्छिन्, ‘बच्चाको नापतौल गर्नेबारे थाहा थिएन । परियोजनाले हरेक महिनामा नापतौल लिन सिकाएको छ’ अनुभव सुनाउँछिन् । ‘काम गर्दागर्दै बच्चाको स्याहार गर्न थाहा हुँदैनथ्यो, अहिले दिनमा खाना खुवाउने तरिका र सरसफाइमा सुधार आएको छ,’ उनले भनिन्, ‘दिनमा ४ पटक खाना खुवाउनुपर्ने रहेछ । यसले उनको बच्चाको तौलमा सुधार आएको छ ।’

उनीजस्तै डुडुवा–३ की माया मिश्रको पनि अनुभव छ । लिटो, जाउलो बनाउन उनले परियोजनाबाटै सिकेकी छिन् । तौल, पाखुरा र हाइट नाप्नेबारे सिकेपछि बच्चाको अवस्थामा सुधार आएको छ । पहिलेभन्दा धेरै र थरीथरीका तरकारी खेती गरिरहेको अवस्था छ ।

बैजनाथ गाउँपालिकामा कुपोषणको अवस्था

बाँकेको बैजनाथ गाउँपालिकामा ४ हजार ३ सय ९९ मध्ये १ सय ६८ मध्यम र ४३ गम्भीर कुपोषित भेटिएका छन् । बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत लक्ष्मणराज शाहीले पालिकामा ३५ देखि ४० प्रतिशत कुपोषण भएका बालबालिका फेला परेको बताए ।
अध्ययनका क्रममा कुपोषणलाई शाम र माम गरि २ प्रकारमा छुट्याइन्छ ।

कडा कुपोषण अर्थात शीघ्र (शाम) देखिँदा स्वास्थ्य संस्थामा उपचारमा राखेर बच्चाको तौल सुधार गर्नुपर्ने अवस्था हो भने मध्यम खाल (माम) खालको कुपोषणमा अभिभावकलाई सल्लाह, सुझाव र पोषण प्याकेज (पोषिला खानेकुरा) वितरण गर्ने गरिएको छ । पालिकाभरि ४ वटा पोषण उपचार केन्द्र सञ्चालनमा छन् ।

यहाँ पनि बालबालिकाको स्वास्थ्यमा सुधार नआए जिल्लाको पोषण पुर्नस्थापना केन्द्र भेरीमा पठाउने गरिएको बैजनाथ गाउँपालिकास्थित नौवस्ता स्वास्थ्य चौकीको इन्चार्ज एवम् जनस्वास्थ्य निरीक्षक डिलबहादुर विकले बताए । बैजनाथ गाउँपालिकामा आयोजना र बीग्रुपको सहयोगमा गत मंसिर २२ देखि गरेको पोषण लेखाजोखामा नौवस्तामा ३० जना बालबालिका मध्यम शीघ्र कुपोषण, २ जना कडा शीघ्र कुपोषण देखिएको छ ।

उनका अनुसार सुत्केरी आमाहरूमा पनि कुपोषण देखिएको छ । कडा कुपोषण अर्थात् शीघ्र (शाम) देखिँदा स्वास्थ्य संस्थामा उपचारमा राख्नुपर्ने हुन्छ भने मध्यम खाल (माम) खालको कुपोषण देखिँदा अभिभावकलाई सल्लाह, सुझाव र पोषण प्याकेज वितरण गर्ने गरिएको विक बताउँछन् । ‘अभिभावकलाई कुन खाना कतिबेला खाने सल्लाह दिने काम भइरहेको छ,’ उनले भने ।

जिल्लाभित्र कुपोषित बालबालिकालाई बीग्रुपको आर्थिक सहयोगमा अण्डासहितको पोषण प्याकेज वितरण गरिएको छ । बीग्रुपले स्थानीय सरकारसँग समन्वय गरि सञ्चालन गरेको पोषण परियोजनाअन्र्तगत किसानले आफैँले आवश्यक तरकारी उब्जाउने र विषादीरहित खाना उत्पादन गरिरहेका छन् ।

कुपोषण देखिएको अवस्थामा स्थानीय तहमार्फत पोषण खाना वितरण भइरहेको छ भने आवश्यक परामर्श सेवा पनि उपलब्ध गराउने गरिएको छ । उनका अनुसार कुपोषण हुनु भनेको बच्चाको दिमागको विकास पनि कम हुनु हो । यसले बालबालिकाको मात्र नभई देशको भविष्य नै जोखिममा पर्छ । जिल्लामा सञ्चालित पोषण परियोजनापछि आमा समूहमार्फत समुदायका आमाहरू जागरुपता आएको छ ।

बैजनाथकी आश्रा भार जिल्लामा सञ्चालित पोषण परियोजनाबाट पोषण बगैँचा निर्माण गरेर तरकारी लगाउन थालेको, सरसफाइ लगायतमा सुधार आएको बताउँछिन् । परियोजनामार्फत पाएको लिटोबाट उनको छोरीको तौलमा सुधार आएको पनि बताइन् । यहाँका अन्य आमाहरू पनि परियोजनाले बच्चाको स्याहारसुसार सरसफाइलगायत सिकेको बताउँछन् ।

‘जाउलो, लिटो बनाउन र दैनिक ४ पटक खुवाउन सिकेका छौँ । पहिले १ पटक खुवाउने गरेको थियौँ,’ उनीहरू भन्छन् । बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले कुपोषण निवारण कार्यक्रमअन्र्तगत २ सय १ जनालाई पोषण प्याकेज कार्यक्रम चलाएको बताइन् । कुपोषित बालबालिकामा कमजोर, ख्याउटेपना, वृद्धिविकास कम, उमेरअनुसार उचाइ र तौलमा कमी लगायतका समस्या देखिएका थिए ।

बीग्रुपको सहयोगमा गर्भवती आमा र हजार दिनका आमालाई आमा समूहमार्फत ‘पोषण बगैँचा तयार गर्न लगाएको, अनुगमन गर्न गएको, घरमै पोषणयुक्त खाना तयार गरेको अवस्था छ,’ उनले भनिन् । अर्गानिक खेती, माछा, मासु, अण्डा उत्पादनका लागि जैविक मल उत्पादनका लागि कृषिबाट काम भएको उनको भनाइ छ ।

जानकी गाउँपालिकामा कुपोषणको अवस्था

जानकी गाउँपालिकामा ४ हजार १ सय २० मध्ये १ सय ७५ मध्यम र ३६ मा गम्भीर कुपोषण देखिएको छ । जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले पालिकाभित्र रहेका बालबालिका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको स्थिति बुझ्न खोज कार्यक्रम गरेको बताए ।

उनका अनुसार २ सय ११ जना अर्थात् ५. ५ प्रतिशत बालबालिका कुपोषित फेला परेका हुन् । पोषणको स्थिति पहिलेभन्दा सुधार भएको उनको भनाइ छ । पोषण परियोजनाले कतिपय पालिकामा कुपोषणको स्थितिमा सुधार पनि आएको छ । जानकी गाउँपालिका २ स्थित बेलभार स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य अधिकृत गोविन्दबहादुर गौतमले अरु वडाभन्दा कम कुपोषित भेटिएको बताए ।

गौतमले ५ सय ५६ जनामा तौल लिँदा ४ जनामा कुपोषण, अरु वडाभन्दा कम कुपोषित भेटिएको बताए । आमासँगै बुबालाई पनि शिक्षाको जरुरत रहेको उनको भनाइ छ । शाम केसलाई कुखुरापालनका लागि ४० हजार बराबरको कुखुरा वितरण गर्ने गरी छलफल भएको छ । १ सय ७५ जनालाई दाल घिउ, अन्डासहित पोषण प्याकेज वितरण गरिएको छ ।

उन्नती आमा समूह जानकी गाउँपालिका २ कि कल्पना खड्काको अनुभव बीग्रुपको पोषण परियोजनाले बदलेको छ । ‘बच्चालाई जाउलो बनाउनेदेखि सिके । तौलमा सुधार आएको छ,’ उनले भनिन् । यस्तै जानकी २ की निशा खटिक पनि सरसफाइ, बच्चाको खानपानमा सुधार भएको बताउँछिन् ।

नयाँ ढंगबाट जानुपर्छ भन्ने लागेको बताउदैँ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना भन्छन्, ‘कृषि पशु उत्पादनमा जोड दिनुका साथै स्थानीयलाई बीउबिजन वितरण गर्ने कार्यक्रम चलाउनुपर्छ ।’ स्वास्थ्य सुधारका लागि राज्यले कृषि र पशुपालन क्षेत्रमा लगानी बढाउनुपर्ने र किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

राप्ती सोनारी गाउँपालिकामा कुपोषणको अवस्था

बाँकेको राप्ती सोनारी गाउँपालिकामा यस वर्ष २ सय बढीमा कुपोषण देखिएको छ । राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य संयोजक देवेन्द्रकुमार केसी पालिकामा यस वर्ष ४३ सयमा २५ जना शाम – गम्भीर अवस्था, उपचारमा लिनुपर्ने, मध्यम खालको १ सय ५६ मध्यम खालको भेटिएको बताउँछन् ।

उनका अनुसार कुपोषण विगतको तुलनामा घट्दो क्रममा छ । विगतमा १० प्रतिशत अहिले १ देखि २ प्रतिशतमा झरेको छ । दीर्घकालीन रूपमा खानपान र आआरविहार नीतिगत रूपमा सुधार गर्न जरुरी रहेको उनको भनाइ छ । बहुक्षेत्रीय तहमा काम गर्नुपर्ने उनको तर्क छ । स्वास्थ्य, शिक्षा, कृषि सबै क्षेत्रमा मिलेर काम गरे मात्र पूर्ण रूपमा पोषण सुधार हुन सक्ने उनको धारणा छ ।

राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारू सुआहारा र पालिकाले पोषण लेखाजोखा गर्दा बच्चा केटाभन्दा केटीमा बढी कुपोषण भेटिएको बताउँछिन् । उनका अनुसार लैँगिक विभेदका कारण यसो भएको हो । भन्छिन्, ‘छोरालाई पोषणयुक्त खाना खुवाउने, छोरीलाई नखुवाउने चलन देखियो ।’

यहाँ पनि पोषण परियोजनाले केही सुधार भएको अवस्था भने छ । परियोजनामार्फत राप्ती सोनारी गाउँपालिका ६ की विपना घर्ति मगर हरेक महिना बालबालिका जन्मेपछि तौल्न जाने बताउँछिन् । जाउलो कसरी बनाउने भन्ने तरिका पनि जानिन् । परिणामस्वरुप उनको बच्चाको स्वास्थ्य सुधार भएको छ ।

उनीजस्तै राप्तीसोनारी ६ कमैयाडाँडाकी इन्द्ररानी थारू पनि पहिले ६ महिना नपुगदै बच्चालाई पानी खुवाउने चलन भएकोमा अहिले नयाँ ज्ञान सिकाइ भएको बताउँछिन् । स्वास्थ्यकर्मीका अनुसार बच्चामा कुपोषण हुनु भनेको बच्चाको दिमागको विकास पनि कम हुनु हो । यसले बालबालिकाको जीवन मात्र नभई देशको भविष्य नै जोखिममा पर्छ ।

त्यसका लागि किशोरी अवस्थादेखि नै पोषणमा महत्व दिने, आइरन चक्की, गर्भजाँच, पोषण अवस्था जाँच्ने, बेलैमा थप आहारा खुवाउने, मिलाएर खाना खुवाउन जरुरी छ । आमासँगै बुबालाई पनि पोषण शिक्षाको जरुरत छ । दीर्घकालीन समस्या समाधानका लागि कतिपय स्थानीय सरकारले परिवारलाई मासु, अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन् ।

खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजकि विकास प्रमुख लक्ष्मी केसी कडा कुपोषण देखिएको १० परिवारलाई कुखुरा वितरण गर्ने योजना सुनाउँछिन् । राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारू पालिकाले पोषण लेखाजोखा गर्दा बच्चा केटाभन्दा केटीमा बढी कुपोषण भेटिएको बताउँछिन् । उनका अनुसार लैंगिक विभेदका कारण यसो भएको हो ।

राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य संयोजक देवेन्द्रकुमार केसी दीर्घकालीन रूपमा समस्या समाधानका लागि खानपान र आहारविहार नीतिगत रूपमा सुधार गर्न जरुरी रहेको बताउँछन् । बहुक्षेत्रीय तहमा स्वास्थ्य, शिक्षा, कृषि मिलेर काम गर्नुपर्ने उनको धारणा छ । आगामी आर्थिक वर्षमा पनि यो खोजतलासलाई निरन्तरता दिने उनीहरूको योजना छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार