तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा जारी दोस्रो राष्ट्रिय कौराहा सम्मेलनले कौराहा घोषणापत्र जारी गर्ने भएको छ । मगर समुदायको मौलिक नृत्य कौरा संरक्षण र दस्तावेजीकरण गर्ने उद्देश्यसहित शुक्रबारदेखि सुरु भएको सम्मेलन आज कौराहा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ तनहुँको सहआयोजनामा जारी सम्मेलनले कार्यदलविज्ञ समितिमार्फत कौराहा घोषणापत्र जारी गर्ने नेपाल मगर सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष नन्दु मगरले जानकारी दिए ।

कौराहा सम्मेलनका लागि यमबहादुर आलेको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको छ । सम्मेलनमा २७ समूहको सहभागिता छ । प्रतिनिधिबीचमा भएको छलफल र निर्णयमार्फत कौराहाको दस्तावेजीकरण गरिने उनले बताए ।
कौराहाले गुञ्जियो झापुटार
झापुटारमा शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय कौराहा सम्मेलन यसपटक फरक र मौलिक शैलीमा उद्घाटन गरिएको छ । औपचारिक भाषण र कार्यक्रमभन्दा अघि सहभागी युवायुवतीले सामूहिक रूपमा कौरा नाच प्रस्तुत गर्दै कार्यक्रमको सुरुआत गरेका हुन् ।
देशका विभिन्न जिल्लाबाट आएका २७ समूहका युवायुवतीहरू कार्यक्रममा सहभागी भएका छन् । उनीहरूले खैचडीको तालमा गीत गाउँदै र समूहगत प्रस्तुति दिँदै वातावरणलाई निकै उत्साहपूर्ण बनाएका थिए ।
विशेषगरी परम्परागत वेषभूषामा सजिएका युवतीले सामूहिक रूपमा प्रस्तुत गरेको कौरा नृत्यले कार्यक्रममा छुट्टै आकर्षण थपेको थियो । दर्शकले ताली बजाउँदै उनीहरूको प्रस्तुति उत्साहका साथ हेरेका थिए । कार्यक्रमस्थल दिनभर सांस्कृतिक माहोलले भरिएको थियो । कार्यक्रम संयोजक पदमबहादुर थापाले समयको परिवर्तनसँगै यस्ता मौलिक संस्कृतिहरू लोप हुन खतरा बढ्दै गएको सन्दर्भमा कौराहाको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तामा हस्तान्तरण आवश्यक देखिएको बताए ।









प्रतिक्रिया दिनुहोस्