प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिको स्रोतमाथि जनस्तरबाट प्रश्न



विशेषगरी मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरणमा उल्लेख गरेको सुनको परिणाम स्वभाविक नभएको भन्दै धेरैले प्रश्न गरिरहेका छन् । यसपटकको मन्त्रीपरिषद्का १६ जना सदस्यहरूसँग भएको सुनको परिमाण त्यसबेलाका २० जना मन्त्रीहरूसँग भएको भन्दा बढी छ । अहिलेका सबै मन्त्रीहरूसँग भएको सुनको परिमाण ६ सय ६९ दशमवल ५ तोला हुन आउँछ । २०७५ सालको मन्त्रीमण्डलका सदस्यहरूसँग भएको सुनको जम्मा परिमाण पाँच सय २८ दशमलव ५ तोला थियो ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

२०७५ सालमा केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सम्पत्ति विवरणमा उल्लेखित सुनको परिणाम समेटिएको एक इन्फोग्राफिक्स शेयर गर्दै हालका अर्थमन्त्री स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा लेखेका थिए, ‘स्वर्णिम मन्त्रीमण्डल’ । वाग्लेले त्यसबेला मन्त्रीपरिषद्का सदस्यहरूसँग भएको सुनको परिणाम अस्वभाविक रहेको संकेत गर्दै गरेको उक्त पोष्ट शेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अहिले तिनै वाग्ले अर्थमन्त्री रहेको मन्त्रीपरिषद्का सदस्यको सम्पत्ति विवरणमा उल्लेखित सुनको परिमाणप्रति प्रश्न उठाइरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै उनीहरूको सम्पत्तिको स्रोतको स्वच्छताबारे प्रश्नहरू जनस्तरबाट उठेको हो । सामाजिक सञ्जालमा मन्त्रीहरूको सम्पत्ति अस्वभाविक रूपले बढी देखिएको भन्दै स्रोतबारे अनुसन्धान गरिनुपर्ने माग उठेको छ । विशेषगरी मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरणमा उल्लेख गरेको सुनको परिणाम स्वभाविक नभएको भन्दै धेरैले प्रश्न गरिरहेका छन् । यसपटकको मन्त्रीपरिषद्का १६ जना सदस्यहरूसँग भएको सुनको परिमाण त्यसबेलाका २० जना मन्त्रीहरूसँग भएको भन्दा बढी छ । अहिलेका सबै मन्त्रीहरूसँग भएको सुनको परिमाण ६ सय ६९ दशमवल ५ तोला हुन आउँछ । २०७५ सालको मन्त्रीमण्डलका सदस्यहरूसँग भएको सुनको जम्मा परिमाण पाँच सय २८ दशमलव ५ तोला थियो ।

केदार शर्माले २०७५ सालको र अहिलेको मन्त्रीमण्डलका सदस्यहरूको सुनको परिमाण तुलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यी औसत ४० वर्ष उमेरका युवा मन्त्रीहरूले यो प्रगति ठ्याक्कै त्यही अवधिमा गरेछन्, जुन अवधिलाई उनीहरूले ‘देश नरक बनेको र बर्बाद भएको’ भन्दै जनताको मत जितेका थिए । देश चाहीँ रसातलमा पुग्ने, तर त्यही समयमा उनीहरूको व्यक्तिगत ‘गोल्ड रिजर्भ’ भने आकासिने– यो कस्तो चामत्कारिक अर्थतन्त्र हो ?’
आफू इन्जिनियर समेत रहेको बताउने प्रधानमन्त्रीकै सम्पत्तिको स्रोतमाथि प्रश्न गर्दै एक अर्का फेसबुक प्रयोगकर्ता सन्पि ढकालले व्यंग्य गर्दै लेखेका छन्, ‘बालेन दाइलाई नि इन्जिनियरिङ तिर त ठगेछ्न् नत्र हजारौँ घरको डिजाइन र एनालाइसिस गरेको भन्ने दाइको सम्पत्ति स्रोतमा त्यसको कमाइ नदेखिनु दाइको लागि मात्रै होइन हामी अरु इन्जिनियरहरूको लागि पनि दुःखद छ ।’ प्रधानमन्त्रीको बालेनको सम्पत्तिको स्रोतमा इन्जिनियरिङ पेशालाई स्रोतको रूपमा उल्लेख नै गरिएको छैन ।

सामाजिक सञ्जालमा मात्रै होइन सडकमै पनि सम्पत्तिको स्रोत माग्दै प्रदर्शन भएको छ । ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ लेखिएको नारासहित अखिल क्रान्तिकारीले काठमाडौँमा प्रदर्शन गरेको हो । माइतीघरमा प्रदर्शन गर्दै क्रान्तिकारीले सम्पत्तिको स्रोत खुलाउन दबाब दियो । उसले मन्त्रीहरूको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

कोलहपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सम्पत्ति धेरै हुनु समस्या नभई त्यो सम्पत्ति कसरी कमाइएको हो भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन् । उनले लेखेका छन्, ‘भ्रष्टाचार भनेको सार्वजनिक पदमा बसेकाले घुस लिनु वा सरकारी निर्णयमा मात्र हुने कुरा होइन । सार्वजनिक पद धारण गर्नु अघि आर्जन गरिएको सम्पत्ति पनि कत्तिको नैतिक, पारदर्शी र कानुनी तरिकाले कमाइएको हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । ‘यो मेरो निजी आर्जन हो’ भनेर मात्रै पुग्दैन—त्यो सम्पत्ति आचरणयुक्त तरिकाले आर्जन गरिएको हो कि भ्रष्ट अभ्यासबाट ?’

पूर्वअर्थमन्त्री रामेश्वर खनालले पनि सार्वजनिक गरिने सम्पत्ति विवरणभन्दा करचुक्ताको विवरण बढी विश्वसनीय हुने भन्दै सम्पत्ति विवरणमाथि संशय प्रकट गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सम्पत्ति विवरणहरू प्रायः कम विश्वसनीय हुन्छन् । यसको विपरीत आन्तरिक राजस्व कार्यालयमा पेश गरिएका आय विवरणहरू र करचुक्ता प्रमाणपत्रहरूले वित्तीय पारदर्शिता र सत्यपनका आधारमा आर्थिक इमान्दारी मूल्याङ्कन गर्न बढी विश्वसनीय, स्पष्ट र प्रमाणित आधार प्रदान गर्छन् ।’

जनस्तरबाट प्रश्नहरू उठेपछि गृहमन्त्री सुधन गुरुङ चुप लागेर बस्न सकेनन् । उनले मुख खोलेपछि थप विवादित बने । यस सम्बन्धमा फेसबुक र इन्स्टाग्राम स्टोरीमा उनले कुनै मान्छे गरिब भएर जन्मनु गल्ती नभएको भन्दै मृत्यु हुँदा गरिब भएर मर्नु चाहीँ गल्ती हुने भन्दै प्रश्नकर्ताहरूलाई चिढ्याएपछि उनको तीव्र आलोचना भयो । त्यसपछि उनले उक्त स्टोरी हटाए । उनले उक्त स्टोरीमा लेखेका थिए, ‘तिमी जन्मिँदा गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । सरकारमा आउनुअघि बिनाभ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’ उनले ह्यासट्याग प्रयोग गर्दै ‘चेतना भया’ भनेर पनि लेखेका थिए ।
सुधनको उक्त टिप्पणीमाथि जेनजी आन्दोलनकी अगुवा रक्षा बलमे कडा प्रतिक्रिया जनाइन् । उनले फेसबुकमा गृहमन्त्रीलाई सम्बोधन गर्दै लेखिन्, ‘फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो । आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन ।’

उनले नेपालका २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका स्मरण गराउँदै मन्त्रीको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको बताइन् । उनले जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईँहरूले गुरुङ मन्त्री हुन सफल भएको स्मरण गराउँदै लेखेकी छन्, ‘आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईँलाई कति बेर लाग्ला र ? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’को संज्ञा दिनु तपाईँको पदीय मर्यादाविपरीत हो । बेलैमा सच्चिनुस् ।’

रास्वपाका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले पनि सम्पत्ति विवरणमाथि उठेका प्रश्नहरूलाई गलत अर्थ लगाएर टिप्पणी गरेका छन् । उनले ‘च्यातिएको चप्पल’ र ‘रित्तो खल्ती’लाई मात्र इमान्दारीको प्रतीक मान्ने पाखण्ड अब बन्द हुनुपर्ने लेखेका छन् । उनले धनी हुनु कुनै पाप वा अपराध नभएको बताउँदै प्रश्न मान्छे कति धनी छ भन्ने होइन, बरु त्यो सम्पत्ति उद्यम र पसिनाले कमाएको हो कि भ्रष्टाचारले, अनि राज्यप्रति कति पारदर्शी छ भन्ने मात्र भएको उल्लेख गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘देश सधैँ अभाव र आँसुको कथा बेचेर बन्दैन । एउटा बलियो र समृद्ध राष्ट्रको निर्माण ती मानिसहरूको जगमा पनि उभिन्छ, जसले समाजमा नयाँ गर्छन्, वैध रूपमा सम्पत्ति कमाउँछन् र पूर्ण जवाफदेही रहन्छन् । पारदर्शी समृद्धिको संस्कार नेपाली समाजले अब सिकाओस् ।’

क कसले लुकाए सम्पत्तिको स्रोत ?

प्रधानमन्त्रीदेखि अधिकांश मन्त्रीहरूले सम्पत्तिको स्रोत उल्लेख गरेका छैनन् । प्रधानमन्त्री बालेनले एक सय ९० तोला सुनको स्रोत पैतृक भएको उल्लेख गरेका छन् । बैंकमा रहेको एक करोड ४६ लाख रूपैयाँको स्रोत सामाजिक सञ्जाल भनेका छन् । उनले काठमाडौँमा ५ आनामा बनेको घर र धनुषामा रहेको १ बिघा २ कट्ठामा बनेको घरको स्रोत खुलाएका छैनन् । महोत्तरीमा रामनारायण शाहको नाममा रहेको ९ बिघा जग्गाको पनि स्रोत खुलाइएको छैन ।

गृहमन्त्री गुरुङले सम्पत्तिको स्रोतमा अस्वभाविक विवरण दिएको भन्दै टिप्पणी भइरहेको छ । गुरुङसँग रहेको चार करोड ३१ लाखको सेयर स्रोतमा व्यवसाय र पैत्रिक सम्पत्ति भनेर उल्लेख गरेका छन् । उनले ८९ तोला सुन र ६ किलो चाँदीको स्रोत पनि पैतृक नै भएको विवरण दिएका छन् । गृहमन्त्री गुरुङको जग्गा त भूमि ऐन २०२१ ले तोकेको हदबन्दीभन्दा बढी रहेको भन्दै कानुनबमोजिम कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

ऐनअनुसार काठमाडौँ उपत्यका बाहेकका पहाडी क्षेत्रमा एक व्यक्ति वा परिवारले कृषि प्रयोजनका लागि अधिकतम ७० रोपनी र घरबारीका लागि थप ५ रोपनी गरी कूल ७५ रोपनी मात्र जग्गा राख्न पाउने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थालाई आधार मान्दा पहाडी क्षेत्रमा एउटा परिवारले कुनै पनि हालतमा ७५ रोपनीभन्दा बढी जग्गा राख्न पाउँदैन । तर, गृहमन्त्री गुरुङको विवरणअनुसार गोर्खामा मात्रै २२१ रोपनी र धनकुटामा करिब २० रोपनी गरी पहाडी क्षेत्रमै उनको परिवारको करिब २४१ रोपनी जग्गा देखिन्छ ।

यसमा उनको परिवार वा एकल हकभोगमा कति छ त्यो खुलाइएको छैन । उक्त जग्गा पैत्रिक रहेको उनको विवरणमा उल्लेख छ । यसैगरी गुरुङले बैंकमा रहेको ६१ लाख ६१ हजार रूपैयाँ मौज्दातको स्रोत पनि खुलाएका छैनन् ।
परराष्ट्र मन्त्री शिशिर खनालले त अधिकांश सम्पत्तिको स्रोत नै खुलाएका छैनन् । उनको तनहुँको भानु–७ मा १५ रोपनी, पूर्वी नवलपरासीको देवचुली–२ मा १३ रोपनी, नेपालगन्ज–२ मा ३ कट्ठा जग्गाजमिन छ । यो सबै उनका बुवाका नाममा रहेकोमा त्यसको स्रोतमा उनले पैतृक र खरिद भनेर उल्लेख गरेका छन् । उनले पूर्वी नवलपरासी र नेपालगन्जको जग्गाको स्रोतमा खरिद गरिएको उल्लेख गरे पनि त्यसको स्रोत स्पष्ट पारेका छैैनन् । मन्त्री खनालसँग सुन २२ तोला, चाँदी २५ तोला, नगद १० लाख मौज्दात रहेको उल्लेख गरिए पनि त्यसको स्रोत खुलाइएको छैन ।

त्यस्तै बैंक मौज्दात र विभिन्न २३ वटा कम्पनीमा खरिद गरिएका सेयरको स्रोत पनि खुलाइएको छैन । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अरु सम्पत्तिको स्रोत खुलाएपनि ८ वटा बैंकमा ८० लाख ४० हजार रूपैयाँ बचत रहेकोमा ३५ लाख पैतृक र विवाह गर्दा प्राप्त भएको उल्लेख छ भने बाँकी सबै स्वआर्जनबाट प्राप्त भएको उल्लेख छ । श्रेष्ठले एक करोड ४५ लाख ४८ हजार चार सय २० रूपैयाँ बराबरको सेयरमा लगानी गरेका छन् । त्यसको स्रोत स्वआर्जन भएको उल्लेख गरेका छन् । तर स्वआर्जन के कामबाट भएको हो उल्लेख गरेका छैनन् ।

यस्तै उनीसँग एउटा टोयोटाको ल्याण्ड क्रुजर टोयोटा, एक स्कुटर र एक इलेक्टिक गाडी रहेको पनि उल्लेख गरिएको छ । ती गाडी पनि स्वआर्जनबाट खरिद गरेको भनेका छन् । भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्सालले कुनै पनि सम्पत्तिको स्रोत खुलाएका छैनन् । उनको सम्पत्ति विवरणमा रुपन्देहीमा एक कट्ठा १० धुर जग्गामा बनेको घरसहित नवलपरासी र स्याङ्जामा जग्गा रहेको उल्लेख छ । यसैगरी उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ भने बैंक खातामा ९० लाख मौज्दात रहेको विवरणमा जनाइएको छ । तर यी कुनै पनि सम्पत्तिको स्रोत खुलाइएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पनि अधिकांश सम्पत्तिको स्रोत खुलाएकी छैनन् । उनले काठमाडौँमा तीनतलाको घरसहित काठमाडौँमै तीन र महोत्तरीमा चार स्थानमा रहेको जग्गाको स्रोत खुलाएकी छैनन् । एक सय ८० तोला सुन र दुई किलो चाँदी रहेको जनाएकी यादवले उक्त सम्पत्ति भने रुसमा व्यापार गर्दै गर्दा कमाएको उल्लेख गरेकी छन् । बैंकमा १० लाख मौज्दात रहेको, तीन करोड ३८ लाख ३५ हजार बराबरको सेयरको स्रोत पनि उनले खुलाएकी छैनन् ।

सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको ८० तोला सुनमध्ये ३० तोला व्यवसाय र रोजगारबाट खरिद गरेको उल्लेख गरेका छन् भने बाँकी सुन र एक सय ५० तोला चाँदी पैतृक स्रोतबाट प्राप्त भएको भनेका छन् । ७० लाख रूपैयाँ बैंक मौज्दात रहेकोमा उक्त रकम पनि तलब, व्यापार, कृषि र ऋण सापटीबाट जम्मा भएको भनेका छन् ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले पनि १५ तोला सुन र १०० तोला चाँदी पनि पैतृक र स्वआर्जन रहेको उनले उल्लेख गरेकी छन् । चारवटा घर र अपार्टमेन्ट, एक करोड ९० लाख बैंकमा जम्मा रहेको र चार करोड ४० लाख बढीको सेयर लगायतको सम्पत्ति देखाएका अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको तलब, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीलाई स्रोतको रूपमा खुलाएका छन् । उनले सबैजसो सम्पत्तिको स्रोत तुलनात्मक रूपमा स्पष्ट पारेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पनि सबैजसो सम्पत्तिको स्रोत खुलाउँदा महिला बालबालिकामन्त्री सीता वादी, संघीय मामिला, सामान्य प्रशासन, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ३० तोला सुन र ५० तोला चाँदी दाइजो, उपहार र किनेको भनेर उल्लेख गरेकी छन् ।

शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अधिकांश सम्पत्तिहरू बुवाको तलब, पैतृक सम्पत्तिबाट जोडिएको उल्लेख गरेकोमा एक करोड नौ लाख ६५ हजार मूल्य बराबरका दुईवटा कारहरू खरिदको स्रोत भने खुलाएका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खडकराज पौडेल र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. विक्रम तिमिल्सेनाले भने सम्पत्तिको स्रोत स्पष्ट रूपमा खुलाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार