१८ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा



दैलेख ।

जिल्लामा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या न्यून रहेको पाइएको छ । पछिल्लो तथ्यांकअनुसार जिल्लामा ४७ हजार ५० जना नागरिक मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । यो सङ्ख्या जिल्लाको कूल जनसङ्ख्या दुई लाख ५३ हजार ३१९ को करिब १८ प्रतिशत मात्रै हो ।

स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकहरूले सहज रूपमा स्वास्थ्य सेवा लिन पाउने भएकाले यसको प्रभावकारिता बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालय दैलेखका संयोजक सन्दीप पुनमगरका अनुसार स्वास्थ्य बीमामा आबद्ध हुनेमध्ये पालिकागत हिसाबले आठविस नगरपालिकाको जम्मा जनसङ्ख्या दुई हजार ९७३ जना रहेको छ ।

यस्तै भगवती माई गाउँपालिकामा तीन हजार ३६८, भैरवी गाउँपालिकामा तीन हजार ४७१, चामुण्डाबिन्दासैनी नगरपालिकामा चार हजार ३६ र दुल्लु नगरपालिकामा आठ हजार ४३४ जना रहेका छन् । यस्तै डुंगेश्वर गाउँपालिकामा तीन हजार ८२०, गुराँस गाउँपालिकामा तीन हजार ७७८, महाबु गाउँपालिकामा दुई हजार ९८६, नारायण नगरपालिकामा आठ हजार ७२५, नौमुले गाउँपालिकामा दुई हजार १२४ र ठाँटीकाँध गाउँपालिकामा तीन हजार ३३५ जना छन् ।

स्वास्थ्य बीमा बोर्डले ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकहरू ती व्यक्तिलाई मात्र निःशुल्क, एचआईभी एड्स, क्षयरोग र कुष्ठरोग प्रभावितका हकमा परिवारका सबै सदस्यहरूलाई स्वास्थ्य बीमा सेवा निःशुल्क दिने गरेको छ । त्यसैगरी नेपाल सरकारले स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशत छुट दिएकोमा कर्णाली प्रदेश सरकारले थप ५० प्रतिशत व्यहोरेपछि स्वास्थ्य स्वयंसेविकाका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा सेवा पाएका छन् ।

स्वास्थ्य बीमामा आबद्ध हुन पाँच जना परिवारलाई तीन हजार ५०० लागतमा एक लाख बराबरको उपचार सेवा पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रतिसदस्य थप ७०० का दरले रकम थप लाग्दछ । ती परिवारले थपिएका हरेक सदस्य बराबर थप २० हजारका दरले प्रतिव्यक्ति उपचार सेवा पाइरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बीमा कार्यक्रममा आबद्ध हुनेको सङ्ख्या बढ्न नसक्नु जोखिम अवस्थाको संकेत हो । अझै पनि धेरै नागरिक यस कार्यक्रमको पहुँचबाहिर रहेका छन् । विशेषगरी दुर्गम क्षेत्रका बासिन्दामा जनचेतनाको कमी, भौगोलिक कठिनाइ तथा पहुँच अभावका कारण सहभागिता अपेक्षित रूपमा बढ्न सकेको छैन ।

स्वास्थ्य बीमा बोर्डले भने नागरिकलाई आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ । स्थानीय तहसँग सहकार्य गरी जनचेतना अभिवृद्धि, दर्ता प्रक्रियामा सहजीकरण तथा सेवा विस्तारमा जोड दिइँदै आएको छ ।

विशेषज्ञहरूका अनुसार यदि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ व्यापक बनाउन सकिएमा जिल्लामा स्वास्थ्य सेवाको पहुँचमा सुधार आउने मात्र नभई नागरिकको आर्थिक सुरक्षामा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार