नेपालले रुवान्डामा आइसिसी च्यालेन्ज ट्रफी खेल्दै



काठमाडौँ ।

महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीलाई बिदा गरेको हो । क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउद लगायतले नेपाली टोलीलाई बिदाइ गरे । साउदले महिला क्रिकेटको विकासका लागि क्यानले धेरै मेहेनत गरेको र पुरुष सरह प्राथमिकता दिएको बताए ।

उनले महिला क्रिकेटमा पहिलो पटक विदेशी प्रशिक्षक पनि ल्याएको र नेपाली टिमले पनि राम्रो प्रदर्शन गरिरहेको बताए । साथै उनले रुवान्डामा नेपालले उत्कृष्ट प्रदर्शन गरेर राम्रो नतिजा ल्याउने विश्वास राखे । कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको बताइन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने पनि बताइन् ।

‘रणनीतिअनुसार धेरै कुरा सुधार भएको छ, क्यानले पनि महिला क्रिकेटलाई धेरै सपोर्ट गरेको छ । यसपटक उपाधि जितेर नै फर्कने लक्ष्य लिएका छौँ,’ इन्दुले भनिन् । मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक क्याम्प राम्रो भएको र अन्डर प्रेसरमा राम्रो प्रदर्शन गर्नु सबैभन्दा महत्वपूर्ण रहेको बताए । यसपटकको तयारीबाट राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको बताए । साथै उनले राम्रो तयारी गर्ने वातावरण मिलाएकोमा क्यानलाई धन्यवाद समेत दिएका थिए ।

अप्रिल १८ देखि मे १ सम्म हुने प्रतियोगितामा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक, सहायक प्रशिक्षक रिजन प्रजु, टेक्निकल डिरेक्टर रवि थापा, फिजियो कर्मा छेदेन गुरुङ र टिम म्यानेजर सरोबर प्रसाईं रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार