सुदूरपश्चिमका जिल्लामा खेलकुद समितिका अध्यक्ष नियुक्त



कैलाली ।

सुदूरपश्चिमका सात जिल्ला खेलकुद समितिको अध्यक्षमा मनोनयन गरिएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले अध्यक्ष मनोनयन गरेको हो ।

परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको हो ।

चार वर्षका लागि अध्यक्ष मनोनयन गरिएको खड्काले बताए । उनका अनुसार यसअघि नै मनोनयन गरिएका डोटी र दार्चुला अध्यक्षको अवधि भने बाँकी छ । यस्तै मन्त्रालयले पृथ्वीबहादुर शाहलाई सुदूरपश्चिम प्रदेश युवा परिषद्को सदस्य पदमा मनोनीत गरेको छ ।

मन्त्रालयद्वारा २०८३ वैशाख २ गते जारी पत्रअनुसार सुदूरपश्चिम प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ५ को उपदफा (१) को खण्ड (छ)बमोजिम मन्त्रीस्तरीय निर्णयबाट शाहलाई परिषद् सदस्यमा मनोनीत गरिएको हो ।

उक्त आदेशको दफा ५ को उपदफा (३)अनुसार तोकिएको अवधिका लागि उनलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रचलित कानुनको अधीनमा रही तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न शाहले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ । शाह अछामको बान्निगढी जयगढ गाउँपालिका–६ का निवासी हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार