जीतबहादुर शाह
प्रसिद्ध लेखक डि.एच. लरेन्सले भनेका थिएः ‘यो धर्तीलाई जोगाउने हो भने हाम्रा विद्यालय र कलेजहरू कम्तीमा दुईसय वर्षका लागि बन्द गर्नुपर्दछ ।’ उनको भनाइको अर्थ यो थियो कि विद्यालय र कलेजले विद्यार्थीहरूलाई किताबी किरो बनाउन थाले । अक्षरहरू चिनेर पुस्तकहरू घोकेकै भरमा मानिसहरू विद्वान्हरूमा दर्ज हुन थाले । तिनै विद्वान्हरू समाज र मुलुकका लागि भन्दा पनि आफ्नो व्यक्तिगत जीवन र आफूसँग नजिकमै रहेका आफन्त र परिवारका सदस्यहरूको निम्ति मात्र समर्पित हुन थाले । जब कि उक्त व्यक्तिलाई त्यत्तिसम्मको शिक्षा दिनका लागि व्यक्ति आफूले त लगानी त गरेको छ नै । यसको अतिरिक्त राज्यले समेत उसको निम्ति लगानी गरेको छ, जुन कुरा शिक्षा लिएर विद्वान् भइसक्दा पनि विद्वान् भएँ भनेर अभिमानको भारीले थिचिएको तथाकथित विद्वान्लाई समेत यसको बारेमा त्यत्ति हेक्का छैन । हेक्का छैन भनेर मैले यसकारण भनेको हो कि हेक्का हुन्थ्यो भने उसले राज्यको निम्ति केही गर्नु पथ्र्यो जस्तो लाग्छ । राज्यले दिएको शिक्षाबाट भएको विद्वान्ले आफ्नो विद्वताको उपयोग गरेर राज्यका निम्ति केही गर्नु पर्दैन र ? डि.एच. लरेन्सले यसकारण माथि उल्लेख गरेको कुरा आफ्ना लेखहरूमार्फत सार्वजनिक गरेका हुन् । त्रिभुजीय शिक्षाका प्रवर्तक आचार्यश्री पथिकको भनाइ यस्तो रहेको छ – ‘सम्पूर्ण पढाइ र शिक्षाको प्रतिफललाई दुई भागमा बाँड्न सकिन्छ ः अविद्या र विद्या । पढाइ र शिक्षाबाट प्राप्त भएको वर्तमान नतिजाजस्तै धार्मिक राजनीतिक विकृति, व्यापारिक अनैतिकता, युद्ध र सामाजिक विसङ्गति, विकार, विज्ञान र प्रविधिबाट निस्केका नकारात्मक प्रतिफल आदि सबै अविद्याका परिणाम हुन् । यसरी शिक्षाबाट क्लेश, द्वेष, हिंसा तथा अमानवीयतालाई जन्म दियो भने त्यो अविद्या हो ।’ साँच्ची अहिले पढेलेखेकै मानिसहरूबाट नै सामाजिक विसङ्गतिहरू बढाउने गरी विभिन्न हरकतहरू भइरहेका छन् ।
यस्तै कुराहरूलाई मध्यनजर राखी पाश्चात्य मुलुकहरूले शिक्षा आर्जन गरेका मानिसहरूलाई रोजगारी र सेवासुविधा पनि दिने र उनीहरूबाट कर पनि लिने जस्ता कुराहरूको सुनिश्चिता ग¥यो । मुलुकमा सुशासन कायम गर्नका लागि कानुनको निर्माण, कार्यान्वयन, पालना र नियममा पनि तुलनात्मक रुपले हाम्रोतिर भन्दा अलि बढि निर्मम भयो । यसकारण त्यस्ता मुलुकका मानिसहरू स्वाभाविक रूपमा राज्यप्रति बफादार र जिम्मेवार हुँदै अघि बढे । तथापि राज्यको निम्ति केही गर्नुपर्छ भन्ने सोच भित्रैदेखि त्यस्ता मुलुकका नागरिकहरूमा पनि जति पलाउनु पथ्र्यो त्यत्ति पलाएको देखिँदैन । त्यता पनि पढेलेखेकै शिक्षितहरूबाट अनाचार, दुराचार र भ्रष्टाचारजन्य हरकतहरू भइरहेका छन् । यत्ति हो कि यहाँको जस्तो त्यहाँ कर्मैपिच्छे कुकर्म पनि गरेको देखिँदैन । महात्मा गान्धीले भनेका पनि छन् –‘विद्याका साथ जीवनको आदर्श उच्च हुँदैन भने पढ्नु व्यर्थ छ ।’ साँच्ची भन्नु पर्दा हाम्रो तिर शिक्षाले मानिसलाई विद्वान् बनायो । यसका साथमा बाठो पनि । बाठो पनि यस्तो बाठो बनायो कि कविशिरोमणी लेखनाथ पौडेलले तरुण तपसीमा ‘मै खाउँ, मै लाउँ, अरु सब मरुन् दुर्वलहरू’ भनेर लेखेका जस्तै । यसको एउटै कारण हो, उनीहरूले आचार्यश्री पथिकले भनेझैँ विद्या सिकेनन् कि कुविद्या सिके । किन सिके त कुविद्या ? यसको कारण स्पष्ट छ कि हामीले दिएको शिक्षा जानकारीमूलक भयो । हामीले राम्रो शिक्षक कस्तो हुनु पर्दछ भनेर घोकायौँ तर व्यवहारमा गरेर देखाउनका लागि बाध्य बनाएनौँ । यसरी व्यवहारमा हेर्न नपर्ने गरी वा भनौँ घोकेर मात्र पुगिहाल्ने गरी शिक्षा दिन थालियो भने यस्ता मानिसहरू व्यावहारिक हिसाबले अब्बल हुन सक्दैनन् । किनभने व्यवहारलाई अवलोकन र मूल्याङ्कन गर्नका लागि हामीसँग प्रभावकारी पद्धति नै छैन ।
बरु सैद्धान्तिक परीक्षामा अब्बल देखिएका विद्यार्थीको सैद्धान्तिक पक्षलाई नै मानक मानेर व्यवहारिक पक्षको पनि समानान्तर किसिमले मूल्याङ्कन गर्ने पद्धति हाम्रा विद्यालय र कलेजहरूमा हावी भइरहेको देखिन्छ । सबै विद्वान् र वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् कि विचार र चिन्तनको हिसाबले मस्तिष्कका तीन भाग छन् ः बायाँ मस्तिष्क, दायाँ मस्तिष्क र पछाडिको मस्तिष्क । बायाँ मस्तिष्कलाई चेतन मस्तिष्क (कन्सस् माइन्ड), दायाँ मस्तिष्कलाई अर्धचेतन मस्तिष्क (सवकन्सस् माइण्ड) र पछाडिको मस्तिष्कलाई अवचेतन मस्तिष्क (अनकन्सस् माइन्ड) भनिन्छ । शिक्षाको क्षेत्रमा मानिसको देबे्र मस्तिष्कले गर्ने प्रमुख कार्यहरू भनेको तर्क गर्ने, विश्लेषण गर्ने, विचार र छलफल गर्ने, कण्ठ गर्ने, सम्झिने, नक्कल गर्ने आदि पर्दछन् । यसैगरी दायाँ मस्तिष्कले गर्ने कामहरू भनेका सिर्जना, अन्तर्दृष्टिपूर्ण चिन्तन, कला (साहित्य, सङ्गीत, चित्रकला), परिकल्पना र अनुभूतिजन्य कार्यहरू पर्दछन् । त्यसैगरी मानिसको पछाडिको मस्तिष्क अर्थात् मेडुला ओब्लागाटाले गर्ने काम भनेको रहष्यद्रष्टाको काम हो । जसले वर्तमानको मात्र नभइ भूत र भविष्यलाई समेत अध्ययन र अवलोकन गर्न सक्छ । कतिपय सिद्धहस्त पुरुष र सन्तमहात्मा र योगीहरूले यो मस्तिष्कलाई सक्रिय बनाएर काम गरेको अवस्था पनि छ । तथापि सामान्य मानिसहरूले यो काम गर्न नसकेको अवस्था छ । यदि सामान्य मानिसले आफ्नो, जप, तप, योग, ध्यान आदिको माध्यमबाट यो काम गर्न सक्यो भने त्यो मानिस महामानव अर्थात् देवत्व भएको माानिसमा परिणत हुन्छ जसरी गौतम बुद्ध, ओशो रजनीश, जिसस्, इब्राहिम, नानक र कविरहरू भए ।
आचार्यश्री पथिकका अनुसार हाम्रो अहिलेको शिक्षाले मस्तिष्कको देब्रे पाटोलाई मात्र कामयावी बनाएको छ । देब्रे मस्तिष्कले जे काम गर्दछ अहिलेको मानिसले पनि त्यही काम गर्दछ । जसले गर्दा मानिस मानवीय हुन सकेन, करुणा र हार्दिकताले पूर्ण पनि हुन सकेन । परिणामस्वरुप मानिस अरुको भलो भन्दा पनि आफ्नो भलोको कुराको बारेमा पनि विद्वता छाँट्न थाल्यो । निजामति ऐन संशोधन गर्दा निजामति सेवाका उच्चपदस्थहरूले नितान्त आफैसँग सम्बन्धित कुलिङ पिरियडको बारेमा लफडा गरेजस्तै । लोकसेवा आयोगको परीक्षामा उत्कृष्ट हुनेहरूले नै जागिरमा हाजिर भएदेखि भ्रष्टाचारजन्य कर्ममा लिप्त भएजस्तै । शिक्षक सेवा आयोगको परीक्षामा टपटेनमा निस्कनेहरूले नै विद्यालयमा गएर जाँगर लगाइ अध्यापन गर्नुको सट्टा अर्को जागिरमा जानका लागि तयार गरेजस्तै । यत्तिबेला मानिसको मनभित्र करुणा, दया, प्रेम, मानवता, हार्दिकता जस्ता अनुभूतिहरू फष्टाउने गरी शिक्षा दिन सकेको भए मानिसहरू यत्ति तल झरेर आफ्नो निम्ति मात्रै मरिहत्ते गर्ने स्थिति हुने थिएन भन्ने तर्क अनुसन्धाताहरूको रहेको छ । शिक्षा आर्जन गर्ने क्रममा कक्षाकोठाभित्र बसेर पुस्तक पल्टाउँदै र शिक्षकका प्रवचन टिप्दै गरिने सिकाइले घोक्ने, कण्ठ गर्ने, तर्क गर्ने र विश्लेषण गर्ने कार्यभन्दा माथि उठ्न नसकिने रहेछ । यदि विद्यार्थीहरूलाई अरुको दुःख कष्टहरूलाई आफूले पनि भोग्नका लागि अवसर दिने हो भने विद्यार्थीहरूमा पनि स्वभावैले दुःख पाउनेहरूप्रति आत्मीयता, सह्दयता र सहयोगको भावना बढ्ने हुन्छ । विद्यार्थीहरूलाई उकालो चढ्ने, खोला तर्ने, भारी बोक्ने, पसिनाले निर्थुक्क हुने गरी खेतबारीमा काम गर्ने, आफू एक्लैले गर्न नसकिने समस्याको समाधानका लागि साथीहरूसँग मिलेर काम गर्ने जस्ता अवसरहरू दिन सकियो भने विद्यार्थीहरूले गर्ने यस्ता कामहरूबाट त्यस्ता भोगाइहरूको अनुभूति गर्न सक्छन् जसका कारणले त्यस्तो कर्म गर्नेहरूप्रति उनीहरूको मनमा घृणा र अपहेलना होइन कि इज्जत र सम्मान पैदा हुने गर्दछ ।
यसका लागि विद्यालयहरूले विद्यार्थीहरूलाई व्यावहारिक र प्रयोगात्मक कार्यहरू गर्ने अवसर दिनु पर्दछ । फिल्डमा गएर विभिन्न प्रकृतिका मानिसहरूसँग अन्तरङ्ग कुराकानी गर्ने परिवेश सिर्जना गर्न सक्नुपर्दछ । विद्यार्थीले आर्जन गरेको ज्ञानलाई प्रमाणित गर्ने काम त्यसको प्रयोगबाट सम्भव हुन्छ । शिक्षाले जब प्रयोगको लागि अवसर पाउछ, यो परिवेशले दाँया मस्तिष्कलाई सक्रिय बनाउँछ । शिक्षकले अहिलेको इन्टरनेट, एआइ र ग्लोबल भिलेजको युगमा शिक्षालाई बायाँ मस्तिष्कको पर्खालभन्दा बाहिर निकालेर दायाँ मस्तिष्कको हराभरा उपत्यकातिर लैजानु पर्दछ । जहाँ व्यक्तिले भोगेर सिक्दछ, गरेर सिक्दछ, देखेर सिक्दछ, अरुसँग अन्तरङ्ग छलफल गरेर सिक्छ । यसबाट विद्यार्थीको सिर्जनशीलता, कल्पनाशीलता, अनुभूति, सम्बेदना र भावनाहरूको विकास हुन्छ । मस्तिष्कको दायाँ मस्तिष्कको उपयोग गरेपछि मानिस मानवीय किसिमले अघि बढ्छ । अरुलाई होचोअर्घेलो र अन्याय गर्न सक्दैन । गर्नु परे पनि गर्नुभन्दा पहिले हजार पटक सोँच्दछ । मैले कुनै व्यक्तिलाई अन्याय गरेँ भने उसलाई कति पीडा होला ! के मैले गर्ने त्यो कर्मले मलाई खुसी र शान्तिसँग बाँच्न देला त ! यस्तै कुराको चिन्तन गर्दै अन्ततः उसले आफूलाई गलत कार्यबाट सकेसम्म टाढा राख्दछ । यसबाट अब मानिस अविद्याको सिकार हुँदैन कि बरु मानिस आफूले आर्जन गरेको शिक्षालाई अरुको समेत भलाइ हुने गरी उपयोग गर्दछ । गुरु आचार्यश्रीको शब्दमा यसैलाई भनिन्छ विद्या । त्रिभुजीय शिक्षाका प्रवर्तक आचार्यश्री पथिकको विचारमा मानिसमा आफूमा भएको क्षमता, दक्षता र प्रतिभालाई पूर्ण रूपमा प्रयोग गर्नका लागि मानिसका तीनवटै मस्तिष्कलाई सक्रिय हुने गरी शिक्षा दिनु जरुरी छ । अहिलेको बायाँ मस्तिष्क मात्रै सक्रिय गराउन उद्यत शिक्षाले मानिसलाई लोभीपापी, छद्मभेषी, चतुर, चलाख र बाठो बनायो ।
उसको यो स्वभावले अरुको भलो गर्न त नसक्ने नै भयो । त्यसैले यो धर्तीलाई जुगाँजुगसम्म शिक्षाको मलजल दिएर मानवयोग्य बस्तीको रूपमा विकास गर्ने हो भने शिक्षाको तीनवटै मस्तिष्कहरू सक्रिय हुने गरी शिक्षा दिनु जरुरी छ, जसलाई आचार्यश्री पथिकबाट त्रिभुजीय शिक्षा नामाकरण गरिएको छ । यसो गर्न सकियो भने शिक्षा आर्जन गर्ने क्रममा प्रेमका नाममा आफ्नै प्रेमीको बलात्कार गरेर हत्या गर्ने काम पनि हुने छैन, आफूलाई दुःख गरेर जन्माए हुर्काएका बाबाआमालाई काम नलाग्ने बस्तुलाई डष्टबिनतिर फ्याँकेजस्तै वृद्धाश्रमतिर लिएर थन्क्याउने (फ्याक्ने) काम पनि हुने छैन् र राष्ट्रसेवकको पगरी लगाएर त्यही राष्ट्र र त्यही राष्ट्रका नागरिकलाई डुवाउने गरी कर्म पनि कुनै राष्ट्रसेवकबाट पनि गरिने छैन । साना बालबालिकाको देब्रेभन्दा दाहिने मस्तिष्क सक्रिय हुन्छ । यस्तो अवस्थामा बालबालिकाहरूलाई त्यस्तै किसिमका गरेर सिक्ने, भोगेर सिक्ने, देखेर सिक्ने क्रियाकलापहरू गराएर शिक्षा दिन सकियो भने सिकाइ अर्थपूर्ण हुन्छ । यसरी गरिने क्रियाकलापहरूको सूची लामै बनाउन सकिन्छ । उनीहरूमा क्रमशः सुनाइ र बोलाइ सीपको विकास भएपछि मात्र पढाइ र लेखाइ सीपको विकासतिर लाग्नु पर्ने हुन्छ । सुनेको कुरा, बोलेको कुरा, देखेको कुरा, भोगेको कुरा, आफैले पसिना बगाएर गरेको कामकुरा लेख्न पाउँदा र पढ्न पाउँदा कति रमाइलो र आनन्द होला भन्ने कुराको बोध हुने अवस्थामा मात्र पढाइ र लेखाइका कामकुरा गर्नुपर्दछ । यसरी क्रमशः शिक्षामा योग, प्राणायाम्, ध्यान, आत्मशिक्षाजस्ता क्रियाकलापहरूलाई शिक्षण विधिको रूपमा अन्तरघुलन गर्न सकियो भने त यसले दक्ष जनशक्ति मात्र होइन कि मुलुक र विश्वमै उज्यालो छर्ने महामानव पनि जन्माउन सकिन्छ । यसको लागि बाहिरबाट केही गर्नै पर्दैन । सबैकुरा बालबालिका र विद्यार्थीहरूले आफ्नो मस्तिष्कमा जन्मजात ल्याएर आएका हुन्छन् । चुनौती भनेकै बालबालिकाले के ल्याएर आएको हुन्छ भन्ने कुरा पत्ता लगाउने हो । पत्ता लगाउनका लागि विद्यार्थीलाई राम्रोसँग नचिनेरै घोकाउनतिर लागेर हुँदैन । बालबालिकालाई उपयुक्त शिक्षण परिवेशको सिर्जनाका माध्यमबाट राम्रोसँग बुझेर मात्र शिक्षणको ढाँचा तयार गरी अघि बढ्नु पर्दछ । यसो गर्न सकियो भने अहिलेको सरकारले नलिने भने भनी निर्देश गरेका लिखित परीक्षाहरू पनि लिन जरुरी हुने छैन ।









प्रतिक्रिया दिनुहोस्