नन्दराम जैशी । सुर्खेत ।
मानव स्वास्थ्यको महत्वपूर्ण सम्बन्ध वातावरण, पशुपन्छी र वनस्पतिसँग जोडिएको भन्दै वातावरणमैत्री जीवनशैली अपनाउन आग्रह गरिएको छ । वीरेन्द्रनगरमा सम्पन्न मानव, पशुपन्छी र वातावरणको हितसम्बन्धी सञ्चारकर्मीसँग अन्तक्र्रियाका सहभागीले यस्तो आग्रह गरेका हुन् । विश्व स्वास्थ्य दिवस २०८२ को अवसरमा कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले कार्यक्रम आयोजना गरेको हो ।
महाशाखा प्रमुख विर्षबहादुर शाहीका अनुसार मानव स्वास्थ्यको महत्वपूर्ण सम्बन्ध वातावरण, पशुपन्छी र वनस्पतिसँग जोडिएको तथ्यलाई उजागर गर्दै दैनिक जीवनमा विभिन्न सावधानीहरू अपनाउनुपर्ने बताइएको छ । जसमा सकेसम्म हिँड्ने, साइकल चलाउने तथा सार्वजनिक यातायातको प्रयोग गरी ऊर्जा बचत गर्नुपर्नेमा जोड दिइएको छ । यसले प्रदूषण घटाउने मात्र नभई मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने उनले बताए ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेशमा पछिल्लो समय स्वास्थ्य सेवा विस्तार भएको उल्लेख गर्दै सेवा प्रवाह पनि प्रभावकारी बन्दै गएको दावी गरे । ‘पहिले जिल्लामा एक मात्रै शाखागत अधिकृत रहने अवस्था रहेकोमा अहिले सुधार भई पालिकास्तरसम्म विषयगत शाखा तथा स्वास्थ्य, पशु र भेटेनरी अधिकृत पुगिसकेका छन्,’ उनले भने, ‘प्रदेश भित्रिने बर्दिया–सुर्खेत सीमास्थित हर्रेमा तरकारीको विषादी परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा ल्याउन अझै चुनौती छ ।’
सुर्खेत जिल्लाका नौ पालिकामध्ये वीरेन्द्रनगरमा बढ्दो बसाइँसराइको दबाब रहेको र अन्य पालिकालाई उत्पादनसँग जोड्न नसकिए भविष्यमा गम्भीर खाद्य संकट आउन सक्ने उनको अनुमान छ । प्रदेश सरकारले स्वास्थ्य नीति चाँडै ल्याउने तयारी गरिरहेको जनाउँदै उनले ‘वन हेल्थ’ नीतिको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै स्वास्थ्य सेवा महाशाखाका डा. शंकर रिजालले ‘वन हेल्थ’ रणनीतिमार्फत मानव, पशु र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । उत्थानशील स्वास्थ्य प्रणाली विकासका लागि विभिन्न क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे । डा. रिजालका अनुसार मानव, पशु र वातावरणीय निकायबीच प्रभावकारी समन्वयको अभाव, विकासशील देशमा सीमित बजेट र प्राविधिक जनशक्ति, तथा प्रयोगशाला पूर्वाधारको कमीले ‘वन हेल्थ’ रणनीति कार्यान्वयनमा कठिनाइ छ ।
‘पशुपालन, कृषि र मानव स्वास्थ्य क्षेत्रमा अत्यधिक औषधि प्रयोगका कारण एण्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) बढ्दो चुनौतीका रूपमा देखिएको छ,’ उनले भने, ‘तथ्यांक एकीकरणमा समस्या, कमजोर प्रयोगशाला सेवा, ग्रामीण क्षेत्रमा स्वास्थ्यप्रतिको समग्र बुझाइ अभाव जस्ता समस्या छन् भने कृषि र औषधि प्रयोगमा दीर्घकालीन परिवर्तन ल्याउन कठिनाइ छ ।’
त्यस्तै, घरपालुवा जनावरहरूको नियमित रूपमा खोप लगाउनुपर्ने तथा तिनको स्वास्थ्यप्रति सचेत रहनुपर्ने सन्देश दिइएको छ । जनावरबाट सर्ने रोगहरूको जोखिम न्यूनीकरणका लागि यो आवश्यक कदम मानिएको छ । खाद्य सुरक्षालाई ध्यानमा राख्दै विश्वसनीय विक्रेताबाट मात्र खाद्य वस्तु खरिद गर्न आग्रह गरिएको छ ।
साथै, चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्ने उल्लेख छ, यसले गलत उपचारबाट हुन सक्ने जोखिमलाई कम गर्ने विश्वास लिइएको छ भने वन्यजन्तुहरूको अवैध व्यापारबाट टाढा रहन र प्राकृतिक सम्पदाको संरक्षण गर्न सबैलाई आह्वान गरिएको छ ।
स्वास्थ्य, वातावरण र जैविक विविधताको संरक्षण एकअर्कासँग अन्तरसम्बन्धित रहेकोले यी सबै पक्षमा सामूहिक प्रयास आवश्यक रहेको पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताए । यता विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । सन् १९४८ मा स्थापना भएको उक्त संगठनमा नेपाल सन् १९५३ मा सदस्य राष्ट्र बनेको थियो ।









प्रतिक्रिया दिनुहोस्