कोहलपुर– २ः फे¥यो विकासमा काँचुली



कोहलपुर नगरपालिका वडा नम्बर २ ले आर्थिक वर्ष २०८१–०८२ मा शतप्रतिशत योजना सम्पन्न गरेको छ । गत आ.व.को वार्षिक प्रगति सार्वजनिक गर्दै वडाले महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गराउँदै वडा समृद्धिको आधार तयार भएको जनाएको छ । बाँकी कार्यकालमा वडाको विकास गर्न दिनरात नभनी कटिबद्ध भएर जनतासँग हातेमालो गर्दै अघि बढ्ने वडाध्यक्ष हरि कठायतले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोहलपुर (बाँके) ।

बाँकेका आठ स्थानीय तहमध्येको एक मात्र नगरपालिका हो, कोहलपुर । जिल्ला सदरमुकाम नेपालगन्जदेखि १५ किलोमिटर उत्तरमा अवस्थित कोहलपुुर नगरपालिका । २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले कोहलपुर नगरपालिका बनाउने घोषणा गरेको हो । उक्त निर्णयमा नगरपालिकाका साविकको कोहलपुर गाविस र रझेना गाविस समावेश गर्ने उल्लेख थियो । सोही अनुसार २०७१ जेठ ७ का ती दुई गाविस गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि शम्सेरगन्ज गाविसको केही भाग २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको थियो । हाल नगरपालिकामा कूल १५ वटा वडा रहेका छन् ।

ती १५ वटा वडामध्ये एक हो, कोहलपुर नगरपालिका वडा नम्बर २ । वडा नम्बर २ साविक रझेना गाउँ विकास समितिको वडा नम्बर ४ बाट बनेको हो । हाल वडाको केन्द्र आनन्दनगरमा अवस्थित रहेको छ । यस वडाको पूर्वमा वडा नम्बर ११ र १२, पूर्व दक्षिणमा वडा नम्बर ११, दक्षिणमा वडा नम्बर ५ र पश्चिममा कोहलपुर वडा नम्बर ३, ४ र उत्तरमा वडा नम्बर १ तथा बैजनाथ गाउँपालिका वडा नम्बर ४ पर्छ । वडा नम्बर २ ले कोहलपुर नगरपालिकाका ६ वटा वडाले छोएको छ । यस वडामा नेपालका विभिन्न भागबाट बसाइँसराइँ गरेर आएका नागरिकहरूको बसोबास रहेको छ । वडा नम्बर २ का रैथाने बासिन्दा चाहीँ थारू समुदाय हो ।

हाल यस वडामा वडा नम्बर २ का स्थायी बासिन्दासहित कूल ३० हजार जनाको बसोबास रहेको छ । तीमध्ये महिलाको जनसङ्ख्या १६ हजार र पुरुषको जनसङ्ख्या १४ हजार रहेको छ । वडा नम्बर २ मा कूल ६ हजार १ सय ५० घरधुरी रहेका छन् । वडा नम्बर १६.३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस वडामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कर्णसिंह बुढा क्षेत्री निर्वाचित भएका थिए । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हरि कठायत अध्यक्षमा निर्वाचित भएका थिए । कठायत नेतृृत्वको कार्यकाल तीन वर्षको अवधि पूरा गरेको छ । वर्तमान जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षमा कोहलपुर नगरपालिका वडा नम्बर २ मा विकासमा काँचुली फेरेको छ । वडा नम्बर २ ले वडावासीको जीवनस्तर सुधार, पूर्वाधार विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ । यसैगरी, वडाले वित्तीय सुधार, पञ्जीकरण, मेलमिलापसहितका सेवासमेत प्रदान गरेको छ ।

वित्तीय प्रगति, पञ्जीकरण सेवा र मेलमिलापसम्म

कोहलपुर नगरपालिका वडा नम्बर २ ले आर्थिक वर्ष २०८१–०८२ विभिन्न सेवा प्रदान गरेको थियो । जसमध्येको एक हो, वित्तीय सेवा । उक्त सेवा अन्तर्गत गत आर्थिक वर्षमा वडा नम्बर २ ले विभिन्न शीर्षकमा राजस्व संकलन गरेको थियो । वडाहरूले विविध नगदी कर, सम्पत्ती तथा भूमिकर संकलन गर्दै आएका छन् । विविध नगदी कर ९ लाख ४२ हजार ९४५, सम्पत्ती र भूमिकर १९ लाख ७६ हजार २१८ रूपैयाँ ८१ पैसा गरी कूल २९ लाख १९ हजार १६३ रूपैयाँ ८१ पैसा राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा पञ्जीकरण सम्बन्धी सेवा प्रदान गरेको छ । जस अन्तर्गत ११९ वटा जन्मदर्ता भएको छ । तीमध्ये ५३ जना महिला र ६६ जना पुरुष रहेका छन् । यस्तै ७६ वटा विवाहदर्ता, १२० वटा बसाइँसराइँ दर्ता भएको छ । बसाइँसराइँ दर्ता सङ्ख्या ३५१ जना रहेको छ । यस्तै वडा नम्बर २ बाट बसाइँबसाइँ गरेर ११७ जना अन्यन्त्र गएका छन् । उक्त आर्थिक वर्षमा वडामा कूल ४८ वटा बसाइँसराइँ गरेर जानेहरूको निवेदन दर्ता भएको थियो ।

१५ महिला र ४२ पुरुषगरी कूल ५७ वटा मृत्युदर्ता र १३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । यस्तै वडामा उक्त आर्थिक वर्षमा कूल ११९ वटा मेलमिलापका लागि निवेदन दर्ता भएका थिए । तीमध्ये ८१ वटाको छलफलगरी मेलमिलाप गरिएको छ । अझै ३६ वटा निवेदन उपर सहमति हुन बाँकी रहेको छ ।

भौतिक प्रगति ः तीनसय मिटर कालोपत्रे, ३४ सय मिटर ग्राभेल

आर्थिक वर्ष २०८१–०८२ को वडा नम्बर २ को समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भनिएको छ, ‘आर्थिक वर्ष २०८१–०८२ मा कोहलपुर नगरपालिका वडा नम्बर २ ले वडाभित्रको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।’ वडा कार्यालयका अनुसार प्रदेश विशेष अनुदान र नगरपालिकाको बजेटमार्फत ३०१ मिटर कालोपत्रे गरिएको छ । ३ हजार ४ सय ८५ मिटर सडक ग्राभेल सम्पन्न भएको छ । संघ, प्रदेश, नगर र वडाको बजेटबाट ३ हजार ३ सय १३ मिटर आरसीसी नालीसहितको सडक निर्माण गरिएको छ ।

यस्तै संघ र प्रदेश सरकारको अनुदान र कोहलपुर नगरपालिकाबाट कूल ६ करोड २५ लाख लागतमा विभिन्न संरचना निर्माण गरिएको छ । तीमध्ये १ करोड ५० लाख लागतमा लक्ष्मी माविमा अधुरो प्रशासनिक भवन र चमेना गृह निर्माण, ५५ लाख लागतमा शिव शक्ति आधारभूत विद्यालयको भवन निर्माण गरिएको छ । यस्तै ६५ लाखमा पुष्पनगरदेखि लक्ष्मी माविसम्म जाने बाटो अस्फाल्ट पिच, १२ लाखमा मुक्तिनगर, मुक्ति आधारभूत विद्यालयदेखि रिङरोडसम्म स्तरोन्नति, १० लाख दीपनगर र विकासनगर जोड्न कल्भर्टमा ग्याविन वाल निर्माण, १८ लाख लागतमा रिदम चोकको ठाडोबाटोमा नाली तथा स्तरोन्नति र २५ लाखमा लक्ष्मण टोलमा आरसीसी नाली र स्तरोन्नति गरिएको छ ।

यसैगरी, ३६ लाखमा लक्ष्मी मावि नजिकै कल्भर्ट, १५ लाख मनकामना चोकदेखि रिदम चोकतर्फको बाटो आरसीसी र स्तरोन्नति, २० लाखमा शक्तिनगर हुँदै वनघारी चोकसम्म आरसीसी र स्तरोन्नति, २० लाख बर्दहवादेखि कृष्णनगर जोड्ने बाटो, १० लाख लागतमा कृषि हाट बजारदेखि डाटा सेन्टर हुँदै शिव शक्ति विद्यालय, विकास बस्तीसम्म बाटो निर्माण गरिएको छ । ४५ लाख रिङरोड हुँदै विकासनगरसम्म नाली र कालोपत्रे, ४० लाख कोहलपुर–२ र बैजनाथ–४ जोड्ने सीमानाको बाटो नाली निर्माण तथा स्तरोन्नति, १० लाख खानेपानी पाइपलाइन विस्तार, १५ लाख खुला जिमखाना, १० लाख ओम शान्ति र आमा समूहको पूर्वाधार निर्माण गरिएको छ ।

५ लाख रूपैयाँमा सामुदायिक प्रहरी सेवा केन्द्रको शौचालय निर्माण, मनकामना माई मन्दिर, दुर्गा मन्दिर, भिमसेन देव मन्दिर र शिव मन्दिर ४० लाख रूपैयाँमा निर्माण गरिएको छ । यसैगरी, विभिन्न स्थानमा ह्युम पाइन जडान गरिएको छ । वडा नम्बर २ का १५ जनालाई ड्राइभिङ तालिम,२५ जना महिलालाई एड्भान्स ब्युटिसियन तालिम प्रदान गरिएको छ । २ सय जना जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयमा आत्मरक्षा खेल सम्बन्धि प्रशिक्षण, ५२ जनालाई उद्घोषक तालिम, हरित वडा अभियानको लागि विभिन्न सार्वजनिक स्थानमा २ सय वटा बिरुवा वृक्षारोपण र विद्युत कार्यालयसँग समन्वयगरी विभिन्न टोलमा विद्युत पोल विस्तार गर्नुका साथै ट्रान्सफर्मरहरू व्यवस्थापन गरिएको छ ।

वडा सिलिङका सतप्रतिशत योजना सम्पन्न

आर्थिक वर्ष २०८१–०८२ मा कोहलपुर नगरपालिका वडा नम्बर २ ले वडा सिलिङका सतप्रतिशत योजना सम्पन्न गरेको छ । वडालाई नगरपालिकाबाट प्राप्त कूल ६० लाख बजेटको सीमाभित्र रहेर शतप्रतिशत योजना सम्पन्न गरेको हो । कूल ६ लाख लागतमा पुष्पनगर र मुक्तिनगरको बाटो स्तरोन्नति गरिएको छ । १० लाख रूपैयाँ लागतमा रत्न राजमार्ग हुँदै वीरबहादुर शाहीको घर हुँदै बालकुमार शर्माको घरसम्म नाली निर्माण तथा स्तरोन्नति गरिएको छ ।

७ लाखमा विनोद चौधरीको घरको साधबाट चित्रबहादुर मल्लको घरहुँदै मिना शाहीको घरसम्म अधुरो रहेको पक्की नाली निर्माण गरिएको छ । २ लाखमा सामाजिक, साँस्कृतिक विकास÷धर्म जागरिक सम्बन्धी कार्यक्रम, भरोषा स्कुलदेखि संगम चोक हुँदै शिव प्रा.वि. जोड्ने बाटोमा रहेको अधुरो नाली ४ लाख ९५ हजार लागतमा निर्माण गरिएको छ ।

युवा स्वरोजगार, अपांगता भएका व्यक्ति, एकल महिलालाई क्षमता विकास, तथा सीपमूलक तालिम र सामग्री वितरणमा ५ लाख, शिक्षा युवा तथा खेलकुद कार्यक्रमका लागि शिक्षण सिकाईका लागि शवि शक्ति आवि र मुक्ति प्रा.विलाई ५ लाखका खेलकुद सामग्री वितरण गरिएको थियो । यसैगरी, वडा विपद् व्यवस्थापन कोषको २ लाख, भैपरी आउने तथा विविध शिर्षकमा ८ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ५ लाख रूपैयाँ रहेको वडा कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार