सम्पादकीयः मर्यादित रूपमा एसइई सञ्चालन आवश्यक



२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको सम्पूर्ण तयारी पूरा भएर एसइई सञ्चालन गरिएको जनाएको छ । यस वर्ष पाँच लाख १३ हजार ४७१ जना विद्यार्थीहरूले एसइई दिन लागेका छन् । एसइईका लागि देशभरका एक हजार ९६५ वटा र जापानमा एउटा गरी कूल एक हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् । एसइईमा ११ हजार ३७० विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् । एसइई स्कुलस्तरको परीक्षा हो । यसलाई पहिलादेखि नै फलामको ढोका भनेर भनिँदै आइएको छ । यो परीक्षालाई एक प्रकारको हाउगुजी जस्तो भाष्य बनाइएको छ । एसइईपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि पुग्ने गर्दछन् । एसइई भन्नेबित्तिकै के के न होला भन्ने खालको वातावरण तयार पारिनु गलत छ । यसलाई सामान्य रूपमा लिनका लागि वातावरण तयार पार्न जरुरी छ । अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई प्रेसर दिन उपयुक्त हुँदैन् । उनीहरूलाई स्वतन्त्र तरिकाले अध्ययन गर्न र परीक्षा दिने वातावरण तयार पारिदिनु पर्दछ । भविष्यमा उच्च शिक्षा अध्ययनका लागि एसइई एक महत्वपूर्ण ढोका हो । यसलाई सामान्यीकरण गर्दै बालबालिकाहरूको मनोवल बढाउने कार्यहरू गर्न जरुरी छ ।

परीक्षाका समयमा पनि अनुगमनका नाममा अनावश्यक रूपमा जोकोहीलाई परीक्षा केन्द्रैभित्र प्रवेश निषेध गरिनु पर्दछ । यसअघिका परीक्षाहरूमा अनुगमनका नाममा सरोकारै नराख्नेहरू पनि विभिन्न संघसंस्थाका नाममा परीक्षा हलभित्र छिर्ने, परीक्षा दिइरहेका परीक्षार्थीहरूको कापी हेर्ने लगायतका उनीहरूलाई हतोत्साहित बनाउने कार्यहरू गरिएका घटनाहरू बाहिर आएका थिए । यस्तो कार्यलाई सम्बन्धित सरोकारवाला निकायले गम्भीर रूपमा लिएर रोक्न जरुरी छ । परीक्षार्थीहरूले पनि नआत्तिएर स्वतन्त्र भएर परीक्षा दिन आवश्यक छ । एसइईलाई मर्यादित रूपमा सम्पन्न गर्नका लागि सबै सरोकारवाला निकायले उल्लेख्य सकारात्मक भूमिका निर्वाह गर्न जरुरी देखिन्छ । कैयौँ ठाउँहरूमा विद्यार्थीलाई चिट चोराउने, सेटिङ गर्ने जस्ता कार्यहरू पनि यसअघिका परीक्षाहरूमा देखिएका थिए । यसप्रकारका कार्यहरू पूर्ण रूपमा रोक्न आवश्यक छ । एसइईलाई मर्यादित, व्यवस्थित र भयरहित वातावरण बनाउन अपरिहार्य छ । शान्तिपूर्ण वातावरण तयार पारिनु पर्दछ । अभिभावक, शिक्षक, सुरक्षाकर्मी र विद्यार्थी सबैले परीक्षा मर्यादित बनाउन आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दछ । विद्यार्थीहरूले अनुशासित भई परीक्षा दिने बानी विकास गर्नु पर्दछ । चिट चोर्ने तथा चोरी गराउने कार्य तथा प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित पार्नु पर्दछ । चिट चारेर उत्तीर्ण गरेका विद्यार्थीहरू भविष्यमा गएर दक्ष बन्न सक्दैनन् । भविष्यमा योग्य र दक्ष जनशक्ति उत्पादन गर्नका लागि परीक्षामा सकारात्मक कडाइको खाँचो हुन्छ ।

अहिलेका युवा विद्यार्थीहरू भविष्यका कर्णधारहरू हुन् । सक्षम र दक्ष जनशक्ति उत्पादनतर्फ परीक्षा केन्द्रित हुनु पर्दछ । परीक्षाको सफलतासँगै त्यसले भविष्य निर्धारण गर्ने भएकाले एसइई परीक्षालाई महत्वपूर्ण रूपमा हेरिन्छ । एसइईमा जसरी भए पनि उत्तीर्ण हुनु पर्दछ, एसइई उत्तीर्ण नभएमा संसार नै डुब्छ भन्ने जस्ता भाष्य समाजमा निर्धारण हुँदा पनि विद्यार्थीहरूमा नकारात्मक छाप र असर परिरहेको हुन्छ । परीक्षा अमर्यादित हुँदा प्रत्येक वर्षजस्तो नक्कली परीक्षार्थी भेटिने, परीक्षा निरीक्षकहरूले नै परीक्षार्थीलाई सिकाउने लगायतका गलत क्रियाकलापहरू असअघिका परीक्षाहरूमा देखिएका थिए । एसइईलाई अनुशासित, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सरोकारवालाहरूको सकारात्मक अनुगमनको आवश्यक पर्दछ । अनुगमनका नाममा विद्यार्थीहरूलाई हतोत्साहित बनाउने कार्यभन्दा उनीहरूलाई सरल र सहज रूपमा परीक्षा दिन पाउने वातावरण बनाउनु आवश्यक छ । विद्यार्थीहरूले चिट चोरेर तथा जसरी पनि एसइई उत्तीर्ण गर्नुपर्छ भन्ने सोच त्यागेर स्वअध्ययन गर्न जरुरी छ । मनमा डर, त्रास र भय लिनु हुुँदैन् । सामान्य तरिकाले अन्य कक्षाकोजस्तै परीक्षा मानेर सहभागी हुनु आवश्यक छ । भविष्यमा योग्य र दक्ष जनशक्ति उत्पादन गर्नका लागि एसइईलाई मर्यादित रूपमा सञ्चालन गरिनु पर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार