राजनीतिको साढे तीन वर्षमै बालेनको प्रधानमन्त्री छलाङ



वीरेन्द्र जैसी । नेपालगन्ज ।

तीन वर्षअघि २०७९ सालको स्थानीय तहको निर्वाचनसम्म बालेन्द्र शाह (बालेन) अधिकांश नेपालीहरूबीच अपरिचित थिए । यद्धपि ¥याप र हिपहप रुचाउने युवाहरूमाझ उनी लोकप्रिय पनि थिए । तर, राजनीति हिसाबले उनी पूर्णतया अपरिचित व्यक्ति थिए । तर, उनी त्यतिबेला काठमाडौँ उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए ।

उक्त निर्वाचनको तीन वर्षमै बालेन देशकै सबैभन्दा उच्च कार्यकारी पदमा पुगेका छन् । त्यो पनि लोकतान्त्रिक प्रक्रियाको बाटो हुँदै ।लोकतन्त्रमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र लामो राजनीतिक यात्रापछि मात्रै प्राप्त हुने ठानिएको प्रधानमन्त्रीको पदमा तीन वर्षमै पुगेर बालेनले नयाँ मानक स्थापित गरिदिएका छन् । ३६ वर्षको उमेरमा प्रधानमन्त्री पदमा नियुक्त बालेनले प्रधानमन्त्री हुने व्यक्तिका रूपमा नयाँ रेकर्डहरू पनि बनाएका छन् ।

उनी प्रजातन्त्रपछिका एक्ला युवा प्रधानमन्त्री, बहुदलीय प्रणालीपछि जन्मिएको पहिलो प्रधानमन्त्री र मधेशी समुदायबाट आएका पहिलो प्रधानमन्त्री बनेका छन् । ७३ वर्षीया सुशीला कार्कीपछि उनी ठिक आधार उमेर कान्छो उमेरको उत्तराधिकारी प्रधानमन्त्री पनि बनेका छन् ।
राजनीतिक रूपमा धेरै अर्थराख्ने घटनाका रूपमा प्रधानमन्त्री बनेका बालेनको ¥यापर, स्ट्रक्चरल इन्जिनियर, काठमाडौँको मेयर हुँदै मुलुकको कार्यकारी प्रमुखको कुर्सीसम्मको उनको उकालो नेपाली राजनीतिमा सबै दृष्टिकोणले दूरकालसम्म सम्झिइने घटना बनेको छ ।

¥यापर हुँदै थियो राजनीतिक चेत

काठमाडौँको नरदेवीमा जन्मिएका बालेनका बुबा आयुर्वेदिक चिकित्सक थिए भने आमा गृहिणी थिइन् । उनले काठमाडौँबाट सिभिल इन्जिनियरिङ् पूरा गरेपछि भारतको कर्नाटकस्थित विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङ्मा स्नातकोत्तर गरेका थिए ।

१४ वर्षअघि पहिलो गीत ‘सडक बालक’ रिलिज गरेका बालेनलाई त्यसको एक वर्षपछि भएको एक ¥याप ब्याटल प्रतियोगिताले रातारात पछिल्लो युवापुस्ताको आवाज बनायो । उनका प्रायः ¥यापहरूमा भ्रष्टाचार, सामाजिक असमानता र राजनीतिक विसंगति सम्बन्धि विषय प्रधान भएर आउने गरेको छ ।

उनको चर्चित गीत ‘बलिदान’ ले मात्र युट्युबमा १४ मिलियन भ्यू पाएको थियो । यसै समयदेखि उनको पहिचान कालो चश्मा र कालो कोट लगाउने ’बालेन’ को रूपमा स्थापित भयो । जसलाई उनले प्रधानमन्त्री भइसकेपछि पनि निरन्तरता दिएका छन् ।

राजनीतिमा अविजित यात्रा

¥यापरको रूपमा स्थापित बालेनले २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बने, चुनाव जिते र राजनीतिमा हलचल ल्याइदिए । मेयरका लागि उम्मेदवार हुनु उनको राजनीतिक यात्राको पहिलो पाइला थियो । उक्त पाइला देशविदेशमा चर्चा बटुल्नेगरी चर्चित भयो ।

लामो समय राजनीतिक दलहरूले देशका सबैजसो संस्थाहरूमा राजनीतिकरण गरेर जनतामा जगाएको आक्रोश र वितृष्णाको विरोधमा परम्परागत दलहरूको विकल्प खोजिरहेका मतदाताहरूले उनलाई ठूलो मतले विजयी बनाए । उनले नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका पूर्वमेयर केशव स्थापितजस्ता दिग्गज नेताहरूलाई पराजित गर्दै मेयर बने ।

उनको यो जितले नेपालको राजनीतिमा ठूलो हलचल ल्यायो र टाइम म्यागजिनले उनलाई सन् २०२३ का टप १०० उदीयमान नेतामा सूचीकृत गर्यो । बालेनकै जितपछि पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको गठन भयो । यहीबीचमा २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले देशमा अप्रत्याशित स्थिति ल्यायो ।

उक्त आन्दोलनपछि २ वर्ष कार्यकाल बाँकी छँदै भएको संसद विघटन भएर नयाँ प्रतिनिधि सभाका लागि भएको निर्र्वाचनमा उनले आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्या केपी शर्मा ओलीलाई ओलीले चुना जित्दै आएको झापा ५ मै हराइदिए । यसपटक रास्वपाले संसदको दुईतिहाई बहुमतभन्दा दुई सिट कम अर्थात एक सय ८२ सिटमा विजय हासिल गर्याे । यस जितका पछाडी बालेनकै लोकप्रियताले पनि ठूलो भूमिका खेलेको राजनीति क्षेत्रका जानकारहरू बताउँछन् ।

मेयर हुँदा सुधारको सुरुवात र विवाद

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा बालेनले शिक्षा, सडक तथा फुटपाथ व्यवस्थापन लगायकतका काममा सुधारको सुरुवात गरे । त्यसक्रममा उनले समर्थन र आलोचना उसैगरी पाए । उनले सडक अतिक्रमण हटाउन, कर छली गर्नेहरूविरुद्ध कारबाही गर्न र सार्वजनिक जग्गाको खोजीको अभियान चलाए ।

उनले मेयर हुँदा चर्काे राष्ट्रवादी छवी बनाउने प्रयास गरे । भारतले आफ्नो संसदमा अखण्ड भारत नामक अनाधिकारिक नक्सा राखेको विरोधमा आफ्नो कार्यकक्षमा ’ग्रेटर नेपाल’ भनिने अनाधिकारिक नक्सा राखे । एक बलिउड फिल्ममा ‘भारतकी छोरी सिता’ भनेर उल्लेख भएको विरोधमा उक्त फिल्मलाई काठमाडौँमा प्रदर्शन गर्न रोक लगाए ।

सडक अतिक्रमण हटाउने भन्दै सडकमा व्यापार गर्नेहरू हटाउने क्रममा नगर प्रहरी अमानवीय व्यवहारहरू देखाएको भन्दै मानवअधिकारवादी संस्थाहरूले आलोचना गरे । त्यस्तै, श्रीमति चढेको गाडीलाई प्रहरीले रोकेको भन्दै उनले ‘सिंहदरबारमा आगो लगाइदिने’ जस्ता आक्रामक अभिव्यक्ति दिएका थिए, जुन पछि उनले हटाए पनि । तर जेनजी आन्दोलनमा सिंहदरबार जलेपछि उनको उक्त अभिव्यक्तिले पुनः लखेटिरहेको छ । जेन आन्दोलनबारे छानबिन गर्न गठित आयोगलाई बयान दिँदा बालेनले सिंहदरबार ‘जलाइदिने’ भनेर नभनेको बताएका छन् ।

जेनजी आन्दोलनले पु¥यायो प्रधानमन्त्रीको कुर्सीमा

२०८२ सालको भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन नभएको भए बालेनको प्रधानमन्त्री सम्मको यात्रा यति छोटो हुने थिएन । नेपाली राजनीतिमा ठूलो भूकम्प ल्याएको उक्त आन्दोलनले स्थापित परम्परागत दलहरूलाई धराशायी बनाएको छ भने बालेन र उनी आबद्ध रास्वपालाई भने सत्तामा पु¥याइदिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि भ्रष्टाचार र कुशासनले आजित भएका युवाहरूलाई सडकमा उत्रिने बाहना दियो । उक्त आन्दोलन बालेनको राजनीतिक जीवनको सबैभन्दा निर्णायक मोड साबित भयो । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उनको गीत ‘म नेपाल हाँसेको हेर्न हाहन्छु’ लाई आफ्नो आन्दोलनको गान बनाए ।

उनले सामाजिक सन्जालमार्फत आन्दोलन शान्तिपूर्ण हुनुपर्ने शर्तमा समर्थन गरे । प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीको गोली लागेर युवाहरूको ज्यान गयो । सिंहदरबार, सर्वाेच्च अदालत, संसद, प्रधानमन्त्रीको सरकारी निवास, संसद् भवनलगायत देशभरका सरकारी भवनमा आगजनी भयो । उक्तः घटनापछि ओली सरकार ढल्यो ।

उक्त संकटको घडीमा बालेनले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावलाई अस्वीकार गर्दै, सेवानिवृत्त प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुन सहयोग गरे । यस घटनाले उनलाई केवल काठमाडौँको मेयर नभई राष्ट्रिय स्तरको नेताको रूपमा स्थापित गरायो ।

चुनावको करिब एक महिनाअघि बालेनले मेयर पद छोडेर रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपामा प्रवेश गरे । रास्वपा जेनजी आन्दोलनमा सहभागी नभएपनि उक्त आन्दोलनलाई समर्थन गरेको थियो । बालनको उक्त चाल धेरैका लागि आश्चर्यको विषय थियो । किनकी उनी आफ्नै दलबाट चुनावमा जाने या अर्काे चुनावबाट संसदीय राजनीतिमा आउने अनुमान धेरैले गरेका थिए । रास्वपाले पनि उनलाई दोस्रो स्थान दिँदै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्याे ।

त्यसपछि देशभर रास्वपा, बालेन र पार्टीको चुनाव चिन्ह घण्टीमा जनलहर देखियो । पार्टीले २७५ सीटमध्ये १८२ सीटमा जित हासिल गर्दै दुई तिहाइको नजिकको बहुमत प्राप्त गर्यो । बालेन आफैँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गढी झापा क्षेत्र नम्बर ५ बाट ओलीलाई पराजित गर्दै लगभग ५०,००० मतको फराकिलो अन्तरले विजयी भए ।

यो भारी जितपछि बालेनले ज्योतिषलाई साइत हेराएर रामनवमीको दिन प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा हिन्दू र बौद्ध दुवै परम्पराका अनुसार मन्त्रोच्चारण गरिएको छ । प्रधानमन्त्री बन्नु अघिल्लो दिन उनले आफ्नो प्रतिबद्धता झल्किने एक र्याप गीत पनि सार्वजनिक गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार