शिवु खनाल । दाङ ।
सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । लमही नगरपालिकाले राजस्व संकलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग गर्न सुरुवात गरेको छ ।
यसका लागि पालिकाले ‘क्युआर कोड’मार्फत पनि राजस्व संकलन प्रारम्भ गरेको छ । यससँगै नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत एकैपटक सुरु गरेको हो । यसपश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाइनमार्फत घरमै बसी उपभोग गर्न सक्दछन् ।
नगरपालिकामा प्रविधियुक्त सुशासन कायम गर्न यस किसिमको अनलाइन सेवाले अहम् भूमिका हुने लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले बताए । उनका अनुसार ‘उत्पादन रोजगार र बजारीकरण ः प्रविधियुक्त सुशासन’ भन्ने नारालाई लमही नगरपालिकाले प्राथमिकता दिएको छ । ‘लमही नगरपालिकामा क्युआर कोड सेवा सुरु भएको छ । स्थानीय तहको राजस्व व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले क्युआर कोड सेवा सुरु गरिएको हो ।’ उनले भने ।
योसँगै अब लमही नगरपालिका र वडा कार्यालयहरूमा जाने जुनसुकै स्थानीय सेवाग्राहीले क्युआर कोडमार्फत नगदरहित भुक्तानी गर्न सक्नेछन् । सांग्रिला सफ्टवयरको प्राविधिक सहयोगमा लमही नगरपालिका र सम्पूर्ण वडाहरूबाट राजस्व संकल गर्दै आएको नगरपालिकाले माहालेखा नियन्त्रण कार्यालय काठमाडौँले उपलब्ध गराएको सूत्र सफ्टवेयरअन्तर्गत रहेको राजस्व मोड्युललाई पूर्ण रूपमा सञ्चालन गरेको लमही नगरपालिका आइटी अफिसर नरेन्द्र गुप्ताले जानकारी दिए ।
नगरपालिकाको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्नेमा रकमअनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्युआर कोडमा सोझै रकम भुक्तानी गर्नका लागि लमही नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।
राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीतिअनुरुप कार्यालयले आइतबारदेखि क्युआर कोडमार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । आइटी प्रमुख गुप्ताका अनुसार नगरपालिका कार्यालयको अन्र्तगत राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरूमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुरहरू क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।








प्रतिक्रिया दिनुहोस्