पत्रकारिता गर्दागर्दै उनी सामाजिक अभियानमा होमिए । दलितका लागि दलित अभियान सञ्चालन गरिरहेकै बेला दलितलाई खै ? माइतीघरमा अनसन बसे । पछिल्लोपटक जेनजी आन्दोलनपछि हाम्रो पार्टी नेपाल खोलेका सुनार नागरिक सरकारको मन्त्रीमा समेत प्रस्तावित भएका थिए। पछि पार्टीलाई रास्वपामा मिसाएर चुनावमार्फत अनुमोदित हुँदै उनी नीति, कानुन निर्माण गर्ने थलो संसद्मा पुगेका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित ६ जना युवाहरूको हत्या नहुँदो हो त खगेन्द्र सुनार अहिले पनि पत्रकारिता नै गरिरहेका हुन्थे । यो त्यही घटना थियो जसले पत्रकार खगेन्द्रलाई आन्दोलनकारी खगेन्द्र बनाइदियो । पछि उनी सामाजिक अभियन्ताका रूपमा चर्चित भए । समयक्रमले उनलाई देशको नीति र कानुन बनाउने थलोमा पु¥याएको छ ।
सो दिन नवराज आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरूसँगै रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरे । १२ जना घाइते भएका थिए । उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रूकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।
उक्त घटनाबाट विक्षिप्त बनेका सुनार आन्दोलनमा होमिए । नवराज विकसहित ६ जनाको हत्याको दुई दिनपछि खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रूकुम पश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए । उनी नेपालको दलित आन्दोलनको एक अगुवा नै बने ।
दलितका लागि दलित अभियानमार्फत उनले दलित समुदायको हकका आवाज बोले । विभेदविरुद्ध समाज र सत्तालाई सधै प्रश्न गरिरहे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्मा दलित प्रतिनिधित्व नभएपछि खगेन्द्रले आन्दोलन सुरु गरे । राज्यका सबै निकायमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने संवैधानिक अधिकारलाई उपेक्षा गरेकाले माइतीघरमा धर्ना सुरु गरेका थिए ।
‘दलितलाई खै ?’ अभियान सोही कारण जन्मिएको थियो । खगेन्द्रको ‘दलितलाई खै ?’ आन्दोलन केवल नारा मात्रै थिएन । यो त संरचनागत असन्तुलनको प्रतिरोध थियो । उनले सडक अनसन, धर्नामार्फत आवाज उठाए । कथित उच्च जातका संरचनात्मक दबाब र अप्ठ्यारो कानुनी चुनौती सामना गरे । मिडियामा छताछुल्ल विवादको सामना गर्दै आन्दोलनको मूल सन्देश जोगाए । उनको आन्दोलनले देखायो कि दलितले भोगेका दुःख केबल व्यक्तिगत नभएर देशको शैक्षिक, राजनीतिक, आर्थिक तथा सामाजिक स्तरमा निर्मित सबैको साझा पीडा हो ।
नवराज विक हत्या प्रकरण त्यही विद्यमान समाजमा व्याप्त विभेदको चरम रुप थियो । जसका कारण उनी आफ्नो पेसामा अडिरहन सकेनन् । उनले समाज र सत्तालाई शालिन रूपमा प्रश्न गरिरहे । कहिले शरीरभरी साङलो बाँधेर महिनौँ माइतीघरमा उभिए । कहिले अदालतको अगाडी अनसन बसे । जुनसुकै देशको आन्दोलनले पनि एउटा नायक खोजिरहेको हुन्छ ।
किनभने जसरी मौरीको बथानले आफ्नो रानीको वरिपरि नै अस्तित्व र जीवन पाउँछ कुनै पनि आन्दोलनले आफैँ स्वस्फूर्त रूपमा केही काम गर्दैन । एउटा नायकले उठाएको सवालमा आफूलाई जोड्दै लैजान्छ र आन्दोलनलाई गन्तव्यमा पु¥याउँछ । ‘व्यक्ति एक परिचय अनेक’ भन्ने वाक्य ठ्याक्कै कसैको जीवनमा मेल खान्छ भने त्यो व्यक्ति हुन्, खगेन्द्र सुनार । उनी व्यक्ति एक परिचय अनेक भएका व्यक्तित्व हुन् । पत्रकार, आन्दोलनमार्फत स्थापित आवाज अब नेपालको संसद्मै गुञ्जिनेछ ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसधा निर्वाचित उनी बाँके ३ बाट निर्वाचित भए । प्रत्यक्षतर्फ देशभर रहेका १६५ सिटमध्ये दलित समुदायबाट निर्वाचित हुने खगेन्द्र एकमात्र व्यक्ति हुन् । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुनारले काँग्रेस र कम्युनिस्ट पार्टीको गढ नै भत्काई दिए । प्रतिस्पर्धीभन्दा ९ हजार ९ सय ४२ मतान्तरले निर्वाचित हुँदै पहिलोपटक संसद्मा प्रवेश गरेका हुन् । उनले २९ हजार पाँच सय ५१ मत ल्याए ।
उनीसँग एमालेका सुमन मल्लले १९ हजार ६०८ मतसहित पराजित भएका छन् । नेपाली काँग्रेसका अमरसिंह पुनले १३ हजार १३५ मत ल्याएका छन् । पत्रकारितामार्फत समाजमा दबिएका आवाज बुलन्द गर्दै अभियन्ताको रूपमा दलित समुदायको हक अधिकार र सशक्तीकरणका लागि लामो समयसम्म संघर्ष गरे । विभेदकारी राज्य संरचना र जातीय छुवाछुतविरुद्ध लड्दै आएका सामाजिक अभियन्ता सुनार संसद् छिरेका छन् ।
दैलेखको छातीकोटदेखि संसद्सम्मको बाटो

खगेन्द्र सुनारको जन्म विसं २०४७ जेठ २ गते दैलेखको नारायण नगरपालिका छातीकोटमा भएको हो । उनका पिताको नाम कमानसिंह सुनार र आमाको नाम देवीसरा सुनार हो । खगेन्द्रले कक्षा ८ देखि १२ सम्म सुर्खेतको वीरेन्द्रनगरमा बसेर पढे । २०६६ सालबाट कलाकारितामा लागेका उनले रेडियो पञ्चकोशीबाट पत्रकारिता सुरू गरेका थिए ।
राजनीतिशास्त्र र इतिहासमा स्नातक उनले काठमाडौँमा पनि पत्रकारिता गरेका थिए । पत्रकारितासँगै ‘दलितका लागि दलित अभियान’को संयोजक बनेका थिए । २०७७ जेठमा रूकुम पश्चिमका नवराज विकसहित ६ युवाको हत्या भएपछि खगेन्द्र दलित आन्दोलनमा प्रखर र आक्रामक अभियन्ताका रूपमा चर्चा कमाएका थिए ।
खगेन्द्रले २०७८ जेठदेखि ‘दलितका लागि खै ?’ भन्ने अभियान चलाएका थिए । २०८१ साउन २३ देखि काठमाडौँको माइतीघरमा शरीरमा नेल लगाएर र विभिन्न सांकेतिक विरोध प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए । सामाजिक अभियन्ताको रूपमा परिचय बनाएका खगेन्द्रले यो जित आफ्नो नभएर जनताको जनादेशको जित भएको बताए । दलित आन्दोलन सञ्चालन गरिरहेकै समयमा उनले जेनजी आन्दोलनपछि हाम्रो पार्टी नेपाल नामक राजनीतिक दल गठन गरेका थिए । पछि पार्टीलाई रास्वपामा समाहित गरे । उनी अहिले रास्वपाको केन्द्रीय सदस्य छन् ।
खगेन्द्र सुनार अर्थात् स्वामी ध्यान आशीष

विशेषत सामाजिक अभियन्ताको छवि बनाएका खगेन्द्रको अर्को परिचय हो, उनी ओशो सन्यासी हुन् । ओशोका अनुयायी उनी आफूलाई जोगी भन्न रुचाउँछन् । उनको आध्यत्मिक नाम स्वामी ध्यान आशीष हो । आफ्नो अर्को परिचयलाई लिएर उनी भन्छन्, ‘बुद्ध शान्ति पनि हुन् । क्रान्ति पनि हुन् । युद्ध र बुद्ध सँगसँगै हुन्छन् ।
म महात्मा गान्धी र वीपी कोइरालाहरूभन्दा अराजक छैन,’ उनी भन्छन्, ‘म जस्तो देखिन्छु, त्यस्तो छैन । जस्तो छु, त्यस्तो देखिँदैन । म भित्र अर्को किसिमको छु,’ समाज र परिस्थितिले बनाएको खगेन्द्र सुनार अलग किसिमको छ । बाँके ३ बाट निर्वाचित भएपछि उनी सुटुक्क तपोवन गएका थिए ।
आफूसँग खगेन्द्रको भेट भएको स्वामी आनन्द अरुणले लेखेका छन् ‘बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा उल्लेखनीय विजय हासिल गर्नुभएकोमा खगेन्द्र सुनार (स्वामी ध्यान आशीष)लाई हार्दिक बधाई । सामाजिक न्याय, समानता र सीमान्तकृत समुदायको अधिकारप्रति तपाईँको लामो समयदेखिको समर्पणले देशभरका धेरैलाई प्रेरणा दिएको छ । जनताको प्रतिनिधित्व गर्दै समावेशी विकास र न्यायपूर्ण समाजको लागि काम गरिरहनुभएकोमा तपाईँलाई ठूलो शक्ति र सफलताको कामना गर्दछु ।
चुनाव जितेर पहिलोपटक काठमाडौँ पुगेपछि पत्रकारले सोधेको प्रश्नमा आफूले तपोवन गएको कुरा लुकाएको बताएका थिए । त्यसो त उनी आफ्नो आन्दोलन नसकिएको बताउँछन् । भूमिका फेरिए पनि आफ्नो आन्दोलनको अध्याय नफेरिएको उनको भनाइ छ । काठमाडौँ पुगेलगत्तै सांसद सुनार सुर्खेतकी इनिशा विकको न्यायका लागि भन्दै माइतीघरमा आन्दोलन गर्न पुगेका थिए । सुनार शाकाहारी हुन् ।









प्रतिक्रिया दिनुहोस्