सम्पादकीयः युवाको काँधमा देश



देश नयाँ परिवर्तनको दिशामा अगाडि बढेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् भएको राजनैतिक परिवर्तनबाट देश अहिले नयाँ दिशामा अगाडि बढिरहेको छ । यो परिवर्तन गर्नका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको छ । युवाहरुकै कारण अहिले देशको नेतृत्व पनि युवा पुस्ताबाटै हुने देखिन्छ । देशमा सुशासनको कायम, भ्रष्टाचारको अन्त्य, बेथितिको अन्त्य, बेरोजगारीलाई देशमै रोजगारीको व्यवस्था लगायतका विभिन्न मागहरु राखेर गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले आन्दोलन गरे । उक्त आन्दोलनमा देशका ७६ जना नागरिकले शहादत प्राप्त गरे । जसको बल र जगमा टेकेर प्रतिनिधिसभाको विघटन हुँदै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । जसको काम भनेकै छ महिनाभित्र संविधानसभा सदस्यको निर्वाचन गराउनु रहेको थियो । र तोकिएकै मितिमा निर्वाचन पनि सम्पन्न भएर मतगणनाको अन्तिम अन्तिम अवस्थासम्म आइपुगेको छ । यो अवस्थासम्म आइपुग्दा नयाँ शक्तिका नाममा भर्खरै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमतको नजिक पुगेको छ । उक्त पार्टीमा पनि अधिकांश युवाहरु नै रहेका छन् । निर्वाचनमा आम नागरिकले पुराना राजनैतिक दलहरुलाई किनारा लगाउँदै नयाँ शक्तिका रुपमा अगाडि बढेको रास्वपालाई प्रत्यक्ष तथा समानुपातिकबाट दुईतिहाइसम्म पुग्ने मत प्रदान गरे ।

यो अवस्था सिर्जना हुनुमा स्वयम् पुराना र ठूला भनिएका राजनीतिक दलहरु नै हुन् । उनीहरुको अहमता र अनावश्यक दम्भका कारण नागरिकले उनीहरुलाई किनारा लगाउँदै रास्वपाको काँधमा देशको भविष्य सुम्पे । अब पक्कै पनि देशले केही आशा गरेको छ । आम नागरिकहरुले आशा गरेका छन् । अब भने देशमा सुशासन कायम, भ्रष्टाचारमुक्त समाज, रोजगारीको व्यवस्था हुनेमा आशावादी हुन सकिन्छ । रास्वपाको चुनावी घोषणापत्रमा गरिएको वाचाअनुसार अब काम हुने हो भने पक्कै पनि आम नागरिकको मत खेर जाँदैन । युवा भनेका देशका भविष्यका खम्बा हुन् । नेपाल मात्रै नभएर विश्वका हरेक आन्दोलनमा युवाशक्तिकै नेतृत्व रहेको छ । हरेक आन्दोलनमा युवापंक्ति अग्रभागमा रहेर मोर्चा सम्हालेका इतिहास छन् र यो परिवर्तन पनि युवाहरुकै नेतृत्वमा भयो । र निर्वाचनपछि देशमा देखिएको राजनैतिक परिवर्तनमा पनि आम नागरिकले युवालाई नै मत दिएर अगाडि बढाएका छन् । भदौ २३ र २४ पछि भएको परिवर्तनमा युवाहरुले रास्वपालाई अगाडि बढाएका छन् । रास्वपालाई विश्वास गर्दै युवालगायत आम नागरिकले दुईतिहाइकै सरकार बनाएर देशमा राजनीतिक स्थिरता कायम राख्ने म्यान्डेट प्रदान गरेका छन् । अब देशको भविष्य युवाहरुको नेतृत्व गर्दै अगाडि बढिरहेको रास्वपाकै काँध र हातमा छ ।

अब बन्ने सरकार पाँच वर्षसम्म ढुक्कसँग चल्ने छ । कुनै राजनैतिक दाउपेच हुने छैन् । कुनै सत्ता परिवर्तनका लागि महिना महिनामा हुने अंकगणितीय खेल हुने छैनन् । लामो इतिहास बोकेका राजनैतिक दलहरुको सत्तामोहकै कारण अहिलेको यो अवस्था आएको र आफ्नो हातमा सत्ता सञ्चालन गर्ने अधिकार जनताले सुम्पेको रास्वपाले बिर्सनु हुँदैन् । नयाँ पुस्ताका नयाँ युवाहरुबाट आम नागरिक र देशले परिवर्तनको ठूलो आशा र भरोसा गरेको छ । अब देशको मुहार फेर्न युवाहरु अगाडि बढिसकेको स्थिति देखिन्छ । जसरी आम नागरिकले आशा र भरोसा गरेर पाँच वर्षसम्म स्थायी रुपमा सत्ता सञ्चालन गर, देशमा भइरहने राजनीति अस्थिरताको अन्यत गर्न भनेर आफ्नो मतद्वारा युवाको काँधमा अधिकार प्रदान गरेका छन् । त्यसैगरी देशलाई राजनीतिको अस्थिरताबाट जोगाउँदै विकासतर्फ अगाडि बढाउन आवश्यक छ । साथै, कानुन निर्माण, परिमार्जन, देशको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका गम्भीर विषयहरुमा काम गर्नका लागि सम्पूर्ण राजनैतिक दलहरुको पनि साथ लिन जरुरी छ । सम्पूर्ण अधिकार आफ्नो हातमा आयो, जे पनि गर्न सकिन्छ भन्ने हिसाबले अगाडि बढ्दा फेरि पनि देश दुर्घटनामा पर्न सक्छ । तसर्थः प्राप्त मताधिकारको बलमा सबैलाई साथ लिएर सबैको साझा समर्थन लिँदै अगाडि बढ्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार