तोकिएको समयमा निर्वाचन होला कि नहोला ? भन्ने आशंकाबीच देशमा गत फागुन २१ गते तोकिएकै मितिमा देशैभर एकपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलताका साथ सम्पन्न भइसकेको छ । निर्वाचन सफलताका साथ सम्पन्न भइसकेपछि अहिले मतगणना जारी छ । प्राप्त नतिजाअनुसार पुराना भनिएका दलहरुलाई जनताले विश्वास गरेनन् । नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आम जनताले विश्वास मानेर दुईतिहाइ नजिकको मत दिए । मतगणना अन्तिम अन्तिमतिर पुग्दा रास्वपाल लगभग दुईतिहाइ नजिक पुगेको छ । विगत वर्षौँदेखि आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि ठूला भनिएका राजनीतिक दलहरुले अंकगणितीय हिसाबमा कहिले को कहिले को सत्ताको कुर्सी आफू वरिपरि नै घुमाइरहे । आम जनताले आशा गरेका कामहरु गर्न सकेनन् । सत्ता बनाउने र भत्काउने फेरि पनि सत्ता बनाउने दौडमा ठूला भनिएका दलहरु र तिनका नेताहरु लागे । फलस्वरुप यो निर्वाचनमा सबै ठूला दलहरु सडकमा पुग्नुपर्ने बाध्यता आम जनताले गराइदिए र नयाँ शक्तिका रुपमा उदाएको रास्वपालाई करिब दुईतिहाइको मतका साथमा सरकार बनाउन म्यान्डेट दिए । नेपाली काँग्रेस र नेकपा एमालेका सभापति तथा अध्यक्षसहित अधिकांश ठूला भनिएका नेताहरु तथा पदाधिकारीहरुले नै नराम्रोसँग हार व्योहर्नु प¥यो ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने जित हासिल गरे ।
यद्यपि अत्यन्तै न्यून संख्यामा उक्त पार्टीले सिट जित्न सकेको छ । सधैँभर ठूला दलहरु आलोपालो गर्दै सत्तामा जाने र सत्तामा पुगेर देशको विकास, देशमा सुशासन कायम, भ्रष्टाचारमुक्त समाज, बेरोजगारीलाई रोजगारीको सिर्जना गर्नुका सट्टामा आफू र आफ्ना आसेपासेहरुलाई राजनीतिक नियुक्ति, भ्रष्टाचार गर्ने, सुशासन कायम गर्नुको सट्टा कुशासनको प्रवृत्तिलाई प्रसय दिनु लगायका विभिन्न कारणहरुले गर्दा ठूला दलहरुप्रति नागरिकको विश्वास गुम्दै गयो । यसैका कारण तत्कालीन सरकारविरुद्ध गत भदौ २३ र २४ गते ७६ जना नेपाली नागरिकको ज्यान जाने तथा अर्बौँ रुपैयाँको सरकारी तथा नीजि सम्पत्तिमा आगजनीका घटना भए । जसका कारण तत्कालीन सरकार सत्ताच्युत हुन पुग्यो भने देशले निर्वाचन गराउनका लागि भनेर नयाँ अन्तरिम सरकार पायो । सोही अन्तरिम सरकारले ६ महिनाभित्रै तोकिएकै समय र मितिमा निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्न सफल बन्यो । अब मतगणनाको अन्तिम चरणमा आइपुग्दा अहिलेसम्म सत्ता स्वादमा रमाएका ठूला दल र ठूला नेता भनिनेहरुलाई जनताले सडकमा पु¥याइदिए । त्यत्रो नागरिकको ज्यान जाने गरी भएको विध्वंश घटनापश्चात् पनि ठूला राजनीतिक दल र उनीहरुका नेताहरुमा चेत जागेन् ।
पुरानै शैली अपनाउँदै उनीहरुले नयाँ भन्नेहरुलाई गाली गर्ने, उक्साउने, चिढ्याउने, हेप्ने, पेल्ने लगायतका कार्यहरु गर्दै आए । सुध्रिन सकेनन् । आफ्नो गल्तीलाई गल्ती मानेर जनताका घरदैलोमा पुगेर माफी माग्न सकनेन् । पुरानै दम्भ र आक्रामक शैली तथा खिसिट्युरी गर्नैमा व्यस्त रहे । जसको परिणाम उनीहरुलाई निर्वाचनको परिणामले देखाइदियो । हुन त यसप्रकारको अवस्था २०६४ सालमा पनि भएको थियो । त्यतिबेला तत्कालीन नेकपा (माओवादी)लाई पनि नागरिकले यसैगरी संसद्मा पु¥याएका थिए । तर माओवादीले जनताको आकांक्षाअनुसार काम गर्न सकेन र साँघुरिँदै साँघुरिँदै अहिले यो अवस्थासम्म पुगेको छ । अहिले जनताले रास्वपालाई त्यसैगरी पुनः मत दिएका छन् । रास्वपालाई जनताले ठूलो आशा र भरोसाका साथ एकपटक सत्ता सञ्चालन गरी देशलाई निकास दिनका लागि विश्वास गर्दै नयाँ शक्तिका नाममा मत दिए । रास्वपाले अब गम्भीर बनेर नागरिकका समस्याहरुलाई समाधान गर्ने, सुशासन कायम गर्ने, देशबाट भ्रष्टाचार निर्मूल पार्ने तथा बेरोजगारीलाई रोजगारीको व्यवस्था गरी देशभित्रै युवाहरुलाई श्रम गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी रहेको छ । पुराना दलहरुले गरेका गल्ती कमजोरीहरु सुधार्दै आम जनताका घरमा पुगेर माफी माग्न आवश्यक छ । विभिन्न चरणका आन्दोलन गर्दै देशमा राजनीतिक परिवर्तन गर्दै आम जनतालाई हक अधिकार दिलाएका इतिहास बोकेका दलहरुले अब पाठ सिक्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्