नेपालमा पछिल्ला समयमा सवारी दुर्घटनाको अनुपात बढ्दै गएको छ । जसका कारण धेरै नागरिकको अकालमा ज्यान गइरहेको छ भने सयौँ नागरिकहरू अंगभंग भई घाइते बनिरहेका छन् । देशका विभिन्न भागमा दैनिकजसो हुने विभिन्न सवारी दुर्घटनामा परी दर्जनौँ नागरिकको मृत्यु हुने र दर्जनौँ नागरिक घाइते हुने गरेका पाइन्छन् । सवारी दुर्घटनालाई न्यूनीकरण तथा नियन्त्रण गर्न अहिले मुख्य चुनौती बनिरहेको देखिन्छ । यो समस्या नियन्त्रण गर्न सरकार, सवारी चालक, सरोकारवाला सबै पक्ष र समाजका सबै सदस्यहरूले संयुक्त प्रयास गर्नुपर्छ । नेपालमा सवारी दुर्घटनाको बढ्दो जोखिम आजको गम्भीर सामाजिक चुनौती बन्न पुगेको छ । केही दिनअघि मात्रै धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं–५ स्थित पृथ्वीराजमार्गमा बस सडकबाट खसेर २०० मिटर तल त्रिशूली नदीकिनारमा खस्दा एक बेलायती नागरिकसहित १९ जनाको घटनास्थलमै मृत्यु भयो । दुर्घटनामा २५ जना घाइते भए । उक्त कहालीलाग्दो दुर्घटनाको खबरले सबैलाई विक्षिप्त बनायो । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । यो एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा दैनिकरूपमा साना–ठूला दुर्घटना भइरहेका हुन्छन् ।
दैनिकरूपमा भइरहने दुर्घटनाले हाम्रो यातायात प्रणालीको कमजोरीको यथार्थ चित्रण गर्छ । दुर्घटना अप्रत्याशित हुन्छन् भन्ने सामान्य बुझाइ भए पनि नेपालमा दुर्घटनाको स्वरुप भने विभिन्न कारणसँग जोडिएको छ । तीव्र गति, मादक पदार्थ सेवन, अनावश्यक ओभरटेक, लेन अनुशासनको अवज्ञा, यान्त्रिक गडबडी र पैदलयात्रुको हेलचेक्र्याइँजस्ता कारणले दुर्घटनाको जोखिम बढाएको छ ।
चालकको लापरवाही र सर्वसाधारणको असावधानीले दुर्घटनालाई अझ गम्भीर बनाएको छ । दुर्घटना हाम्रो देशको नियति नै बन्न पुगेको छ । प्रहरीले ट्राफिक अभियानलाई सशक्त बनाए पनि दुर्घटना न्यूनीकरण हुन सकेको छैन । ट्राफिक कारबाहीबाट मापसे नियन्त्रणमा केही सफलता हासिल भए पनि यात्रुवाहक बसले क्षमताभन्दा दोब्बर सङ्ख्यामा राख्ने प्रवृत्ति अझै नियन्त्रणमा आएको छैन । सडक फराकिलो बन्दै गए पनि दुर्घटना घटेको छैन, बरू तीव्र गतिमा सवारीसाधन गुडाउने प्रवृत्तिले दुर्घटनाको सम्भावना झनै बढाएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्ने र साना सवारी चालकले नियम पालना नगर्ने प्रवृत्तिले दुर्घटनालाई अझै जटिल बनाएको छ । लामो दूरीका यात्रुवाहक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्ने व्यवस्था गरिए पनि त्यो व्यवस्था लागू भएको पाइँदैन् । एउटै चालकले लामो समयसम्म गाडी चलाउँदा पनि दुर्घटना भएका उदाहरण छन् । यसतर्फ ट्राफिक प्रहरीले गम्भीर बनेर चेकजाँच बढाउनु जरुरी छ ।
थोत्रा गाडीका कारण पनि कैयौँ दुर्घटना भएका छन् । हरेक दिन नागरिक घरबाट बाहिर यात्रामा निस्केपछि गन्तव्यसम्म नपुग्दासम्म उसको मनमा डर र त्रासले बास गरिरहेको पाइन्छ । यति धेरै मात्रामा सवारी दुर्घटना हुनु र अकालमा नागरिकले ज्यान गुमाउनु पर्ने घटनाहरूप्रति सरोकारवाला निकाय गम्भीर हुनु आवश्यक छ । सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहलकदमी लिने, सम्पूर्ण सरोकारवाला पक्षलाई यससम्बन्धी सचेतनामूलक कार्यक्रमहरू गरेर जानकारी प्रदान गर्ने, विद्यालय तथा समुदायतस्तरमा पनि दुर्घटना न्यूनीकरणका बारेमा विभिन्न जनचेतनाका कार्यक्रमहरू गर्न आवश्यक छ । सवारी चालकहरूले गति सीमा, सवारी लाइन र सवारी संकेतहरू लगायतका सवारी नियमहरू कडाइका साथ पालन गर्नुपर्छ । सवारी चालकहरूलाई सवारी शिक्षा दिनुपर्छ, जसले गर्दा उनीहरूले सवारी चलाउने कौशल र सवारी नियमहरू बुझ्न सकून् । सवारी सडकहरू सुधार गर्नु जरुरी छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवाला पक्षले गम्भीर बनेर सवारी नियमहरू पालन गर्न जरुरी छ । बढ्दो दुर्घटनाको जोखिम कम गर्न र यसको चुनौतीलाई समाधान गर्नु नै अहिलेको आवश्यकता हो ।









प्रतिक्रिया दिनुहोस्