सङ्कटका समयमा राष्ट्रिय सभाले संसद्को गरिमा जोगायो : उपाध्यक्ष घिमिरे



काठमाडौँ ।

राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाल सङ्कट र उपलब्धिबिच बितेको बताएकी छन् । लोकतन्त्र र संविधानमाथि प्रश्न उठ्ने परिस्थितिमा समेत सभा सञ्चालन गरी संसद्को गरिमा जोगाउने काम भएको उनको भनाइ छ।

सभा सदस्यका रूपमा चार र उपाध्यक्ष पदमा दुई वर्ष भूमिका निर्वाह गरेकी घिमिरे यही फागुन २० गतेदेखि बिदा हुँदैछिन्। आफ्नो कार्यअवधिको अनुभव साट्न बुधबार आयोजित पत्रकार भेटघाटमा उनले राष्ट्रियसभालाई अनुभवी र विज्ञहरूको सभाका रूपमा स्थापित गर्ने प्रयासमा नचुकेको बताइन्।

उनले राष्ट्रिय सभाको भूमिका, विधेयक निर्माण प्रक्रिया र संसदीय अनुभवबारे धारणा राखिन् । प्रतिनिधि सभा नचलेको अवस्थामा पनि राष्ट्रियसभाले अध्यादेश स्वीकृति र विधेयक प्रक्रिया अगाडि बढाएर संसदीय निरन्तरता जोगाएको उनको भनाइ थियो ।अनुभव साट्ने क्रममा उनले कोभिड महामारीका कारण प्रारम्भिक दुई वर्ष संसदीय अभ्यास प्रभावित भएको उल्लेख गर्दै निर्वाचित भएर आएपछि संसद् नियमित रूपमा चल्न नपाउँदा अभ्यासमा परेको असरसमेत स्मरण गरिन् ।

उपाध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा राष्ट्रियसभामा ३८ भन्दा बढी विधेयक दर्ता हुनु महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिइन्।प्रतिनिधि सभामा मात्र विधेयक केन्द्रित हुँदा प्रक्रिया ढिलो हुने भएकाले दुवै सदनमा समानान्तर दर्ता गर्ने अभ्यास सुरु गरिएको स्मरण गरिन् ।राष्ट्रियसभाले विधेयक लामो समय नअड्काउने बाध्यकारी समयसीमा बनाएको पनि उनले बताइन् ।

अन्तरक्रियामा उनले मिडियाले संसदीय मर्यादाभन्दा बाहिरका चर्का अभिव्यक्तिलाई बढी प्राथमिकता दिने प्रवृत्तिले संसद्प्रति असन्तुष्टि बढेको भन्दै पत्रकारहरूलाई तथ्यगत र मर्यादित बहसको समाचार सामग्रीमा जोड दिन सुझाव दिइन् । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार