काठमाडौँ ।
भारतको पावर ग्रिड कर्पोरेशनअफ इन्डिया (पीजीसीआईएल)ले एक नेपाली कम्पनीलाई सीमापार विद्युत् परियोजनाका लागि स्वीकृति दिएको छ । भारतले नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेडले स्वीकृति पाएको हो।
दुवै पक्षबीच उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो । जसले देशको अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्छ । यस स्वीकृतिसँगै लिट्मस् इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एकमात्र नेपाली उत्पादक बनेको छ ।
सम्झौताअनुसार लिट्मस् इन्डस्ट्रिजले ४०० केभीएसीएसआर मूस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । यी कन्डक्टरहरू नेपालको डिडिङ्ग–ढल्केबर र भारतको बथनाहा सीमापार विद्युत् प्रसारण लाइन परियोजनामा प्रयोग गरिनेछ । उक्त प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ ।
नेपालमै पहिलो पटक ४०० केभीएसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो । यसले देशको प्रविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धि हासिल गर्दछ । परियोजना स्वीकृत गर्नूअघि पावर ग्रिड कर्पोरेशनअफ इन्डियाले लिट्मस् इन्डस्ट्रिजको कारखानाको गहन मूल्यांकन गरेको थियो ।
यस क्रममा उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणाली, साथै समग्र कारखाना पूर्वाधारको समीक्षा गरिएको थियो। यस गहन मूल्यांकनपछि लिट्मस् इन्डस्ट्रिजलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एकमात्र नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो ।
ढल्केबर–बथनाहा प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित मुख्य सीमापार संयोजन हो । ९०० मेगावाट क्षमताको यो आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्