
डोल्पा ।
हिमाली जिल्ला डोल्पामा सुत्केरी र नवजात शिशुको आपत्कालीन उद्धार गरिएको छ । जिल्लाको ठुली भेरी नगरपालिका–८ की १८ वर्षीया करुणा डाँगीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । जिल्लास्थित जुफाल स्वास्थ्य चौकीमा सुत्केरी भएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि जिल्ला अस्पताल डोल्पा ल्याइएको थियो ।
जिल्ला अस्पतालमा उपचारका क्रममा नवजात शिशुलाई सास फेर्न गाह्रो हुँदा एनआइसियू सेवा आवश्यक पर्ने देखिएपछि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको हो । जिल्ला अस्पताल डोल्पाका अनुसार अस्पतालमा उक्त सेवा उपलब्ध नभएकाले थप उपचारका लागि रिफर गरिएको हो ।
सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिला र नवजात शिशुको सदरमुकाम दुनैबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले जानकारी दिए । उनका अनुसार दुर्गम भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट समयमै उपचार सम्भव नभएकाले हवाई उद्धार गर्नुपरेको हो ।
डोल्पाजस्तो हिमाली जिल्लामा विशेषज्ञ चिकित्सक, उपकरण र नवजात सघन उपचार कक्ष अभाव छ । जसले गर्दा जटिल प्रकृतिका सुत्केरी तथा नवजात शिशुलाई प्रदेश तथा संघीय अस्पतालमा रिफर गर्नुपर्ने अवस्था बारम्बार आउने गरेको छ । मौसम प्रतिकूल हुँदा हवाई उद्धारसमेत प्रभावित हुने भएकाले समयमै उपचार नपाउँदा जोखिम बढ्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका जोखिमयुक्त गर्भवती, सुत्केरी तथा नवजात शिशुको निःशुल्क हवाई उद्धार व्यवस्था गरिएपछि धेरैको ज्यान जोगिएको छ । यस कार्यक्रमले कर्णालीका हिमाली जिल्लामा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्