जंगली बँदेलको आक्रमणले स्थानीयवासी त्रसित



दैलेख ।

जिल्लाका विभिन्न गाउँबस्तीमा पछिल्लो समय जंगली बँदेलको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । रातिको समयमा बस्तीनजिकै प्रवेश गर्ने बँदेलले मानवीय सुरक्षासँगै किसानको बालीनालीमा क्षति पु¥याउन थालेपछि सर्वसाधारण चिन्तित भएका हुन् ।
स्थानीयका अनुसार केही दिनयता विशेषगरी ग्रामीण भेगका मकै, आलु र तरकारीबालीमा बँदेलले ठूलो क्षति पु¥याएको छ ।

खेतबारी उजाड बनाउने र घरआँगनसम्म आइपुग्ने क्रम बढेपछि रातिको समयमा बालबालिका र ज्येष्ठ नागरिक बाहिर निस्कनसमेत डराउन थालेका छन् । राति बँदेलको आएर लगाएको सबै बाली सखाप पारिदिने गरेको स्थानीयको भनाइ छ । बँदेलको आक्रमणका कारण केही स्थानमा मानिस घाइतेसमेत भएका छन् ।

डिभिजन वन कार्यालय दैलेखले बस्ती आसपास वन्यजन्तुको गतिविधि बढेको स्वीकार गर्दै सावधानी अपनाउन आग्रह गरेको छ । भैरवी गाउँपालिकाले प्रभावित किसानको क्षति विवरण संकलन गर्ने र आवश्यक सहयोगका लागि पहल गर्ने जनाएका छन् । बँदेलको बढ्दो आतंकका कारण दैलेखका ग्रामीण बस्तीमा त्रासको वातावरण सिर्जना भएको छ । स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

यसैबीच बँदेलको आक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा भैरवी गाउँपालिका–५ बैटाकुराका ५० वर्षीय पदमबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । ‎‎उनका अनुसार जंगलको छेउमा रहेको आफ्नै बारीमा काम गरिरहेका विष्टलाई बँदेलले एक्कासि आक्रमण गरेको थियो । ‎विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

‎‎यस्तै माघ १२ गते सोही गाउँपालिकाको वडा नम्बर–६ कुर्माकोटमा पनि बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु र अन्य दुईजना घाइते भएका थिए । ‎जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको जंगलमा बाख्रा चराउन गएका ७७ वर्षीय प्रदीप सिंहलाई सुरुमा बँदेलले आक्रमण गरेको थियो । उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा घरमै मृत्यु भएको हो ।

सोही बँदेलको आक्रमणबाट स्थानीय ४० वर्षीय दीपक सिजाली र १८ वर्षीय मिकेश सिजालीसमेत घाइते भएका थिए । ‎‎घाइतेमध्ये दीपकलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लिएर उपचार गरियो भने मिकेशको जिल्ला अस्पतालमै उपचार भयो ।

यस्तै माघ २० गते दैलेखकै आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा ३० वर्षीय दीपेन्द्र बडुवाल पनि बँदेलकै आक्रमणबाट घाइते भएका थिए । ‎‎दीपेन्द्र घरबाट तिलेपाटा जाने क्रममा बाटोमा एक्कासि बँदेलले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते भएका उनको हात, खुट्टा र छातीमा चोट लागेको थियो । उनलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लिएर उपचार गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार