हुम्ला ।
जिल्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी बाहिर रहेका मतदाताले आगामी निर्वाचनमा लिमी पुग्ने वातावरण बनाउन माग गरेका छन् । लिमी जाने दुईवटै नाकाहरूका सडकमा बाक्लो हिउँ जमेको कारण यातायात सेवा अवरुद्ध भएको छ । जसले गर्दा लिमीका स्थानीय मतदान कार्यमा सहभागी हुने वातावरण बनाउन सकस छ ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमी जाने नाम्खा गाउँँपालिका–५ को चार हजार ६७० मिटर उचाइको नारा लेक र पाँच हजार मिटर उचाइको न्यालु नाकाको सडकमा बाक्लो हिमपात जमेको कारण हाल आउजाउ नै बन्द भएको बताए । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि लिमी जान सक्ने नदेखिएको कारण लिमी पुग्ने वातावरण बनाउन सरकारसँग मतदाताले आग्रह गरेको उनी बताउँछन् ।
‘हिमपात नभएपछि २१ गते तोकिएकै मितिमा देशभर निर्वाचन हुने कुरा सरकारका जिम्मेवार व्यक्तिबाट आएपछि लिमीवासी आत्तिएका छन्,’ उनले भने, ‘हिउँ पर्ने समय अझै बाँकी छ । फागुन २१ गते अगाडी हाल जमेकै हिउँले पनि लिमी जान नसकिने अवस्था छ ।’ केही दिनअघि लिमीमा स्थानीयहरूबिच बसेको अनौपाचारिक बैठकबाट निर्वाचन आयोगसमक्ष निर्वाचनको मिति केही दिन पछाडी मतदाता सार्नका लागि माग गर्ने सहमति गरेका थिए ।
लिमीको जाङ गाउँको मतदान केन्द्रमा एउटा पनि मतदाता नभएको र अन्य दुईवटामा पनि थोरै मतदाता रहेका छन् । ‘फागुन २१ गते अगाडी लिमी पुग्न मतदातालाई कठिन छ । त्यसैले लिमीवासीले निर्वाचनको मिती सार्न वा अन्य केही विकल्प दिन साझा माग गरेका छन्,’ उनले थपे, ‘सरकारले विकल्प नगरे बाहिर रहेका मतदाता मतदान केन्द्रमा फागुन २१ गतेको निर्वाचनका लागि पुग्न कठिन छ ।’
उनका अनुसार लिमीको भृकुटी प्रावि मतदान केन्द्र २४७ मतदाता छन् । लिमीकै हिमशिखर प्रावि मतदान केन्द्र तीलमा १३२ जना मतदाता रहेकोमा हाल उक्त गाउँमा ४० जना मतदाता मात्र रहेका । त्यसैगरी सबैभन्दा बढी मतदाता रहेको लिमीकै हल्जी गाउँमा पनि हाल एक सयजना मात्र मतदाता गाउँमा बस्दै आएका छन् । लिमीको सुनखनी प्रावि हल्जी मतदाकेन्द्रमा २९३ मतदाता छन् ।
लिमीका तीनै मतदान केन्द्र गरि ६७२ मतदाता छन् । त्यसमा हालसम्मको अवस्था हेर्दा २० दशमलव ८८ प्रतिशत मतदाताको मात्र निर्वाचनमा सहभागिता हुने देखिन्छ । हिमपातले अहिलेसम्म लिमी झनै प्रभावित भएको मुख्यनिर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । यो समस्याबारे निर्वाचन आयोगलाई जानकारी गराउने कार्य भइसकेको उनको भनाइ छ । आयोगबाट आउने निर्णयलाई कार्यान्वयन गर्न कार्यालय तयार रहेको छ ।
८६६ अस्थायी मतदाता
आगामी प्रतिनिधिसभा सददस्य निर्वाचनका लागि ८६६ जना अस्थायी मतदाता कायम भएको छ । माघ १४ गतेदेखि बुधबारसम्म संकलन गरिएको अस्थायी मतदाताको सङ्ख्या यति पुगेको हो । एक हप्तायता संकलन गरिएको अस्थायी मतदाता सङ्ख्या ८६६ पुगेको जिल्ला निर्वाचन कार्यालय कम्प्युटर अप्रेटर जगदीश शाहीले बताए ।
यसमा कार्यालयले अस्थायी मतदाताका रूपमा नाम संकलन गरिएकाहरूमा निजमती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र कैदी बन्दी रहेका छन् । माघ २४ गतेसम्म अस्थायी मतदाता नामावली संकलन गर्ने मिति भएको कारण थप छिटफुटलाई पनि आफ्नो नाम दर्ता गराउन कार्यालयले आग्रह गरेको छ । त्यसैगरि निर्वाचनमा खटिएका निर्वाचन प्रहरीको सन्दर्भमा पनि यकिन नभई सकेकोले अस्थायी मतदाता सङ्ख्या वृद्धि हुने देखिएको छ । अस्थायी मतदाता प्रहरी ५९५ जना रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्