नेपालगन्ज ।
अनलाइनमार्फत ट्याक्सी तथा बाइक बुक गर्न मिल्ने सुविधासहित यातायात सेवा दिँदै आएको इड्राइभ नेपालले नेपालगन्जमा पनि सेवा विस्तार गरेको छ । लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा इड्राइभले शनिाबार नेपालगन्जमा पनि सेवाको शुभारम्भ गरेको हो ।
सेवाको सुरुवात भएको घोषणा गर्न आयोजित औपचारिक समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले रिबन काटेर सेवाको उद्घाटन गरेका थिए । १८ महिनाअघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको इड्राइभको सेवा अब बाँके जिल्लाको प्रमुख सहर नेपालगन्जमा विस्तार गरिएको कार्यत्रममा जानकारी दिइयो ।
हाल रुपन्देहीमा एक सय १० वटा ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको इड्राइभले नेपालगन्जमा प्रारम्भिक चरणमा १५ वटा ईभी (विद्युतीय) ट्याक्सीमार्फत सेवा सुरु गरेको जानकारी दिएको छ । सेवा शुभारम्भ कार्यक्रममा बोल्दै इड्राइभ नेपालका निर्देशक विजय भण्डारी (बासु)ले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्य राखिएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष राजकुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ १८ महिनाअघि रुपन्देहीबाट सेवा सुरु गरिएकोमा अहिले मुख्य सहरहरुमा विस्तारको क्रममा रहेको बताए ।
उनले छोटो समयमै सेवाग्राहीको मागले सेवा विस्तारका लागि आधार तयार गरेको पनि बताए । उनले आगामी दिनमा देशभर सेवा विस्तार गर्ने योजना रहेको बताएका छन् । कम्पनीमा अहिलेसम्म ७ करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको गुप्ताको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्