चञ्चलता नै आजको प्रगतिको बाधक !



विष्णु पादुका

(अधैर्यताको संगठन बलियो हुनुको परिणामस्वरूप हामीलाई छिटै विकसित हुनु प¥यो । आफ्नो आर्थिक र बौद्दिक बलले होइन कि परदेशीको नक्कल गर्दै । लोकतान्त्रिक गणतन्त्र आर्थिक स्थिती सुदृढ भएका मुलुकको लागि उत्तम व्यवस्था थियो । तर नेपालका लागि दुर्दशा सावित भैसकेको छ । कसैले लोकतान्त्रिक व्यवस्थाको बिरोधी ठान्ला तर जग बिनाको छत कति दिन अडिएला ? यत्ती जवाफ खोज्न पनि अलिकति धैर्यता त चाहिन्छ नै ।)? पुल कोट अस्थिरता र स्थायित्व बिपरित कुरा हुन् । हरेक सिक्काका दुई पाटा भएजस्तै जीवनको चालका पनि दुइटा पाटा छन् । स्थिर र अस्थिर । समाज होस् या ब्यक्ती देश होस् या समुदाय सबैको नियती उस्तै हुन्छ । अस्थिरता पनि एउटा चाल हो उसो त । कहिलेकाही चालले जो कोहिलाई सहि गन्तव्यमा लैजान सक्छ । तर त्यस्ता अपबाद निकै कम देख्न पाइन्छ । अस्थिरताको खास निश्चित गन्तव्य नै हुँदैन । अस्थिर चालको गन्तव्य पनि अस्थिर हुन्छ । म राजनीतिक प्राणी होइन । म राजनीति शास्त्रको विद्यार्थी समेत होइन । तर आज जो कोहि राजनीतिको खेलाडी जस्तो भएको छ । छलफल र चर्चा सबैभन्दा बढी राजनीतिकै हुन्छ । जहाँ तहिँ राजनीति बाहेक केही देख्न सुन्न पाइन्न। मानौ यो बहस र चर्चा बाहेक अन्य विषय नै छैन झैँ लाग्दैछ ।

कखरा चिन्न सिकाउने धरापमय जीवनवृत्तिमै गुज्रिएको छ मेरो जीवन । वरिपरिका झिनामसिना कुरासँग जेलिनु पर्दा बेलाबेला तिनैकुरालाई लिपिवद्द गर्छु । धैर्यताको आधार भनेको पनि जमिन नै हो सबैको आधार भए जस्तो । जमिनको क्षणिक चञ्चलले , डगमगले प्रकृतिमा उथलपुथल हुन्छ । ब्यक्ति र समाजको चञ्चलताले कम ब्यक्तिगत र सामाजिक जीवनमा उथलपुथल नहुने कुरै भएन । नेपालको राजनीतिलाई तल्लो तहसम्म ल्याउनमा प्रविधिले ठूलो भूमिका खेल्यो । प्रविधि भित्र्याउनमा प्रजातन्त्रले । आज घर घरमा नेता पाइन्छ । टोलटोलमा जानकार भेटिन्छ । संसार हातमा छ भनेर जो कोहि कोहि भन्दा सानो हुन सक्दैन । यो राम्रै कुरा हो । कोइ किसि से कम नहि – सिनेमा पो याद आयो । कहानीमा दम थियो । तर आजका कमजोर छैनौं भन्नेका कथा खोतल्दा न बोक्रो भेट्छु न गुदि । कि म आफै पो कमजोर त छैन । खोज्नै नजान्ने पो भएँ कि ! धैर्यताको कुरा जोड्दा अधैर्यले निम्त्याउने बितण्डा पढ्नेका लागि सजिलोसँग बुझिन्छ नै । सकारात्मक कुरासँग नै जोड्नु उपयुक्त होला भन्ठान्छु म । यत्ती आलेख पढ्न पनि धैर्य नहुनसक्छ तपाईंसँग ।

सबैबाट धैर्यको अपेक्षा हुदैन तर धैर्य बाट सबै कुराको अपेक्षा राख्न सकिन्छ । धैर्यं सर्वत्र साधनम् – सुभाषित संग्रहमा उल्लेख्य यो वचनले धैर्यताको ब्यापकता बोक्छ । धैर्य सबै ठाउँमा सफलता प्राप्त गर्ने प्रमुख साधन हो । बिना धैर्य कुनै पनि योजना, संघर्ष वा परिवर्तन टिक्दैन । श्लोक छोटो भए पनि नीतिशास्त्रले समाजलाई बाटो देखाउने भार बोकेको छ । मानवको कठिन घडीमा धैर्य नै विवेकलाई जोगाउने ढाल हो ।

उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः।।

पञ्चतन्त्रबाट साभार यो श्लोकले – काम कल्पनाले होइन, निरन्तर प्रयास र धैर्यले सफल हुन्छ भन्छ ।उसो त सुतिरहेको सिंहको मुखमा आफैँ आएर हरिण पर्दैन । यसको आसय धैर्यता भनेको निष्कर्म प्रतीक्षा हुँदै होइन । धैर्य यहाँ निष्क्रिय प्रतीक्षा होइन । निरन्तर कर्ममा टिकिरहने मानसिक बल चाहिँ पक्का हो । आजको पुस्तामा ब्याप्त यहि कमजोरीका कारण असफलताले दिक्दारी दिएको छ । धैर्येण सर्वं साध्यते – धैर्यका माध्यमबाट सबै कुरा सम्भव हुन्छ भन्छ नीतिशुत्रको यो छोटो तर गंभिर वाक्यले । यो नीतिवाक्यले समय, पीडा र असफलताबीच पनि मानव चेतनाको स्थिरतालाई सर्वोच्च गुण मानेको छ ।

अधैर्यं परमानर्थं धैर्यं सर्वत्र साधनम् ।
अधैर्येण हि नश्यन्ति कार्याण्यल्पेन हेतुना ।।

अर्थात –अधैर्य सबैभन्दा ठूलो हानि हो । धैर्य सबै सफलताको साधन हो । सानो कारणले पनि अधैर्यले ठूलो काम बिगार्छ । चाणक्य नीतिको यो श्लोक आजको हतारिएको सभ्यतामा अझ सान्दर्भिकता थपेजस्तो लाग्छ । जहाँ अधैर्यले सम्बन्ध, विचार र समाज तोडिदै गएको छ । जुनसुकै क्षेत्रमा अधैर्ताको सिमा मिचिएको छ । कक्षामा एक मिनेट शान्त हुन सक्दैन बिद्यार्थि समूह । मनोरञ्जनको प्लेट फर्म टिकटकमा पन्ध्र सेकेन्ड रोकिदैन आजको मान्छे । स्क्रोल गर्न हतारमा हुन्छ । यो हतारो र स्क्रोलको यात्रा स्कृन र औंलामा मात्र हेरिनु मुर्खता हो । त्यो त मान्छेको मष्तिस्कमै स्थापित भएको छ । अस्थिरताको यो दौडको कतै गन्तव्य छैन । मानिसका आन्तरिक शक्तिका श्रोतको दैनन्दिन क्षयीकरण हुँदै गएको छ । शान्ति, क्षमा, धैर्य, दक्षता, कर्म , विवेक यिनै मानिसका वास्तविक बल हुन् । धैर्य यहाँ एक्लो गुण मात्र नभएर मानवीय सभ्यताको नैतिक मेरुदण्ड हो । तर आज मेरुदण्ड नराम्रो सँग टुटेको छ । रिलिफ स्प्रे सम्म गर्न कोहि चाहनेवाला छैन । यहाँ फोस्रो बौद्धिकता पस्किन किमार्थ खोजिएको होइन । तर जीवनका भोगाइ र अनुभूती सदैव जोडिएका कुरा नै मेरा गन्थन मन्थन हुन् । संस्कृत नीतिशास्त्रहरूले धैर्यलाई मानव सभ्यताको मेरुदण्ड मानेका छन् । नेपाली समाज कसैले माने पनि नमाने पनि संस्कृत भाषा साहित्य र संस्कृतिबाट बाहिर रहन सक्दैन । जानेर नजानेर त्यसलाई पछ्याइरहेछ ।

समकालीन नेपाली समाज हेर्दा हामी अधैर्यको युगमा प्रवेश गरिसकेका देखिन्छौँ । तुरुन्त परिणाम चाहने मनोवृत्ति, सहनशीलताको क्षय, र दीर्घकालीन सोचको अभावले समाजका हाम्रा आधारभूत क्षेत्रहरू शिक्षा, स्वास्थ्य, राजनीति र आर्थिक गतिविधि खस्किदै गएको प्रस्ट देख्न सकिन्छ । गहिरो संकटतर्फ धकेलिएका छन् सबै क्षेत्र । नेपाली समाजमा अधैर्यताले निम्त्याएका संरचनात्मक र नैतिक समस्याको विश्लेषण गर्ने प्रयास मात्र हो यो । नेपाली शिक्षा प्रणालीमा अधैर्यता सबैभन्दा स्पष्ट रूपमा देखिन्छ । विद्यार्थीहरू सिकाइको प्रक्रिया होइन, केवल नतिजा खोज्छन् । अभिभावकहरू छोराछोरीलाई ज्ञानभन्दा ग्रेडको दौडमा धकेल्छन् । नीति निर्माता तत्काल लोकप्रिय देखिने निर्णयमा रमाउँछन् ।पाठ्यक्रम परिवर्तन, परीक्षा प्रणालीको हतारो, निजीकरणप्रतिको अन्धो आकर्षणले कहिलेसम्म कृतिम न्यानो दिने होला । धैर्य नहुँदा शिक्षा साधना भन्दा पनि उपभोगको वस्तु बन्दो छ । शिक्षकलाई समय, सम्मान र प्रशिक्षण नदिई रिजल्ट मागिन्छ । फलस्वरूप शिक्षाले चेतनाको साटो राम्रो प्रमाणपत्र मात्र दिलाएको छ । यही अधैर्यताले युवामा गहिरो बौद्धिक खालीपन र विदेश पलायनको मानसिकता जन्माएको छ । त्यससँग जोडिएको आर्थिक विभेदको खाडल त यथावत छ नै । स्वास्थ्य क्षेत्रमा अधैर्यता जीवनमरणको प्रश्न बन्ने भै गयो । बिरामी तुरुन्त निको हुने अपेक्षा गर्छन् । चिकित्सकहरूमाथि मानसिक दबाब हुन्छ । राज्य दीर्घकालीन स्वास्थ्य संरचना निर्माणभन्दा तात्कालिक लोकप्रिय कार्यक्रममै सीमित रहन्छ ।

निवारण भन्दा उपचारमा जोड दिनु पनि अधैर्य सोचकै उपज हो । जनस्वास्थ्य, मानसिक स्वास्थ्य, ग्रामीण स्वास्थ्य प्रणालीजस्ता क्षेत्रमा धैर्यपूर्ण लगानी नहुँदा महामारी, कुपोषण र मानसिक रोगहरू उग्र रूपमा फैलिरहेका छन् । यहाँ अधैर्यले नीति बिगार्दैन कि मान्छेको जिन्दगी नै जोखिममा पारेको छ । अझ सबैभन्दा खतरनाक रूपले प्रकट भएको क्षेत्र हो नेपाली राजनीति । जनताले रातारात परिवर्तन खोज्छन् । नेताहरू तत्काल सत्ताको लोभमा नीति र सिद्धान्त त्याग्छन् । आन्दोलन, सरकार परिवर्तन, गठबन्धन र चुनाव समेत सबैमा दीर्घकालीन दृष्टिकोण र लाभहानी को मूल्यांकन बिना नै क्षणिक लाभ हावी भएको देख्न सकिन्छ । धैर्य नहुँदा लोकतन्त्र संवाद गुमाउँदै हल्लाको भीडमा समाहित भैरहेछ । विचार परिपक्व हुन नपाउँदै अस्वीकार गरिन्छ । संस्थागत सुधारभन्दा व्यक्तिकेन्द्रित राजनीति फस्टाएको देखिब्छ । परिणामतः राज्यप्रणाली अस्थिर हुने र नागरिकमा निराशा गहिरिँदै जाने विषम परिस्थिति बढ्दो छ । छिटो नाफा खोज्ने प्रवृत्तिले उत्पादनभन्दा दलाली, उद्यमभन्दा वैदेशिक रोजगारी, र दीर्घकालीन लगानीभन्दा छोटो व्यापार हावी भएको छ । कृषि, उद्योग र नवप्रवर्तनजस्ता क्षेत्रमा धैर्यपूर्वक लगानी नगर्दा आत्मनिर्भरता कमजोर भएको छ ।सहनशील श्रम संस्कृतिको साटो छिटो धनी बन्ने सपना देखिन्छ । यसले आर्थिक असमानता, उपभोक्तावाद र सामाजिक असन्तुलनलाई बढाइ रहेको छ ।

यी यावत र अझ थप आन्तरिक कुरालाई बलियो पार्न धैर्यताको पुनस्र्थापना आवश्यक छ । नेपाली समाजले यदि शिक्षा, स्वास्थ्य, राजनीति र अर्थतन्त्रमा स्थायी सुधार चाहन्छ भने, अधैर्यताको संस्कृतिलाई प्रश्न गर्नैपर्छ । ब्यक्तिगत रूपमा र सामाजिक रूपमा नियंत्रित हुनैपर्छ । तर धैर्यता हराइसकेको छ भनि ठान्नु साँचो होइन । यो अभ्यासबाट पुनः प्राप्त गर्न सकिने मानवीय शक्ति हो । यस आलेखको अन्तिम उद्देश्य आलोचना मात्र होइन, स्थिरता र धैर्यता विकासका सटिक उपायहरू प्रस्तुत गर्नु पनि हो । व्यक्तिगत र सामाजिक दुवै तहमा । समस्याको उठान सँगै त्यसैको समाधान पनि त्यहीँबाट सुरु हुन्छ। व्यक्तिगत रूपमा धैर्य र स्थिरता प्राप्त गर्न समयसँग मित्रता गर्न सिक्नु परेको छ । धैर्यता भनेको समयलाई जित्नु नभएत समयसँग सहकार्य गर्नु हो । समय सापेक्ष हुनु हो ।हरेक निर्णयमा अहिले भएन भने के बिग्रन्छ ?भनेर आत्मप्रश्न गर्न सिकाउन जरुरी भएको छ । अरुलाई मात्र पनि होइन आफुलाई पनि । ढिलो फल दिने कामलाई प्राथमिकता दिन त्यसैको अभ्यासमा ढाल्नु पर्छ पढाइ, स्वास्थ्य, र अन्य क्षेत्रको सम्बन्ध पनि । प्रतिक्रिया मात्र नदिएर चित्तबुझ्दो प्रत्युत्तर दिने अभ्यासमा अभ्यस्त हुनु छ ।अधैर्यता तुरुन्त आउने प्रतिक्रिया हो भने धैर्यता सचेत र गंभिर प्रत्युत्तर । रिस, डर वा निराशामा निर्णय नगर्ने अभ्यास र बोल्नुअघि केही क्षण मौन बस्ने बानी विकास गर्नु पनि आजको आवश्यकता हो ।

नियमित प्रक्रियामा भरोसा राख्दै नतिजा भन्दा दैनिक अभ्यासलाई सफलता मान्ने सोचको विकास गर्नैपर्छ । असफलतालाई अन्त्य नठानेर प्रशिक्षण ठान्ने दृष्टिकोण स्थापित हुनुपर्छ । निद्रा, आहार, शारीरिक श्रम र मानसिक विश्रामलाई अनुशासनमा राख्नु जरुरी छ ।ध्यान, लेखन, मौनता वा प्रार्थनाजस्ता अभ्यास अपनाउँदै तुलना घटाउने, आत्मसंवाद बढाउने अरूको गति होइन कि आफ्नै दिशा महत्त्वपूर्ण ठान्ने निर्देशन समेत आवश्यक छ । सामाजिक सञ्जालले सिर्जना गर्ने हतारबाट सचेत दूरीको अवधारणा बिस्तार गर्न जानिएन भने तपाईं हामी जो कोहिको जीवन यात्रा उपादेयता हिन हुनेछ । यसैगरी सामाजिक रूपमा धैर्य र स्थिरता विकास गर्न शिक्षा, स्वास्थ्य, रोजगारी र अर्थतन्त्रमा कम्तीमा दशवर्षे दृष्टिकोण योजना ल्याइनु पर्छ । सरकार परिवर्तन भए पनि राष्ट्रिय नीति निरन्तर रहने संस्कार आजको आवश्यकता हो ।असहमतिको अर्थ शत्रुता मात्र हो र ? आन्दोलन र विरोधसँगै धैर्यपूर्ण वार्ताको संस्कृति किन कसरी टुट्यो ? संस्थालाई व्यक्ति भन्दा माथि राख्ने अभ्यास होस् ।नेता होइन, प्रणाली बलियो बनाउने प्रक्रिया प्राथमिकता परोस् । कमजोर तर भावनात्मक लोकप्रियता भन्दा संस्थागत सुधारमा ध्यान जाओस् । परीक्षा र प्रमाणपत्र मात्र नभई सोच्ने क्षमता मापन गर्ने प्रणाली स्थापित होस् । शिक्षक र विद्यार्थी दुवैलाई प्रयोग, गल्ती र पुनः प्रयासको समय जस्ता कुरामा बेलैमा ध्यानाकर्षण हुनु होओस् । देश एउटा विद्यालय जस्तो हो , म जस्ता कखरा सिकाउनेको सानो नजरमा ।

(अधैर्यताको संगठन बलियो हुनुको परिणामस्वरूप हामीलाई छिटै विकसित हुनु प¥यो । आफ्नो आर्थिक र बौद्दिक बलले होइन कि परदेशीको नक्कल गर्दै । लोकतान्त्रिक गणतन्त्र आर्थिक स्थिती सुदृढ भएका मुलुकको लागि उत्तम व्यवस्था थियो । तर नेपालका लागि दुर्दशा सावित भैसकेको छ । कसैले लोकतान्त्रिक व्यवस्थाको बिरोधी ठान्ला तर जग बिनाको छत कति दिन अडिएला ? यत्ती जवाफ खोज्न पनि अलिकति धैर्यता त चाहिन्छ नै ।) धैर्य भनेको निष्क्रिय भइ सहनु त होइन । यो दुर दृष्टि, निरन्तर प्रयास र नैतिक दृढताको अभ्यास हो । शास्त्रले भनेझैँ अधैर्य सबैभन्दा ठूलो हानि हो । नेपाली समाजले अब हतार त्यागेर विवेक रोज्नुपर्छ । यदि हामी धैर्यलाई व्यक्तिगत गुणबाट सामाजिक मूल्यमा रूपान्तरण गर्न सक्यौँ भने मात्र, मानवीय, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माण सम्भव छ । होइन भने यो अधोगती रोकिनेवाला छैन । जाग्न अबेर भैसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार