आयआर्जनका लागि पञ्चेबाजा सहयोग



जाजरकोट ।

भेरी नगरपालिकाले स्थानीय मौलिक संस्कृति संरक्षण गर्नका लागि पञ्चेबाजा सहयोग गरेको छ । महिलाको सीप प्रवर्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पञ्चेबाजा वितरण गरिएको नगरपालिकाले जनाएको छ । भेरी नगरपालिका–४ मा रहेको मौलिक महिला पञ्चेबाजा संरक्षण समूहलाई पञ्चेबाजा सेट हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तिले जानकारी दिए ।

उनका अनुसार महिलाहरूमा रहेको मौलिक सीपलाई थप प्रोत्साहन गर्दै त्यसलाई आयआर्जनसँग जोड्ने लक्ष्य छ । नगर उपप्रमुख सीता जैसीले महिलाले सिकेको सीपलाई व्यावसायिक बनाएर आत्मनिर्भरता बढाउन र रोजगारी सिर्जना गर्नका लागि सामान सहयोग गरिएको बताइन् । आफुहरूका लागि पञ्चेबाजा उपलब्ध गराएर पालिकाले ठुलो राहत गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनीहरूले सामान उपलब्ध गराएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्दै अब आफ्ना सीपलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय तारा विकले आफूहरूले सिकेको पञ्चेबाजा बजाउने सीपलाई अब पेसागत रूपमा प्रयोग गर्न बाजाले ठुलो टेवा दिने विश्वास व्यक्त गरिन् । भेरी नगरपालिकाको यस पहलले महिलाको आर्थिक सशक्तीकरणसँगै स्थानीय मौलिक संस्कृति संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार