सुदूरपश्चिम : सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२÷८३ को हालसम्म पाँच सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएका छन् । तीमध्ये १७ जनालाई विषालु र पाँच सय ७० जनालाई विषरहित सर्पले टोकेको छ ।

यस्तै, आर्थिक वर्ष २०८१-८२ मा आठ सय २७ जनालाई सर्पदंश लागेको थियो । यसमध्ये ४६ जनालाई विषालु र सात सय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा भने पाँच सय १२ जना सर्पदंशबाट प्रभावित भएका थिए । तीमध्ये ९१ जनालाई विषालु र चार सय ४१ जनालाई विषरहित सर्पले टोकेको थियो ।

प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला सर्पदंशको उच्च जोखिममा रहेका छन् । तराई क्षेत्र, घना बस्ती, खेतबारी, खोलानाला तथा झाडी धेरै भएका कारण यी जिल्लामा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताए । उनका अनुसार सुदूरपश्चिममा सर्पदंशका घटनामा गोमन०, करैत लगायतका विषालु सर्पको टोकाइ बढी देखिने गरेको छ ।

विशेषगरी रातिको समयमा करैत सर्पले सुतिरहेको अवस्थामा टोक्ने घटना बढी हुने गरेको उनको भनाइ रहेको छ ।विशेषगरी वर्षायाम तथा खेतीपातीको समयमा सर्पदंशका घटना बढ्ने गरेका छन् । जेठदेखि असोज महिनासम्म खेतमा काम गर्ने, राति घर वरपर सर्प पस्ने तथा बाढी–डुबानका कारण सर्प बस्तीमा पस्ने समस्या बढ्ने हुँदा सो अवधिमा अस्पतालमा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ ।स्वास्थ्यकर्मीहरूका अनुसार सर्पले टोकेपछि पनि धेरैजसो बिरामी अस्पताल जानुको सट्टा झारफुक, धामी–झाँक्री र घरेलु उपचारमा निर्भर हुने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार