डोल्पा ।
जिल्लाका अधिकांश स्थानमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकटताका कारण अधिकांश मतदान केन्द्रका लागि हेलिकप्टरकै सहायता लिनुपर्ने बाध्यता रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ओसारपोसार गर्न हेलिकप्टरकै भर पर्नु परेको हो ।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नैपर्ने बाध्यता छ । जिल्लाका उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । पैदल हिँड्दा धेरै दिन लाग्ने भएकाले हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्थता आएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताए ।
उनका अनुसार माथिल्लो डोल्पाका गाउँबस्तीहरू भौगोलिक रूपमा निकै विकट छन् । त्यहाँ सडक सञ्जालको पहुँच छैन । त्यसैमा पटकपटकको हिमपातले बाटोहरू बन्द छन् । भने निकै चिसो बढेकाले पैदल आउजाउ गर्न समेत सम्भव छैन । ‘मतदान सामग्री समयमै सुरक्षित रूपमा मतदान केन्द्रमा पु¥याउन र कर्मचारीको आवतजावत सहज बनाउन हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘केहि दिन लगाएर मान्छे विस्तारै पैदल आउजाउ गरे पनि मतपेटिका ओसारपोसार गर्न हेलिकप्टर प्रयोग गर्नैपर्छ ।’
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कूल २४ हजार ११५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १८७ र पुरुष मतदाता ११ हजार ९२८ जना छन् । कूल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ भने २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा चुनौतीका हिसाबले र तीनवटा मतदान केन्द्र राजनीतिक हिसाबले अतिसंवेदनशीलको सूचीमा राखिएको हो । भौगोलिक हिसाबले अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रहरू अधिकांश माथिल्लो डोल्पाका रहेका छन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा कूल ३५५ जना नेपाल प्रहरी र ५७९ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै तीन÷तीन सयकै हाराहारीमा नेपाली सेना र सशस्त्र प्रहरी बल समेत परिचालन गरिने छ । जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । तीमध्ये एउटा कारागारभित्र रहेका कैदीबन्दीका लागि व्यवस्था गरिएको हो भने अर्को जिल्लाभित्र कार्यरत कर्मचारीहरूका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमा मतदानको व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, एमाले, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मितेरी नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट र एकजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार दर्ता गराएका नौ जनामध्ये मितेरी नेपाल र उज्यालो नेपालका उम्मेदवार काँग्रेस प्रवेश गरिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्