देश निर्वाचनको मुखमा छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले अधिकांश कार्यक्रमहरू सम्पन्न गरिसकेको छ भने बाँकी कामहरू पनि द्रुत गतिमा गरिरहेको छ । अधिकांश राजनैतिक दलहरूले यो निर्वाचनमा सहभागिता जनाउनका लागि दल दर्तादेखि लिएर उम्मेदवार सिफारिस गर्दै उम्मेदवारको नामावली समेत टुङ्ग्याएर निर्वाचन आयोगमा बुझाइसकेका छन् भने निर्वाचन आयोगले पनि उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशित गरेर निर्वाचन चिन्ह समेत प्रदान गरिसकेको अवस्थाले अब यो निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ भन्ने विश्वास जगाएको छ । निर्वाचन आयोगले निर्वाचनका कार्यक्रमहरू सार्वजनिक गर्दै निर्वाचन आचारसंहिता समेत लागू गरिसकेको अवस्था छ । तर पनि कयौँ राजनीतिक दल र तिनका उम्मेदवारहरूले निर्वाचन आचारसंहितालाई कार्यान्वयन गरेको पाइँदैन् । निर्वाचन आचारसंहितालाई उल्लंघन गर्दै राजनैतिक भेला, सम्मेलन, छलफल तथा घरदैलो कार्यक्रम लगायतका विभिन्न राजनीतिक क्रियाकलापहरू गरिरहेको देखिन्छ । यसलाई नियन्त्रण गर्नका लागि निर्वाचन आयोग कठोर बन्नुपर्ने देखिन्छ । निर्वाचन आयोगले तोकेको मिति र समयमा मात्रै निर्वाचनजन्य गतिविधि गर्ने र अन्य समयमा गर्न नदिनका लागि निर्वाचन आयोगले कडा रूपमा अनुगमन गर्न आवश्यक छ । निर्वाचन आयोगले मतदान हुने दिनभन्दा १७ दिनअघि अर्थात् फागुन ४ गतेदेखि मात्रै चुनावी कार्यक्रमहरू निर्वाचन प्रचारप्रसार गर्न पाइने र उक्त कार्यक्रम फागुन १८ गतेसम्म मात्रै गर्न पाइने भनेर आचारसंहिता बनाएको छ ।
तर फिल्डमा भने त्यो लागू भएको देखिँदैन् । फागुन ४ गते आउनका लागि अझै पनि केही दिन बाँकी छ, तर राजनैतिक दल र उम्मेदवारहरू भने व्यापक रूपमा चुनावी प्रचारप्रसारका कार्यक्रमहरू गरिरहेका छन् । यसरी सोझै निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा निर्वाचन आयोगका नीति नियम र विधिहरूलाई मानेको देखिँदैन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि उम्मेदवार, राजनीतिक दल, दलका भातृ संगठनहरू, नागरिक समाज, पत्रकार, आम सर्वसाधारण नागरिक तथा सार्वजनिक पदमा रहेका हरेक व्यक्तिको कर्तव्य र दायित्व हो । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई कार्यान्वयन गर्न र गराउनका लागि सबै सरोकारवाला पक्ष गम्भीर हुनु जरुरी छ । निर्वाचन आचारसंहितामा जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने र कार्यक्रमको मिति, समय, मार्ग र स्थानका बारेमा स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा २४ घण्टाअगावै जानकारी गराउनुपर्ने, एकभन्दा बढी दल वा उम्मेदवारले एकै समयमा, एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक, वा भेला गर्न नहुने र उक्त अवस्थामा स्थानीय प्रशासनले स्थल वा मार्ग परिवर्तनका लागि दिइएको निर्देशन पालना गर्नुपर्ने भनेको छ ।
तर राजनीतिक दल र उम्मेदवारहरूले यो आचारसंहितालाई कार्यान्वयन गरेको पाइँदैन् । त्यसैगरी जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने र यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ । तर राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना कार्यक्रमहरूमा बालबालिकाको प्रयोग गर्ने तथा तोकिएको समयभन्दा पनि अन्य समयमा प्रचारप्रसारका कार्यहरू गर्दै आएका छन् । प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नमिल्ने साथै यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नपाइने आचारसंहितामा उल्लेख छ । तर यसको विपरीत कार्यहरू भइरहेको देखिन्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै सरोकारवाला पक्षको उत्तिकै जिम्मेवारी र दायित्व रहन्छ । राजनैतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहितालाई पूर्णरूपमा पालना गरि कार्यान्वयन गर्न र निर्वाचन आयोगले पनि आचारसंहिता कार्यान्वयन भएनभएको बारेमा अनुगमन तथा कारबाही गर्न समेत आवश्यक देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्