कञ्चनपुर ।
मानिसमा नसर्ने रोग पत्ता लगाउनका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले स्क्यानिङ कार्यक्रम गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य कार्यालयले कञ्चनपुरमा स्क्यानिङ कार्यक्रम गरेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका नसर्ने रोगसम्बन्धीका स्रोत व्यक्ति सिद्धराज भट्टले विभिन्न स्थानमा क्याम्प चलाएर रोग पहिचान गर्न लागेको बताए ।
उनले उच्च रक्तचाप, मधुमेह, मृगौलाजस्ता रोगको पहिचानका लागि स्वास्थ्य परीक्षण गर्न लागेको बताए । किट प्रयोग गरेर रगतका माध्यमबाट मधुमेह, रक्तचापसहितका बिरामीको पहिचान गरिन लागेको बताए । सामान्य प्रकृतिका स्वास्थ्य समस्या देखिएका मानिसलाई परामर्श र मध्यम, जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि सुझाव, सल्लाह दिइने उनको भनाइ छ ।
जिल्लाभरी एकमहिने अभियान सञ्चालन गरेर रोग पहिचान र सोहीअनुरुप कार्यक्रम सञ्चालनका लागि योजना बनाउन सरकारलाई टेवा पुग्ने उनले बताए । एकै दिन महेन्द्रनगरमा आयोजना गरेको एकीकृत निःशुल्क स्वास्थ्य क्याम्पमा ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको बताए । सबैभन्दा बढी उच्च रक्तचाप (ब्लडप्रेसर)का बिरामी फेला परेका छन् ।
मधुमेह, मोटोपना र २५ जनाको प्रेषण पहिचान भएको छ । कूल परीक्षणमा ३० प्रतिशत बिरामी उच्च रक्तचापमा भेटिएका छन् । यसर्थ पछिल्ला दिनहरूमा उच्च रक्तचापका बिरामी समेत बढिरहेको तथ्यले देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्